शेषराज भट्टराईनमस्कारको लत
नमस्कार कसका लागि ? ठुला, बडाका लागि मात्र हो त ? होइन । यो त समस्त मानव जातिमा एकले अर्काप्रति गरिने÷दर्शाइने समर्पण तथा सद्भाव सूचक सङ्केत हो । आफूभन्दा ठूला मान्यजनलाई सम्मान स्वरूप प्रणाम गर्ने परम्परा पुरानै मानिन्छ । मान्छेको उदयपछि विवेकको विकसित उचाइको उच्च रूप वा परिष्कृत ज्ञानको असल मानव कहलाउन एक योग्य विवेकी÷ज्ञानी जीवले अर्काे विवेकी जीवको आदर खातिर हातका दस औँला जोडी या नजोडी गरिने अभिवादनलाई नमस्कार भन्ने गरिन्छ । मनको मन्दिरमा सजाउन योग्य लागेमा जोडा गोडामा पुर्पुराले पनि ढोगी दिन्छन् ।
नेपालको परिप्रेक्ष्यमा दलित, गरिब, निमुखा, निम्सरा, असहाय, अनाथ, अयोग्य, हेय, अपाहिज, वा मानवीय गुणस्तरको कसीमा रगड्दा तल्लो स्तरको झैँ प्रतीत हुने तर नियम कानुनका नजरमा समान कम आयस्तरले ग्रस्त, निम्सरा वर्गले सामन्त जस्ता लाग्ने समाजसेवीलाई गरिने आदर, सम्मान र भक्ति सूचक आङ्गिक स्वाङ वा शब्दलाई पनि नमस्कार भन्ने गरिन्छ । नमस्कार रसिलो, भरिलो, पोषिलो पोटिलो मात्र हुन्छ कि फोस्रा नमस्कार पनि हुन्छन् ? जान्नलाई तल पढ्नै पर्छ ।
खास हुनु पर्ने पहिलो नमस्कार प्रभुलाई । ईश्वर÷भगवान्÷प्रभु नभएका कोही हुँदैनन् । ईश्वर नभएका वा ईश्वर नमान्नेलाई नास्तिक भनिन्छ भने ईश्वर भएकालाई आस्तिक भनिन्छ । मान्छेहरू भन्ने गर्छन् ‘नास्तिक भन्दा आस्तिक कमला वा नरमकरम हुन्छन् ।’ त्यसैले भक्ति भावका साथ माथ झुकाएर छाती फुकाएर कपट लुकाएर गरिने प्रथम प्रणाम प्रभुलाई किनभने ब्रह्मा, विष्णु, महेश्वर, दुर्गा माता, राम, लगायत सबै घरेलु हतियारले सुसज्जित छन् । हतियार धारीसँग डराउनु पर्छ । दोस्रो नमस्कार आमा बाबुलाई । आमा बाबुले सानैदेखि खान पिउन र जिउन सिकाएका हुन्छन् । सारो, गारो र अप्ठ्यारो फुकाएका हुन्छन् । मोही माग्ने ढुङ्ग्रो लुकाउने किन गर्नु प¥यो । आमाबाबु नभए प्राणीको जन्मै हुँदैन । हरेक प्राणीको जन्म आमा बाबुबाट मात्र सम्भव छ । त्यसैले लाग्छ मातापिता नमस्कारको दोस्रो दावेदार । तेस्रो नमस्कार गुरुलाई । गुरु नभए शिक्षाको उज्यलो घामबाट बन्चित भइन्छ । गुरुलाई खुरु खुरु नमस्कार नगरे धुरु धुरु रुनु पर्ने स्थिति आइपर्छ । किनकि प्राक्टिकल नम्बर जति सबै गुरुकै खटन पटनमा हुन्छ । गुरुको स्तुति गान र मानमा कन्जुस्याइँ नगरी भकाभक नमस्कार गरियो भने कक्षा फड्किन सजिलो पर्छ । त्यसैले तेस्रो नमस्कार गुरुलाई अनिवार्य नै भन्नु पर्छ । बाँकी अरू तेत्तिसकोटी नमस्कारमा खासै तौल हुँदैन । जुन फर्जी र फोस्रा नमस्कारमा पर्छन् । जुन जसलाई जति गरे पनि सिद्धिदैन बरु बढ्दै जान्छ ।
नमस्कार जहाँ जसरी गरे पनि तात्विक भिन्नता खासै हुँदैन तर दुनियाँलाई रिजाउन र अरूका आँखामा नबिजाउन पनि नमस्कार गर्ने परम्पराले संस्कारको रूप धारण गर्ला गर्लाझैँ लागि रहेको छ । किनकि नेपाल सिङ्गो राष्ट्र नै गरिब ग्रस्त छ । नमस्कार गरिब सूचक शब्दझै लागि रहेको छ । यहाँ सज्जन मान्छेहरूले नै नमस्कार गरी गरी सहयोग पड्काई राखेका हुन्छन् । दाताले नमस्कार गरेको खाता पाइँदैन । नमस्कार नगरिखाने अल्छीलाई भन्दा गरि खानेलाई खाँचो पर्छ । नगरी हसुर्ने कामचोर र स्वाङे साहेबलाई त दिनको दर्जन नमस्कारले पनि पुग्दैन । कसैले नमस्कार गर्न भूलचूक र बिर्सियो भने त्यसका तमाम काम भँड्खालामा पर्ने प्रबल सम्भावना बढेर जान्छ । त्यसैले म भन्छु नमस्कार है नमस्कार । नमस्कार नछुटोस् बरु दोहोरियोस् । त्यसले तपाईंका रोकिएका सारा, गारा, अप्ठ्यारा फुक्दै फक्रिँदै जान्छन् ।
कुनै सचेत मानवहरू यस्ता हुन्छन् जसलाई अगाडि नमस्कार र पछाडि तिरस्कार आवश्यक लाग्छ । उहाँको आनी, बानी र आचरणले त्यो मागि राखेको हुन्छ । सायद उहाँलाई पनि महसुस हुन सक्छ आफू अचडु छु । असभ्य, अतिचारी, व्यभिचारी, अनाचारी, दुराचारी, अचडु आदि अगतिला गुणहरूले ऊ लटरम्म झुकेको हुन्छ त्यसैले तिरस्कार गर्न लायक नायकमा ऊ दरिन्छ र लाग्छ आफू पनि परिन्छ ।
नमस्कार गर्न बालबालिकालाई सानैबाट अभ्यास गराइन्छ । हातको फुर्काे समाएर जी गर भन्ने चलन पुरानै हो । सकि नसकि छोटो हात नाक सम्म पु¥याएर छोड्छन् । उमेर बढ्दै जाँदा नमस्कारको कोटा पनि बढ्दै जान्छ । नमस्कारमा ओजस्विता, गहनता र बान्की चढ्दैजान्छ । जाँगर मेहनत खेर नजाओस् भनेर रोजेर, खोजेर, छानेर, तानेर जानेन नमस्कार गर्दा पनि कहिलेकाही नमस्कार गलत ठाउँमा पर्दा एक्लै चुकचुकाउनु वा पछुताउनु पर्छ । नमस्कारले बाटो विरायो भने मन खिन्न हुने गरी थकथकी लाग्छ । त्यसैले मन खिन्न हुने गरी नमस्कार गर्नु हुँदैन । मन खिन्न, छिन्न भिन्न भयो भने मनोरोग बढ्दैजान्छ । आफ्नो मनोरोग आफैले बढाउनु आत्मप्रतिको अन्तर्घात हो । घात अन्तर्घात भित्र बाहिर कतै पनि पाच्य हुँदैन । मानव वस्तीभित्र यसलाई सुखद मानिँदैन ।
ठूला मान्छेको सानो रूप भनेकै बालक काल हो । यस बेला आफन्त पराइ जसले मिठाई दियो उसैलाई नमस्कार गर्न सिकाए बाबु आमाले । दाँतै दुख्ने गरी मिठाई खाइयो र पातै दुख्ने गरी नमस्कार पनि गरियो । गर्दा गर्दा आज आफूमा नमस्कारको लत यस्तरी बस्यो श्रीमतीले समेत मेरो नमस्कार नियन्त्रण गर्न सकिनन् । बिहान सबेरै घर पुछपाछ गर्न आउने गिरिनी नानीले पनि मबाट धेरै नमस्कार खाएकी छन् ।
सहर बजारतिर जाँदा घुम्तीमा अचानक भेट हुने ज्ञात अज्ञात निम्सरा वर्गले पनि मेरो नमस्कार तात्तातै फर्काइ दिएका छन् । लुतै लुतोले ग्रस्त सज्जनले पनि लुतो कन्याउनै छोडेर मेरो नमस्कार फर्काएको छ । म रातो कलमधारी मान्छेको घुम्ने कुर्सीमै आठ घण्टा वित्दाका बखतमा पनि प्रत्येक मान्छेले मेरो नमस्कार फर्काइ दिएका छन् । कार्यालयका तल्लो तहका कर्मचारीदेखि म भन्दा धेरै पढेर डबल त्रिबल घुम्ने कुर्सीमा बस्नेहरूले समेत आज मेरा अगाडि एक तमासले आस गर्छन् त्यसले नमस्कार गर्छ र फर्काउँला । हो म ठिक त्यसै गरी देखेका भेटेका र चिन्दै नचिनेका कुल्ली, कवाडी, अनपढ स्वाँठलाई पनि जम्ला हात गरिहाल्छु । ममा नमस्कारको लत बसेको छ । नमस्कारको नसा चढेको छ । बाबु, आमा अभिभावकले जानी जानी बसाई दिएको लत आज सत्तरी बसन्त पार गरिसक्दा पनि छुट्न सकेको छैन । शत्रुलाई पनि नमस्कार गरेको छु । पत्रुलाई पनि नमस्कार गरेकै छु । गर्दा गर्दा नाति नातिनीलाई पनि नमस्कार गर्न मन लाग्छ । दाँत झर्दै आँत मर्दे गएपछि झन् धेरै नमस्कार गर्न मन लाग्दो रहेछ । म सारै सोझो हुनाको कारण मेरी आमा र स्वास्नी छोराछोरीले समेत फुर्सदमा मेरो कुरा काट्ने गरेका छन् । हुन पनि मलाई बाङ्गो औँलाले मात्र नौनी आउँछ भन्ने थाहा छैन । म आफ्नै हातमा भएको भातको माड निकाल्न नजान्ने हरिश्चन्द्र (सोझो) छु भने अरूको भातको माड मबाट गायब हुने त कल्पनै नगरौँ ।
यसरी संस्कार संस्कृति र आज्ञाकारीमा असल पात्र हुन सानामा गर्नसम्म नमस्कार गरियो । स्कुल पढ्दा गुरु गुरुआमाको निगाहाबाट प्राक्टिकलमा शत प्रतिशत नम्बर हत्याउन र चिट चोर्दा अप्ठ्यारोमा नपार्न आफूभन्दा जान्नेलाई तल झार्न पनि गर्न सम्म नमस्कार गरियो । जागिरको जङ्घार तर्नु पर्दा नमस्कार नगरे कामै नबन्दो रहेछ । कामको शुरुआत गर्न पनि नमस्कारको मात्रा बढाउँदै लगे ।
टोल छिमेकमा जन्मिएका हरेक तह र तप्कालाई सानैदेखि गरेको नमस्कारबाट एकाएक कसरी विमुख बनाउने । नयाँ अनुहारहरूलाई पनि आफू सज्जन, आज्ञाकारी र गुणस्तरीय भएको जनाउदिन पनि नमस्कार गर्नैप¥यो । अतिथि पर्यटकहरूलाई देश प्रेमीको नाताले नेपालको सान र मान कायम राख्न पनि नमस्कार छुटाउने कुरै भएन । घरमा तिउन, भात र भान्साकी अधिष्ठात्री स्वास्नीको शुकलादेखि व्युँझिएर एक आँखाले चियाउँदा मेरो जम्ला हात देखिनन् भने त्यो दिन मुखामुखको त कुरै छोडौँ भात भान्साबाट सोझै विमुख गराउने तागत र अदम्य साहस उनीमा सुरक्षित भएपछि आफू असुरक्षाबाट बच्न अनि यस जुनीलाई सहज, सुलभ र सुगम बनाउन पनि के गर्नु मैले त नमस्कार छोड्नै मिल्दैन । उठेदेखि नसुतेसम्म हात जोडी रहन्छु र तपाईंले पनि काम काज सल्टाउन र शत्रुलाई पल्टाउन पनि नमस्कार नछोड्नु होला है ।
पोखरा–११, फूलबारी, कास्की
Subscribe
Login
0 Comments
Oldest








































