दुर्गाप्रसाद ग्वालटारेडण्डायुग
शान्ति स्थापना गर्न र सम्बिधानको निर्माण टुङ्ग्याउन कटिबद्ध उनीहरूको संस्था अन्योलमा थियो । गाउँगाउँ, टोलटोल, बस्तिबस्ती, समुदाय–समुदाय सबै लडेभिडेका थिए ।
एकदिनको कुरो । साँझ पर्यो, कर्मचारी घरघर लागे । गेटमा चौकिदार उँगेर ड्युटी गर्दै थियो । अकस्मात कार्यालयको र्याकबाट रन्थनिंदै सम्बिधानको मस्यौदा तल भुइँमा बुन्द्रुङ्ग हाम्फाल्यो र कोठाकोठामा चाहार्दै भन्यो– “साथी हो ! यी मान्छेहरूले हाम्रो भावनाको कदर कहिल्यै गरेनन् । सबै आफुखुसी मनपरि गरिरहेछन् । आउनुहोस्, हामी पनि छलफल गरि निस्कर्ष निकालौँ !”
एकैछिनमा कार्यालय भरिका सरसामानहरू बैठक कोठामा जम्मा भए । पुस्तकालयबाट पुस्तक आए, ड्युटीमा नरहेको बन्दुक आयो, कार्यालय टेबुलहरूबाट मसलन्दका सामानहरू आए, फर्निचर आए । व्यापक छलफल शुरू भयो ।
“मान्छे नकच्चरा भैसके । कोही टेर्नेवाला छैनन् । अब मै अघि नसरी सम्भव होला जस्तो छैन साथी हो !” जंगिँदै भन्यो बन्दुकले ।
“भो भो, तिम्रो कर्तुत पनि देखियो गएका बर्षहरूमा । बन्दुकले समस्या समाधान हुने भए संसारका कैयौं गरीब मुलुकहरू कहाँ पुगिसक्थे !” पुस्तकले खण्डन गर्यो । सबैले स्वर मिलाए ।
“हेर्नुहोस्, चेतनाको कमि हो सबै अव्यवस्थाको कारक । तसर्थ मलाई काम गर्न दिनुस् !” थप्यो पुस्तकले ।
“कस्तो नचाहिँदो कुरा गर्नु भाको हँ ! जो बढी शिक्षित छ, उही बढी नकच्चरो छ यहाँ । किसानले, मजदुरले, भरियाले देश भाँडेको देख्नु भएको छ ? तपाईंको काम छैन साथी !” संविधानको मस्यौदा पुस्तकसँग बम्कियो । सबैले हो मा हो मिलाए ।
हल्लिखल्ली व्यापक भयो । सबै मै अब्यवस्थालाई ठिकमा ल्याउँछु भन्न थाले । यहिबीचमा कार्यालयका भित्तामा झुण्ड्याएको झण्डा मुर्मुरिँदै भुइँमा झर्यो । डण्डाबाट कपडाका चिर्कटाहरू आफल्यो र कस्सियो– “मसँगै टाँसिएको यो झण्डालाई अपमान गर्नेहरूले अब बुझुन् ! म अब नाङ्गिएको छु । कपडाको धरो फाल्दै अब यो देश तह लाउन म सक्छु म, झण्डा हैन डण्डा !” आक्रोश पोख्यो बाँसको लठ्ठीले र कुदेर बाहिर गेटमा गै उँघिरहेको चौकीदारको ढाडमा बज्रियो ।
सबै स्तब्ध भए । बैठक ढिसमिस भयो ।
अचम्म ! भोलिपल्टदेखि सो कार्यालय मात्र नभै देशभरि नै डण्डायुग शुरू भएको थियो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































