मुक्तिबन्धुचेतना महाविद्यालय
हालैको कुरा हो । घुँडा बिरामी प¥यो । उपचारका क्रममा रगत जँचाउनु पर्ने भयो । बिहान केही नखाई रगत झिक्नु पर्ने थियो । चिकित्सकले बानेश्वरस्थित एन आर एल रेफर गर्नुभएको थियो ।
शनिबारको दिन थियो । बालाजुबाट बानेश्वर जानुपर्ने भयो । बिहान उठेर चोकमा निस्केँ । ७ बजे बल्ल एउटा माइक्रो भेटियो । सिट थिएन । उठमा ठेलिँदै उभिएँ । भृकुटीमण्डप ओर्लेर अर्को बस खोज्दा आधा घण्टा अर्को त्यत्तिकै बित्यो । रगत दिएर निस्कँदा बानेश्वर चोकमा सवा नौ बजेको थियो । चोकमा गाडीहरू थिएनन् ।
काठमाडौको केन्द्र । चहलपहलको भुमरी । त्यहाँ अहिले बिलकुल शान्त थियो वातावरण । आक्कल झुक्कल एक दुईवटा निजी गाडी गुडेका देखिन्थे । सडक वारपार गर्न निर्धक्क थियो । यस्तो शान्त सुन्दर बानेश्वर चोक मैले यसअघि देख्न पाएको थिइनँ । विगतमा बेलाबबेला बन्द हडतालहरू हुन्थे । त्यति बेला त्यहाँको माहोल बेग्लै देखिन्थ्यो । जुलुस, धर्ना, भीड, नारा, मुठभेड । त्यति बेला पनि गाडीको अत्यन्ताभाव हुन्थेन । प्रहरीका गाडी हुन्थे । प्रेस लेखिएका गाडी हुन्थे । हातमा भिडियो क्यामरा लिएर भीडतिर ताकिरहेका पत्रकारहरू हुन्थे । बटुवाहरू हुन्थे । तँछाड मछाड गरेर हेरिरहेका दर्शकहरू हुन्थे । विभिन्न कुरा हुन्थे । यस्तो शान्ति सौन्दर्य र स्वस्थ वातावरण हुन्थेन ।
आजको सडक साँच्चिकै शान्त मुद्रामा थियो । बीच सडकमा उभिएर चारैतिर हेरेँ । हेर्दाहेर्दै मेरो मनमा एउटा विचार उम्य्रो । यो त देशव्यापी चेतनाको शान्ति हो । यो त चेतना महाविद्यालयमा व्यक्त शान्ति हो । देशभक्ति र आत्मनिर्भरताको चेतनामा रुपान्तरित हुन आतुर शान्ति हो यो । यो शान्ति जनताको सचेतना र कर्मठतामा परिणत हुनसक्यो भने देशको भविष्य जाज्वल्यमान उज्यालो हुन सक्छ ।
छिमेकी मुलुक भारतले चरम अन्यायको इरादाबाट व्यापक नाकाबन्दी प्रहार गर्दा हामीकहाँ देशव्यापी रुपमा चेतना महाविद्यालय खुल्न पुगेको छ । हामी नेपाली मात्रले त्यस महाविद्यालयमा अनायास प्रवेश पाएका छौँ । हाम्रा अनुभूति र कल्पनाका ढोकाहरू खटाखट खुलेका छन् । आफ्नो स्थितिवोध र भवितव्यवोधसँग हाम्रो अप्रत्यासित जम्काभेट भएको छ । अन्धकारबाट अझै अन्धकारमा डुबाइदिन कसैले घोक््रयाउँदा अचानक चेतनाको झलमल्ल उज्यालोमा पुगिनु, छ्याङ्ग आँखा खुल्नु र उन्नति प्रगतिका वैकल्पिक राजमार्गहरू देखिनु सौभाग्यको कुरा हो । यस्ता युगान्तकारी अवसरहरू मुलुकको जीवनमा युगौँको अन्तरालमा आकस्मिक रुपमा आउन सक्छ । अवसर हो यसलाई चिनेर समात्न सक्नुपर्छ । मुलुक आजको अगतिबाट द्रुततर रुपमा प्रगतिमा रुपान्तरित हुनसक्छ । हुन्छ ।
प्रकृतिको अनुपम वरदानजस्तो नेपाल भूमिमा जन्मन हुर्कन पाएका हामी वीर स्वाभिमानी पुर्खाका सन्तान हौ. । हाम्रा नसाहरूमा देशभक्ति र स्वाधीनताको रगत प्रवाहित छ । । केही राजनेता र व्यूराक्यार्टहरूको दासमनोवृत्ति र विक्रीत मनोदशाले मुलुकलाई आजको दलदलमा फँसाए पनि यसबाट उतार्ने र सही बाटेमा पुर्याउने दायित्वबाट हामी जनता भाग्न सक्दैनौँ । भाग्देनौँ । राजनेताहरू तिनका विभिन्न नामधारी दलहरू त बर्सातका पानीका फोका जस्तै अस्थायी हुन् । देश र जनता मात्र स्थायी हो । आज एकाध नेता र व्यूराक््रयाटले छेक्न रोक्न खोज्दैमा प्रगतिका वैकल्पिक राजमार्गहरूमा अग्रसर अग्रगामी नेपालीजनताको यात्रावेग रोकिंदैन । राष्टघाती सोच समझका नेता र व्युरोक्र्र्टहरू एक दिन पाखा पर्छन् । स्वामीका चरणामृतको घ्याम्पोमा नुहाउने नीच आकाङ्क्षामा डुबेर मर्छन् ।
चेतनाको महाविद्यालयमा प्रवेश पाइसकेको स्वाभिमानी नेपाली जनताले आफ्नो प्रगति यात्रा आफै हाँक्छ र गन्तव्यमा पुग्छ । कुन भवितव्यमा पुर्याइएका रहेछौं छर्लंग भएको छ । यसरी छर्लंग हुनु आत्मवोध हुनु हो । स्थितिवोध हुनु हो । वोधबाट थालिएका प्रगतिका कदमहरू युगान्तकारी रुपमा अग्रगामी हुन्छन् । कसैले रोकेर राकिँंदैनन् । हैन र ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































