साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बिरामी छु

Nepal Telecom ad

साथी ! ओ साथी !
म बिरामी छु
साँच्चै साथी
म असाध्यै बिरामी छु
भुइँचालाले भर्खरै मेरो भकारी रित्तो बनाइदिएको छ
सत्ताको हुचिलले दिउँसै देशको भकारी लुटिदिएको छ
ठूलाघरेहरूबाट दिनरात गिद्धका तिखा नङ्ग्राहरू प्रदर्शित छन्
मेरो प्यारो धर्तीमा सभाभित्र बाँदरहरूका गरिबी खेल मञ्चित छन्
म जनता काकाकुल आशामा पेटपालो हुने दुर्दिन गनेर बसेको छु
साथी ! ओ साथी !
म बिरामी छु
साँच्चै साथी
म ज्यादै सिकिस्त छु ।

जनताको ठूलो भाग्य लेखिएको कागजी खोस्टो
खालीखाली भरिएको छ
तिरेको सर्वसाधारणको करको भरपाई
दौरा–सुरुवाल–कालो टोपीमा सजिएको छ
लू–हिउँले निस्सासिने–कठ्याङ्ग्र्रिने मेरो जीवन
कात्रो किन्नका लागि सीमित छ
धुमधुमती अँध्यारोमा बसी उही खोस्टो कोरल्ने
भव्य भवनमा उज्यालो सुम्पेको छु
हड्डी–छालामा कङ्काल जिन्दगी बाँची
उही दौ.सु.का टल्काउन सर्वस्व अर्पेको छु
कमजोर यी हातगोडा कमाउँदै युगौँदेखि
खेती–कारखानाको काम जो सम्हालेको छु
केवल आधुनिक सिसिफस जिन्दगी जिएर
मृत्युको स्वागतमा धूलिधूसर बाँचेको छु
ओ ! दूरदेशको साथी !
म बिरामी छु
साँच्चै साथी
म सारै घुँसमुन्टिएको छु ।

घरविहीन जडौरी पालमा बेथितिको सुताइले
घाँटीको हड्डी खिएको अवस्थामा छु
यस्तैयस्तै अनेक रोगको सिकार भई
सारै गलित विगलित नै अवस्थामा छु
म यो देशको अर्धनागरिक बनेर
आश्वासनमा बाँच्न विवश भएको छु
नागरिकता– नागरिक दुई किसिमका रहेछन्
म अस्थायी नागरिक मात्र भएको रहेछु
मसँग एउटा मात्र त्यो पनि सक्कली नागरिकता
सम्पत्ति गुमेका सबै नेपालीको नागरिकता यही
विदेशतिर पैसा थुपारेका धनाढ्यले
दोहोरो नागरिकता लिएका छन्
तिनीहरू स्थायी नागरिकताका हकदार
राज्यको ढिकुटीबाट उपचारखर्च जुटाउन सक्षम
भूकम्प, बाढीपहिरो, युद्धबाट पीडितलाई
निःशुल्क उपचार गर्ने सरकारी घोषणा र
निजी अस्पतालका डाक्टरले नबुझिने गरी लेखेका
महङ्गा औषधि मेरा लागि उस्तै लाग्छन्
मैले निको हुन औषधी गरेको होइन के
अझ हरितन्नम हुन लम्पसार परेको हुँ
ओ ! दूरदेशको साथी !
म बिरामी छु
साँच्चै साथी
म औषधी खाँदै छु ।

मेरो जातले नै मलाई जिस्क्याउन थालेको महसुस गरेको छु
जब राज्यको खोजी हुन थालेको छ अनौठोसँग यस माटोमा
मेरो भाषाले नै मलाई थर्काउन थालेको महसुस गरेको छु
जब राज्यको खोजी हुन थालेको छ विचित्रसँग यस भूमिमा
मेरो धर्मले नै मलाई बिच्क्याउन थालेको महसुस गरेको छु
जब राज्यको खोजी हुन थालेको छ आतङ्कसँग यस मधुबागमा
यस्तैयस्तै सबै कुराहरू दुख्छन्
मेरो रोगिएको शरीरभरि आजकाल
अनि स्वदेशमा कतै डाक्टर फेला पारेको सुनेको छैन है
हामी कति अल्छी र कामचोर छौँ
आठ वर्षसम्म एक वाक्य लेखेनौँ
युगयुगसम्म आमाको छातीको घाउ निको पार्न
कहिल्यै मिलेर पाइला सारेनौँ
सायद रोग हो यो देशको
गलत इतिहासले अभिशापमा दिएको मलाई
ओ ! टाढाको शुभेच्छुक साथी !
म बिरामी छु
धरोधर्म साथी
म साँच्चै थला परेको छु ।

मेरो निर्णय कहिल्यै मबाट हुँदैन
भएको इतिहास पनि पो त्यति भएजस्तो लाग्दैन
भूपीले भनेकै सदर छ हालसम्म
हामी अरूकै स्ट्राइकरका गोटी नै हौँ
कि त गयाका पण्डाले
कि त हिमालपारिका राता झन्डाले गोटी हान्छ
हालसाल त झन् डलर पाउन्ड आदिका डन्डाले
रन्दा लगाउन थालेको छ
नेपाली नेतृत्वको मगन्ते रोगी दास दिमागमा
यही सर्वत्र व्याप्त छ
म सानो छु कहिले सर्वशक्तिमान्
डलर वा पाउन्डले चड्कन दिन्छ
मैले लुरुक्क माने ठिकै हो
नत्र त यस्ताले मेरो मुटुको धड्कन किन्छ
खोइ कहिले बन्छ मेरो देशको नयाँ इतिहास !
खोइ कहिले सुनिन्छ वीर र बुद्धिमानको नयाँ आबाज !!
मेरो रुग्ण शरीर र मन प्रतीक्षारत छ
दिनरात घाम र जूनका प्रकाशमा
आफूलाई नियाल्दै क्षितिजभरि
प्रतिपल यस अखण्ड धरतीका सुवासमा
सिङ्गो नेपाली जातिलाई नियाल्दै
अनन्त अनन्तसम्मका अँगालाभरि ।
२०७२ असार १
हात्तीबन, ललितपुर, नेपाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
जुम्राहरूप्रति

जुम्राहरूप्रति

डा. भरतकुमार भट्टराई
‘अर्को कर्नाली’ का कवितामा कोमल व्यङ्ग्य

‘अर्को कर्नाली’ का कवितामा...

डा. भरतकुमार भट्टराई
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x