साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परपीडक करेक्टर

Nepal Telecom ad

नेपालले एउटा संक्षिप्त समयान्तरमा दुई ठूला–ठूला संकट बेहोर्न बाध्य हुनुपरेको छ । एक, केही महिनाअघि अनायास आएको महाभूकम्प र अर्को, हाम्रो दक्षिणको छिमेकी मुलुक भारत । यसलाई अझ स्पष्टसँग भन्ने हो भने हामीमाथि बलात् लादिएको भारतीय नाकाबन्दी ।

कुन्नि, किन भारत नाकाबन्दीलाई नाकाबन्दी भन्न पटक्कै तयार छैन । के भारतीय भाकामा नाकाबन्दीलाई केही अर्थोक नै भन्ने गरिन्छ ? त्यसो भए के भनिन्छ त ? यसको विकल्पमा उसले अन्य कुनै शब्द हामीसमक्ष प्रस्तुत गरेको छैन । अर्थात के हुनसक्छ भारतीय वाक्यमा जडान गरिएको वैकल्पिक शब्द ? अहिले भारतका साहित्यकारहरू (यसमा शब्दशास्त्री पनि आउनुपर्छ) भारतको असहिष्णु चिन्तनसहितको सत्तासँग अति रुष्ट भएर आफूले विगतमा पाएका सरकारी सम्मान धमाधम फर्काइरहेको विषम परिस्थिति आएकोले यस्तो भएको हो कि ? यो हाम्रो छिमेकी मुलुकको शत–प्रतिशत आन्तरिक मामला भएकोले हामीले अघि सरी जान्ने भएर केही भन्न मिल्दैन । यसो त हामी पनि प्रत्यक्ष भारतीय नाकाबन्दीलाई सफासफी ढंगले नाकाबन्दी भन्न सकिरहेका छैनौं । यसमा एक अति सुन्दर (?) विशेषण थपेर पटक–पटक भन्दैछौं– अघोषित नाकाबन्दी ।

यसरी आफ्नो साराकासारा कार्य–व्यापारमा भीषण गर्जन–तर्जनका साथ आएको भारतीय नाकाबन्दीलाई किन अघोषित नाकाबन्दी भनिएको होला ? यस सिलसिलामा घोषित–अघोषितको अनावश्यक झञ्झटमा नपरेर नाकाबन्दीको साटो सजगतापूर्वक अवरोध, छेकबार, रोकावट जस्ता अतिरिक्त शब्दहरू पनि प्रयोग नभएको भन्ने होइन । हाम्रा माननीय परराष्ट्रमन्त्री –एक उपप्रधानमन्त्री पनि) देखि लिएर छिमेकी मुलुक भारतमा नेपालका राजदूत महोदयसम्मका ‘असमञ्जसपूर्ण वाणी’ यसका राष्ट्रिय उदाहरण हुन् । यही आकर्षक हाउभाउको जब्बर समर्थनमा केही परम नेपाली बुद्धिजीवीहरू पनि सफलताका साथ अघि सरेका छन् । यसमा विदेशी राजदूतावासमुखी लेखक, पत्रकार, प्रोफेसर, कलाकार, समाजसेवी, वकिल, पण्डित, प्राज्ञ, चिन्तक, कवि आदि अग्रिम पंक्तिमा देखिएका छन् ।

हुन त केही महिना अगाडि शक्तिशाली ढंगले आएर गएको महाभूकम्प पनि कुनै घोषणा–शोषणाका साथ आएको थिएन । यो (वा त्यो) अघोषित महाभूकम्प नै थियो । त्यसकारण म गम्भीरतापूर्वक के सोचिरहेको छु भने यी युगल याने अघोषित महाभूकम्प तथा दक्षिणी छिमेकी मुलुक भारतको अघोषित नाकाबन्दीको तुलनात्मक अध्ययन किन नगर्ने ? दुवै हाम्रा लागि समान संकट नै हुन् । यी संकटद्वयमा के अन्तर छ र ? महाभूकम्प र भारतको नाकाबन्दीको संकटका तुलनात्मक अध्ययनमा एउटा संकट (संकटको पनि संकट भन्नोस्) के छ भने महाभूकम्प एक प्राकृतिक संकट भएकोले यसको यावत् अध्ययनको एउटा सुदीर्घ एवं सुस्पष्ट परम्परा रहिआएको छ । अर्थात् यसलाई सरल प्रकारले रेक्टरको आधारमा अवलोकन गर्न सकिन्छ । तर दोस्रो संकट हाम्रो दक्षिणको छिमेकी मुलुक भारतलाई कसरी हेर्ने त ? मेरो मतलब, भारत प्रदत्त नाकाबन्दीको संकटलाई ? यो त कुनै प्राकृतिक प्रकारको संकट होइन नि ! नेपालमाथिको बलजफ्तीको भारतीय नाकाबन्दी एक विशुद्ध अप्राकृतिक खालको संकट भएकोले यसलाई रेक्टरको आधारमा अध्ययन गर्न किमार्थ सकिँदैन । त्यसो भए के गर्न सकिन्छ ?

प्रशस्त चिन्तन–मनन गरिसकेपछि म के एकमात्र निष्कर्षमा पुगेको छु भने हामीमाथि बल, घमन्ड र मदले जबर्जस्ती थोपरिएको नाकाबन्दीरूपी भारतीय संकटलाई रेक्टरको साटो उसको सम्पूर्ण करेक्टरको आधारमा अध्ययन गर्नु समिचीन हुनेछ ।

अब हाम्रो दक्षिणको छिमेकी मुलुक भारतको यावत् करेक्टर कुन प्रकारको रहेको छ, यस विषयमा महाभूकम्पमा जनधनको ठूलो सास्ती खपेको लगत्तै (एक प्रकारले समानान्तर जस्तै) भारतीय नाकाबन्दीको दोहोरो यन्त्रणा भोगिरहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई मैले थप केही भनिरहनु पर्ला र ?

अन्त्यमा, हाम्रो छिमेकी मुलुक भारतको एक ‘सायर’को पंक्ति भारतलाई नै समर्पित गर्न चाहन्छु ।
‘मुसीबते बहुत हैं
तुझसा कोही नहीं यार !’

कान्तिपुर, कार्तिक २१, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x