भित्र घिच्रो जोड्छन्…
(पाखे भाका– सुरूमा चट्ट चट्ट, अन्तिममा लेघ्रो)
जालमा जेलिएँछु, भेलमा हेलिएँछु, गहिराई नै ननापी ।
चिन्ता बोकौं कति, टाउको ठोकौं कति, यै पुर्पुरो सरापी ।।
फुल्याउँदै बोके, पछि ढाडमा ठोके, आफ्नै छोरा छोरीले ।
अपाग पो पारे, झण्डै झण्डै मारे, कहाँ खोज्नु बैसाकी ??
लोकतन्त्रे बोट, हुन्न केही खोट, भन्दै कुर्ले सबैले ।
आशमा पारी रन्थे, फल खालास् भन्थे, मर्छु क्यारे नचाखी ।।
बाहिर फुँदा जोड्छन्, भित्र घिच्रो जोड्छन्, गुण्डा तस्कर सबैमा ।
घरै बिग्र्यो ब्यारे, ठिक्क हुन्न क्यारे, सबलाई खोरमा नजाकी ।।
सिधा जान्दैन रे, बातले मान्दैन रे, वीर मसानको छाउरोले ।
हातै किन जोड्थेँ, त्यसै किन छोड्थेँ, कोशीपारे नभाकी ।।
काठमाडौं