विश्व विनोदजाँडको कहानी
एक दिन एकजना बुढिया मृत्युको सङ्घारमा पुगिछन् । तुलसीको मठमा पु¥याइएछ । उनका छोरा, नातिले सोधेछन्– आमा पानी खानु हुन्छ ? बुढियाले भनिछन्– ‘खान्न, खान्न चिसो लाग्छ । माथिको यौटा उदाहरण झैं कुनै जँड्याहालाई हामीले तुलसीको मठ नेर राखेको बेला ‘पानी खान्छौ कि जाँड ?’ भनेर सोध्ने हो भने मर्न घिटिघिटी भा’को मान्छे पनि जुरूक्क उठेर भन्न बेर लगाउँदैन– रक्सी चाहियो भनेर ।
नेपालमा सवभन्दा धेरै बाटो नाप्ने इन्जिनियरहरू जँड्याहा नै हुन्् । किनकि, बाटोमा छेउ र कुनो गर्दै धङ्गर धङ्गर हिँडेर यिनीहरू भट्टीपसलबाट घरसम्मको बाटो नाप्छन् । जाँडको कहानी रामायणको भन्दा गरिमामय छ । यसले फुटेकालाई जुटाउँछ, जुटेकालाई फुटाउँछ, उठेकालाई सुताउँछ । कुनै कुरा मिलेन भने रक्सीको डिनर दिनुहोस् टन्टै खलास हुन्छ । हुन त चुरोट खानेले यस्तो भन्छन्– एक ठिक्क, दुई दिक्क, तीन तानातान, चार हानाहान तर रक्सी खानेले मलाई पुग्यो भनेको सुनेको नै छैन । द्वन्द्वको बेला बन्दुकधारी पार्टीले एकदिन स्कुलको हेडसरलाई टिल्ल परेको बेला समातेछन् । दिउँसो जाँड खाएर हिँड्ने ? तँलाई साँड भन्दै कुटेछन् । अनि, जाँडको कहानीभित्र अफिसबाट रक्सी ल्याएर उन्कै टाउकोमा पाँच ग्यालिन खन्याएछन् । विचरा ती हेडसर निकै चलाख थिए, ती बन्दुकधारीले रक्सी टाउकोमा खन्याउँदै गर्दा, उनले हातको अञ्जुली बनाएर खाएछन् ।
यौटा फिल्मको गीत छ– ‘अब यो बाटो मेरो हो कि, म यो बाटो… हो । जँड्याहाहरू छेउकुनो गर्दै बाटोलाई यही गीत गाउँछन् । जाँडले जे गरेको छ, राम्रै गरेको छ । जाँड खाएर के भो त ? रक्सी कम्पनीहरूले सरकारलाई कर तिरेकै छन् क्यार ! जँड्याहाले रक्सी खाएर बुढीको चुरा फुटाल्यो भन्ने कुरा नगर्नुस् बरु नेपालमा चुरा उद्योग खोल्न पट्टी लाग्नुस् । जँड्याहाले कपडामा सु सु गरेर के भो र ! कमसेकम सावुन उद्योग फस्टाउने मौका त पा’को छ । जाँडकै कारणले भट्टीको रोजगार बढेकै छ । अझ गीत, सङ्गीत पनि जाँडकै बनाइएको छ, सङ्गीत बजार फस्टाएको छ । नत्र भने क्वार्टरले कहाँ पुग्छ र ? बोतल नै चाहिन्छ ।’ भनेर गीत किन फस्टाउँथ्यो ।
सोमरस भन्या सोमरस नै हो । जहाँ रवि पुगेको छैन, त्यहाँ सोमरसको छवि पुगेको छ । जाँडले मज्जा गर्छ, स्थिरलाई थिर थिर बनाइदिन्छ । यो बिजुली पानी हो, करेण्टले झैं झड्का दिन्छ । कसैले खोया बिर्के भने, कसैले सोमरस, कसैले जाँड त कसैले बाहुन पोका भने तर यसले रम्म पार्न र झ्वाम्म पार्न धोका दिएको छैन । प्रचण्ड तरिकाले रक्सीको विरोध गरे पनि प्रचण्ड प्रकाशले यसलाई साथ दिएकै छन् । पिएकै छन् । पिएर जिउनुको मज्जा बेग्लै हुन्छ । चिया जस्तै आजकाल जाँड संस्कार बनेको छ, यो तिरस्कार भन्दा पनि शिष्टाचारमा प्रयोग भा’को छ, तीनपानेलाई पाँचमाने थैलोमा भैलोको पैसा उठाएर पनि खाएकै छन् यिनीहरूले ।
एक दिन चुनाव अघिको दशैँ वरपर म यौटा पसलमा सामान किन्नका लागि गएको थिएँ । त्यहाँ यौटा वियर विक्रेता पसलेसँग खुसामद गर्दै रहेछन् । पसले भन्दै थिए ‘किन्दिन हो, किन्दिन ।’ विक्रेता भन्दै थियो, ‘किन्नुस्न सर ! किन्नुस् पसले भन्छ, ‘किन किन्ने ? चुनावको बेला पार्टीका कार्यकर्ताले पाँच वर्ष अघि खा’को त तिर्या छैन । विक्रेता भन्थे ‘हेर्नुस् हाम्ले नेतालाई रक्सी खाने बनाइसक्यौं, तपाइँले स्टकमा समेत राख्ने गरेर रक्सी किन्नुस्, मज्जाले विक्री हुन्छ ।’ विक्री होला नहोला, जाँडको गाथा आजलाई यत्ति नै । जदौ !
‘त्रिशुली छाल’ अङ्क ११, २०७० माघ १
Subscribe
Login
0 Comments
Oldest








































