मुकुन्द आचार्यकवितामा नेतालाई तारो ?
कुनै नेताजीको श्रीमतीले भनिन्– खै अचेल त हजूरले साहित्यिक कार्यक्रमहरुमा जानै छाड्नु भो । चुनाव दैलोमा आइसक्यो । एकछिन भए पनि अनुहार देखाउन त जान पर्दैन र ?
चुनाउ आउन थाल्यो, यो मलाई पनि था’छ । तर साहित्यिक कार्यक्रमहरूबाट मनै मरेर आयो । जानै मन लाग्दैन । समयमात्र बर्बाद ! नेताजीले दाह्री काट्दै भने ।
धर्मपत्नी चम्किइन्– पहिले त कुनै पनि साहित्यिक कार्यक्रम छाड्नु हुन्थेन । जनसम्पर्क बढ्छ, चुनाउमा काम लाग्छ भन्नुहुन्थ्यो त ! अब के भयो ?
‘तिमीसँग के ढाँट्नु पहिले त्यै सोचेर जान्थें । मन नलागे पनि कविता सुने जस्तो गर्थें । ताली पनि बजाइदिन्थें । अचेल त स–साना भुरादेखि लिएर दाँत फुक्लेका बुढासम्म सब नेतालाई नै तारो बनाउँछन् । सबैले आफ्नो कवितामा नेतालाई नै गाली गर्छन् । घोचपेच गर्छन् ।
‘हालै एउटा समारोहमा कुनै स्कुले फुच्चीले नेताको वर्णन गर्दा ‘अनुहार कालो, मन झन् कालो, लुगा मात्र सेतो’ भन्ने कविता पाठ गरी । म त लाजले भुतुक्कै भएँ । संजोगले मैले सेतै कुर्ता र पाइजामा लाएर गा’ थिएँ । मन र अनुहार त भगवानले नै कालो पारेर पठाइ दिए, त्यसमा मेरो के दोष ।’ – विचरा नेताले मायालाग्दो अनुहार पारे ।
नेताकी अर्धाङ्गिनी भा’हुनाले आधा नेता भैसकेकी पत्नीले संझाइन्– नेता भएर लाज मान्ने हो । यसरी लाज मानेर काज चल्दैन । त्यस्तो परेमा मुकुन्द आचार्यको यो मुक्तक सम्झनुहोला–
म नेता हुँ मेरो कुनै धर्म हुँदैन ।
मैले गर्न नसक्ने कुनै कुकर्म हुँदैन ।
अपराध गरेर आत्महत्या गर्ने त मूर्ख हुन् ।
मेरो शब्दकोषमा त शर्म हुँदै हुँदैन ।
त्यसपछि भने नेताजी गोष्ठीहरूमा जान थाले ।
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































