बद्रीप्रसाद दाहाल ‘भस्मासुर’हजुर्बुवा र बुवा हैन, अब चाहिन्छ युवा !
आपूm साठी नाघे पनि पाठा पाठीमा जिब्रो फड्कार्न मरिहत्ते गर्ने प्रौढ तन्नेरी । प्रेसरले ङ्याके पनि चिनी रोगले झ्याँके पनि प्रेसर कुकरमा सिठ्ठी लगाई गलिताम बनाएर गिजाको भरमा झिजो नमानी चप्ल्याङ चप्ल्याङ गरी मासु हसुर्दै छु । यो बानी देख्दा सानी पनातिनी मरीमरी हाँस्छे । बरु गाँठी गुमाएर लाठी नै खान परोस् यो लोभी बानीले मरे विश्राम लिँदैन बा ! बुबाबाट हजुर्बुवा र हजुर्बुवबाट बूढो हजुर्बुवा बन्दा पनि एक इन्च परिवर्तन नगर्ने यो अल्लारेपन बूढ्याइँमा जाक्किँदा पनि झन् झिल्के भएर नाचेको देख्दा आपूmलाई देखेर आपैm उदेकमा परेको छु । त्यसै भएर ‘तृष्णा नजीर्णाः वयमेव जीर्णाः’ भनेर ऋषिहरूले खिसी गरेका रहेछन् । उमेर खाँदैमा, शरीरहरू थोत्रिदैमा, अनुभवको चुली चुमेको फुली लाउँदैमा मान्छेका तिर्सना बूढो हुन मान्दो रहेनछ । त्यसैले त कतिपय झर्झराउँदा युवा प्रतिभाहरू भन्ने गर्छन्– नेपाललाई विदेशीको प्रयोगभूमि र अनुभवको नाममा हजुर्बा र बा पुस्ताको मोजभूमि बन्न पु¥याउँदा कहिल्यै देश उँभो गएन । एकाध अपवादबाहेक अधिकांश अनुभवी पात्रहरू हृदयमा इमान्दारीपन मरेका, काँधमा कसै गरे पनि जिम्मेवारी बोक्न नसक्ने धराप र मगजमा समझदारीको बिलो पनि ठण्डाराम भएर एकोहोरो ढिपी पछार्ने मितितिथि गुज्रिएका कुपात्रै हुन् भन्दा अति भए खति बेहोर्न तयार छु भनेर एउटा तात्तातो विद्यावारिधिको युवा रन्कियो ।
नेपालको सन्दर्भमा कली कालका खली खाएका अनुभवीसित पहिलाका हलीहरूको जत्ति बुद्धि पनि छैन, शुद्धि त कुन चराको नाम हो थाहै छैन । कपाल फुल्दैमा, दाराहरूले ठाम छोड्दैमा, मान्छेको परिपक्कतामा निखार नआउने रहेछ । आँखा, कान, नाकजस्ता ज्ञानेन्द्रिय र हात गोडाजस्ता कर्मेन्द्रिय कर्मवाद तथा चेतनावादबाट पुल्टुङ्बाजी खाँदा पनि बूढो साँढेले कोरली गाईलाई ओगटेझैं गर्ने अनुभवीको दादावाद एक किसिमको डनवाद नै रहेछ । यही मिचाहा प्रवृत्तिले विकासकै भ्रूणहत्या भयो भनेर धेरै युवा रन्किँदै खाडीलगायतका देशमा थन्किए भनी युवा पुस्ताका हिमायतीहरू यत्रतत्र गुनासो पोखिरहेका छन् । त्यसैले यतिखेर उनीहरूको नारा नै छ ‘हजुर्बुवा र बुवा हैन अब त युवा’ । हो, हामीले बुभ्mन पर्ने के कुरा हो भने युवापन होस कम भएका जोश, आवेग र भावुकतामा छँटाउने आवेगी वय हो । आदर्श फलाकेर, रङ्गीन नाराका तारा देखाएर सबै सर्बहाराका चाहना स्वाहा पार्ने हामीजस्तै सुतुमुर्ग हुन् भनी उनीहरूलाई मूल्याङ्कन गर्नु आग्रही सोच र धमिरा चिन्तन हो । हामी हिमालझैं कपाल बनाएर मुजा परेका अनुहार खुम्च्याउँदै प्रौढ युवाको पारा निकालि हाल्छम् । घुमीफिरी रुम्जाटार भनेर छाती पिट्दै लक्का जवान युवालाई खोट लगाई बाघ बूढो र स्याल तन्नेरीको गर्जनामा देशै सिध्याए हजुर्बा र बा पुस्ताले ।
हो, अनुभवीहरू सेट मिलाउन जान्ने भागबन्डावादका तुच्छ काइते कारिन्दा र आइते कार्यकर्ता हुन् । पटक पटक नागरिकता सँच्याएर उमेर ढँटाउँदै नेताहरूलाई कमिसन चटाएर प्रशासनलाई जीर्णशीर्ण पार्ने एकाथरी रिटायर्ड ब्युरोक््रयाटहरू छन् । जो सातदशक पार गर्दा पनि फेरि कमाउ धन्दामा ‘दल र गुट समाऊ’ भन्ने गुरु मन्त्रले खुरुखुरु शीर्षकहाँँ तीर्थ भनी चाकडीको भजनमा लिप्त हुँदै विभिन्न निकायहरूमा अनुभवी हुम् भनी नियुक्तिको दाउमा आफ्ना भाउ देखाएर सत्ताधारी भाङ्ग्रेका दिमागै भुट्छन् बा ! कमिसन, घुस, नजराना खाँदा खाँदा थकित र गलित यी डेटस्पायरहरू आफ्नो विज्ञताको हाउगुजी पस्किएर शीर्षस्थहरूलाई शीर्षासनमै डल्याउन खोज्छन् । उता वर्षौंदेखिको अक्षम र भ्रष्ट कार्यकर्ता सरकारी योजनामा भागबन्डाको अण्डा पार्दै अनुभववादको आडमा टिकट र राजनीतिक नियुक्तिको गुहार गरी मुहार फेर्न इतिहासको व्याजको पनि स्याज पुनः पुनः गन्ती गरिरहेका हुन्छन् । कतिपय युवा नेतृत्वका पक्षधरहरू भन्ने गर्छन्– ‘मिति गुज्रिएका अनुभवी र आस्था पोली खाएका अनुयायी एकै हुन् । अनुभवी सामन्तका अवशेष र आधुनिकता वरण गर्न नसक्ने नपुंसक पात्र हुन् । इतिहासको आडमा झर्झराउँदो वर्तमानलाई थर्कमान पार्ने द्रव्य–पिचास हुन् ।’ यसरी कडा प्रहार गरेर आफूभन्दा बडामा तीतो आलोचना खडा गर्ने जमात गतिशील भएर बढिरहेको छ यतिखेर । ‘वोल्ड इज गोल्ड’ ‘अनुभूति तु विज्ञता’ भनेर हामीजस्ता प्रौढ युवा सुकेको छाती फुलाउँदै काग कराउँदै छ पिना सुक्दैछ, रन्किन्छन् रन्किन्छन् थाकेपछि थन्किन्छन्, भन्ने उखानका आडमा सिर्जनशील युवाका ढाड सेक्न सक्षम छौं । आर्यघाटको चितामा सुत्दा पनि पदीय विभूषणको सलामी खाइरहन न्वारनदेखिकै बल खर्चिएर लाग्नु हाम्रो लोकतान्त्रिक मूल्य मान्यताको बिप्ल्याँटो आयाम हो ।
रोगै रोगको घर भएर चेतना गुम्दा अनि शरीर जीर्णशीर्ण र विदीर्ण हुँदा पनि भोगवादको नशाले झल्ला बनाउँदो रहेछ पाका एवं उपल्ला भनिन चाहने सत्तासीन जमातलाई । लोकतन्त्रमा त सबैले अवसर पाउने, समानतावादी विचार फुल्नु पर्नेमा एउटै व्यक्तिले पद ओगटेर वाक्कट्यार्र होउन्जेल भोग गरेको ग¥यै गर्नु त मध्ययुगीन बर्बरता हैन र ? सोझोसित भन्नुपर्दा प्रतिगामीहरूकै पदचाप हैन यो ? प्राज्ञ, युवा र विज्ञका दिमाग खियाएर लेखिएका भाषण तथा कार्यपत्र अशुद्ध ढङ्गले पढेर लर्बरिएको स्वरमा कौलास्ने शीर्षस्थ पक्का पुच्छरस्थ हैन भन्या ? गुणस्तरीय पत्रकारले प्रश्न सोधेर ¥याख¥याखती पारेपछि भित्रभित्र क्रुद्ध भएर बाहिर बुद्धको अभिनय गरी जबाफ फर्काउन मुख बन्द गर्ने बुद्धूहरूलाई हुस्सू र पानीमरुवा भन्नु उचित विशेषण हो । दर्शन, सिध्दान्त, विचार, मूल्य मान्यताको जनराजनीति गर्ने हुम् भनी छाती पिट्ने वाक्घरि, स्याल, ब्वाँसा र बाँदरलाई नै स्वस्ती, सलाम तथा क्रान्तिकारी अभिवादनको हात हल्लाएर निउरिमुन्टे न भइरहने प्रणाली अबको एक्काईसौ शताब्दीमा आउटडेटेड भएन ? नव युवा यस्तै यक्ष प्रश्न गर्न कस्सिनु पर्छ मात्र ढुङ्गामूढा बोक्नमात्र हैन । हाम्रा क्रान्तिकारी युगकवि सिद्धिचरणले सगर्व बोले ‘युवक देशका ढाल हुन् ।’ अब के त्यस्तो ढाल तागत वा गहनालाई बेहाल बनाएर नेतृत्वको दायित्वबाट सधैं चिप्ल्याउन पाइन्छ ? बेलायती लेखक बेकनले ‘युवाहरू विचार गर्नमा भन्दा आविष्कार गर्नमा योग्य हुन्छन्, सल्लाहभन्दा काम गर्नमा र परम्परागत कुराभन्दा नयाँ परिकल्पनामा योग्यता राख्छन् ।’ भनेर के गफ दोचारेका हुन् त ? ‘युवा दिमाग आराम होइन अभ्यास चाहन्छ । तर वयोवृद्धहरू अभ्यास होइन आराम गर्न राम ! राम ! राम ! पुकार्छ, फट्याङ्ग्र्रो पाए पनि टिप्छ र माखाको बोसो निकाल्न पनि तम्सन्छ । वानप्रस्थ र सन्यास आश्रमलाई भोगवादकै रमझममा उठबस गराएर सिध्याउने भो आर्ष सभ्यताको अमूल्य खानी नै ?
अक्षम, जीर्ण, अकर्मण्य, व्यवस्थापन शैलीमा निखार ल्याउन नसक्ने बूढाहरूले राष्ट्र निर्माणको चुनौतीपूर्ण भीरमा चर्ने चेष्टा अब पनि गर्न खोज्नु उग्रवादलाई निम्ता दिनु हो भनी आजका युवा तर्क दिन्छन् । सधै क्षमता विहीनका अर्दली, हुक्के, बैठके भएरै ऊर्जाशील धारलाई मारमा पार्नु अपराध हो । यस्तै मिति गुज्रिएकाबाट प्रताडित हुने नामर्दहरू युवा वा तरुण नभएर दासानुदास सास मात्र हो । हरेक हजुर्बा र बा पुस्ताले आफू मानमा बसेर स्वाभिमान तथा सदाचारमा रहेका युवा पुस्तामा नायकत्व दिनु श्रेयस्कर ठान्छ । विज्ञ र अनुभवीका सल्लाह अल्लाह वा ईश्वर हो भन्ने विचार ख्याल गर्दै आउँदो समयलाई हाक्न आक्न सक्नुपर्छ नवयुवाले । बा, हजुर्बा पुस्तालाई खोपीका द्यौता मात्र बनाएर कमाउमार्ग रोज्ने, गलत दुव्र्यसनको दलदलमा फस्ने युवा साँचो युवा हुन सक्दैन । रोएर श्रीमती पाइन्न भन्ने कुरालाई पूरै हेक्का गर्नुपर्छ हर क्षेत्रका नव युवाले । जय नव युवा पुस्ता ! साष्टाङ्ग दण्डवत् प्रणाम बा र हजुर्बा पुस्ता ! ! ! बाइबाई हजुर्बुबा र बुबा, वयलकम नव युवा ! ! ! अस्तु
धादिङबेसी
Subscribe
Login
0 Comments
Oldest








































