लक्ष्मण गाम्नागेघैँटाहरू अमर रहून्
प्रहरी कारबाहीमा घैँटे डन मरेको खबर सुनेर सुरुमा धेरै रमाए । तर, एक टेलिभिजनमा एक नेताले घुँक्क घुँक्क रुँदै घैँटेको जीवनी सुनाएपछि रमाउनेहरू पनि पछुताए । वास्तवमा घैँटु एक बहुप्रतिभाशाली व्यक्तित्व रहेछन् । नेताजीको भनाइबाट थाहा भयो, उनी त समाजसेवी, राष्ट्रसेवक, प्रजातन्त्रवादी योद्धा पो रहेछन् ।
उनले कसैको हत्या गरेको प्रमाणित भएको रहेनछ । कसैलाई मारेर सुध्रिने मौकाबाट वञ्चित गर्नुहुँदैन, बरू तरबारले हातखुट्टा गिँडेर सचेत गराउनुपर्छ भन्ने उनको धार्मिक मान्यता रहेछ । मारेपछि फसिन्छ, धराप मात्रै पार्दा धरौटीमा छुटिन्छ भन्ने उनको दूरदर्शी नीति रहेछ ।
उनी क्रमश साधु बन्नतिर लागेका रहेछन् । नेताजीका अनुसार घैँटेज्यूले देखिने गरी तरबार बोक्न छाडेका रहेछन् । ठेकेदारहरूका हातखुट्टा भाँचेर मात्रै जीविका चल्दैन बाबु भनेर नेताजीले आफ्नै साझेदारीमा ठेकेदार कम्पनी खोलाएका रहेछन् । नेताजीको काखमा लुटुपुटु गरिरहेकै बेला गत वैशाखको भूकम्पपछि घैँटेज्यूको घैँटामा नयाँ घाम लागेछ ।
भूकम्पपीडित जनताको दुर्दशा देखेर मन द्रवित भएपछि उनी भूमिगत जीवन त्यागेर बाहिर आएछन् र आफ्नो साम्राज्यका कारखाना, व्यवसाय, तरकारी बजार, सडक तथा पुलका ठेकेदार, सानाठूला होटल र रेस्टुराँ सबैलाई करको दायरामा ल्याई उनले करोडौँ रुपियाँ उठाई भूकम्पपीडित जनतालाई लाखौँ रकम बाँडेका रहेछन् । आजको भ्रष्ट समाजमा करोड उठाएर लाख खर्च गर्ने समाजसेवी कहाँ पाइन्छ ?
यस्ता महान् समाजसेवीको हत्या गरेर सरकारले ठूलो अपराध गरेछ । वास्तवमा घैँटेज्यूले गोली नै चलाएको भए पनि प्रहरीले सहनु पथ्र्यो । प्रहरीले हात उठाएको भए उनी बिनाप्रतिरोध आफ्नो बाटो लाग्ने थिए । किनभने, नेताजीले भन्नुभएको छ, उनले अपराध गर्न छाडेको तीन महिना नाघिसकेको थियो । यस्ता सन्त व्यक्तित्व त दिनदहाडै मारिन्छन् भने सर्वसाधारण जनता कसरी सुरक्षित होलान् भन्ने नेताज्यूको चिन्ता सोह्रै आना सही छ ।
नेताजीको स्वरमा स्वर थप्दै हामी पनि भनौँ, घैँटेज्यूलाई सहिद घोषणा गर्नैपर्छ । सहिद गेटमा डेरा जमाएर बसेका डेट एक्सपायर सहिदहरूका सालिक उखेलेर भूकम्पका भग्नावशेष थुपारेको टुँडिखेलको कुनामा सेलाउनुपर्छ र सहिदगेटमा घैँटेको पूर्ण कदको सालिक राख्नुपर्छ । सत्ता साझेदार एमालेलाई आपत्ति हुन्छ भने घैँटेसँगै चरीको सालिक राखोस् । अरू दलबाट भविष्यमा बन्ने सम्भावना भएका सहिदका लागि पनि ठाउँ राख्नुपर्छ भने राखिदिउँ ।
घैँटुको सालिक बडेमानको हुनुपर्छ, साँगाको महादेवजत्रो, नभए पनि महादेवको साँढेजत्रो । सालिकको एक हातमा तरबार, अर्को हातमा बियरका बोतल, छेउमा पैसाको धोक्रो, शरीरैभरि चोटपटक । उनको टाङमुनि चार हातखुट्टा टेकेका नेताजीको नाङ्गो सालिक बाहनका रूपमा रहनु अनिवार्य छ । संसारमै नौलो र उत्पातको सालिक बनाउनुपर्छ ।
सडक र चोकका नाम त आउरे–बाउरेहरूका नाममा राखिएकै छन्, घैँटुको योगदानलाई अमर बनाउन मेलम्चीको पानी जम्मा गर्न उपत्यकामा बनाइने सबै ट्याङ्कीहरू घैँटो आकारका बनाउन जोडदार माग राख्नुपर्छ । संविधान निर्माण र देशका विभिन्न भागमा भएका हिंसात्मक घटनाको बहाना बनाएर घैँटुको बलिदानलाई छायाँमा पार्न खोजिँदै छ । त्यस प्रकारको षड्यन्त्र भएमा डनहरूले छुट्टै प्रदेशको माग राखेर खुँडा, खुकुरी, पेस्तोल, भाला, बन्चरोसहितको जुलुस निकाल्न सक्नेछन् । वामदेव र सर्वेन्द्र खनालहरूलाई चेतना भया !
नेपाल साप्ताहिक, भाद्र १६, २०७२
Subscribe
Login
0 Comments
Oldest






































