शेषराज भट्टराईबोसको जोस
सामान्यतया बोस भन्नाले दादाप्रधान वा छाडाप्रधान प्राणी भन्ने बुझिन्छ भने जोसचाँहि उसको बानी ब्यहोरा । तर यहाँ बोसको चर्चा अलिक भिन्न किसिमले गरिएको छ ।
धर्तीमा कोटि कोटि किसिमका प्राणीहरू पाइन्छन् । पशु पक्षी, थलचर, जलचर, दिवाचर वा निसाचर भाँती भाँती प्राणीहरूको ताती नांगो आँखाले देख्न सकिन्छ । यिनै प्राणीहरूको अगुवालाई शंखघोषका साथ बोस भन्ने गरिन्छ । जे होस् मुण्डा, चिण्डा तथा चुल्ठे गुण्डाको प्रमुखलाई पनि आधुनिक भाषामा बोस भन्ने गरिन्छ । यस शताब्दीमा बोसको जोस चाल नपाउनु भनेको सामान्यतया होस हराउनु वा बोस मन नपराउनु हो ।
संसारका सबै मान्छेहरूलाई आइमाईले नै जन्माएको भए पनि तिनको रूपाकृति भिन्नता भनिनसक्नु फरक हुन्छ । नेपालका बोस, चिनका बोसजस्ता हुँदैनन् । चाइनिज बोसहरू कोरियन बोससँग ¥याङको ठ्याङ मिल्दैनन् । भारतीय बोस, पाकिस्थानी बोस जस्तो हुँदैन । इराकी बोस, अमेरिकन बोस र कोरियन बोसको भिन्नता आकाश जमिनको हुनसक्छ । यसप्रकारले वर्णन गर्दा अप्ठ्यारो नमानी ठोकुवा गर्नै पर्ने हुन्छ । बोसको जोस पनि पृथक् पृथक् हुन्छ ।
पार्टी सभापतिको बोसको जोस संसदीय दलको बोससँग मिल्दैन । प्रधानमन्त्रीको बोसको जोस मन्त्रीहरूसँग मिल्दैन । कुनै कुरा कुनै पनि कार्यसँग मिल्दैन भने त्यहाँ शतप्रतिशत फाटो हुन्छ । यसरी एउटा बोसको जोसको कारण अर्को बोसको मुख बांगिनु वा आन्द्राभुँडी नांगिनु राजनीतिमा स्वाभाविक मानिन्छ । आफ्नो जोसको कारण आफन्त देश तथा विश्व नै कुरूप देखिन्छ भने छिमेकीको घरमा किन आगो सल्काउने ? छिमेकीको घरमा आगो झोस्दा धुवाँको मुस्लो आफ्नै घरमा पस्छ भन्ने कुरा विभिन्न जात तथा स्तरका बोसहरूले बुझ्नै पर्ने समयको माग छ ।
अन्य ऋतुमा बोसलाई पर सारेर पनि चुनावी ऋतुमा बोसको जोसको फल अन्यन्तै स्वादिष्ट मानिन्छ । बोसको जोस प्राप्त्यर्थ फलफूल तथा भेटी वा बेटी टक्र्याएर अपूर्व दत्तचित्तका साथ यिनको आराधना तथा उपासना गरिन्छ । जसको धङधङी बोसको ब्रेनमा अर्काे चुनाव नआएसम्म रहिरहन्छ ।
मूर्धन्य नेताको सिँदूर पहिरेका राष्ट्रिय स्वाँठ बोसको जोसको दरकार स्थानीय तथा राष्ट्रिय सरकारमा पर्छ । जब जब नेताको अस्तित्व र अस्मिता सङ्कटमा पर्छ, तब तब बोसको जोस चलायमान हुन्छ र सङ्कटमोचनका भँड्खालाहरू तयार गरिन्छ । प्रस्तुत उपाय एवम् च्याँखे इतिहासले पनि देखाइसकेको छ र वर्तमान विश्वको राजनीतिक सरगर्मीले पनि त्यही सिकाउँछ । यसमा सरकार, बोस र प्रशासनको मुख्य भूमिका हुन्छ ।
एक दशक लामो प्रजातान्त्रिक अनुभवमा साधुको शैलीमा छद्मभेषी बोसहरूले अनेक शैलीकासाथ आफ्नो जोसको आहुती कृपापूर्वक गरिराखेका छन् । यस्ता कुकृत्यलाई जनताले उकुस मुकुसका साथ वरण गरिराखेका छन् । नेता प्रहरी प्रशासनको काखमा लुटपुटिने बोसको जोसको संस्कारलाई अन्यथा मान्नु स्वयंमा घात वा लात सृजना गर्नु हो ।
बोसको जोससम्बन्धी अनुभव सँगालेर, बोस बन्धुलाई अँगालेर, समाजमा शैतानको शैलीमा ताण्डव नृत्य देखाउने बानी परेकाहरू जस्तोसुकै सत्ता आए पनि भत्ता छोड्दैनन् । बोसको जोस मूल्यवान् हुन्छ । आवश्यक मूल्य चुक्ता गरी निरीह निमुखाको हुर्मत लिनु बोस बन्धुको कूलायन धर्म हो । तथापि बोसको जोस जबसम्म मात्र जारी रहन्छ, तबसम्म बोस विना बैशाखी चौतर्फी लर्खराउन सक्छ । यावत् कृत्य गर्दागर्दै बोसको घाटी बस्ने, मासी गल्ने, रसिला, जोसिला, तिघ्रा सुक्ने र कालान्तरमा दुनियाँले थुक्ने गरे पछिमात्र यत्नपूर्वक बोसको इहलोक समाप्त हुन्छ र परलोकको दावेदार बन्छ ।
टोल–टोल, गल्ली–गल्लीमा बोसको जोस देख्दा मुखबाट ¥याल आए पनि डरले झ्याल लाए पनि, मौरीको बोस रानु, पिंडालुको बोस गानु, केही छैन मरिलानु भन्दै मुखमा मज्जाको बुजो हालेर जिउनु जस्तो सरल सहज र सही कृया विज्ञबाट प्रमाणित भएन ।
फुलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































