लक्ष्मण नेवटियाहामी उज्यालो पर्खिबसेका छौँ
आकाशभरि पानी पार्न नसकेका
काला मडारिएका बादलहरूको बिगबिगी ले,
दिनमैं अँध्यारोले आफ्नो साम्राज्य
स्थापित गर्न सफलता पाएको छ ।
जताततै भोक छ रुदन छ क्रन्दन छ ।
आफ्नै अँध्यारो मनदेखि टिठ लाग्न थालेको छ
के यस्तो पाप भएको छ कुन्नि
कहिले पृथ्वीले उत्पात मचाउँछ
कहिले हाम्रा प्रारब्धले उत्पात मचाउन थाल्छ,
निस्सासिँदो कालखण्डमा
अनुभूत भै रहेको छ खल्लोपन ।
आफ्ना नामर्द तर्कहरूको सिंगारपटार गरेर
स्वयं घोषित राष्ट्रवाद्को चश्माबाट
आफ्नै दाइभाइलाई विदेशी देख्नेहरूले गर्दा,
छिमेकीले हाम्रै मैदानमा हाम्रो स्वाभिमानलाई
भकुण्डो बनाइ खेलाई रहेको छ
र हाम्रो आफ्नै अस्तित्व
टिकट बिना खेल मैदानभित्र छिरेको दर्शक झैं
बुझेर पनि बुझ पचाएर
आफूलाई नै छलेर खेल हेरी रमाइ रहेको छ ।
शान्ति सहअस्तित्व र सद्भावलाई आफ्नै
बर्चस्वको अधीन राख्न खोज्दा
राष्ट्रियतालाई आफ्नै
आकार प्रकार र स्वादमा राख्न चाहँदा
वार्ताको मर्म निहुरिएर पंधेर्नी गफ हुन पुग्दा
आत्मरतिमा रमाएकाहरूको अनुकम्पाले
अक्षमता र अदूरदर्शिताले
नयाँ नयाँ युद्धक्षेत्र उम्रिँदै गएका छन् देशभरि ।
राजनैतिक मठहरूका मठाधीशहरूको हठले
देश अनिर्णयको बन्दी भएको छ ।
छट्पटी, दिक्दारी र उकुसमुकुसले
अनन्त उल्झनले आजित भएको छ जीवन,
राजनैतिक दाउपेचले थलिएको छ चाहना,
कुटिलताले घाइते भएका छन सपना
यति सबैथोक हुँदाहुँदै पनि
हामीलाई विश्वास छ कि
प्रत्येक साँझ स्वयंमा आमन्त्रण छ
सुनौलो बिहानीको,
त्यसैले हो हामी यो घनिभूत भैरहेको
अँध्यारोका बिच थिचिएर मिचिएर पनि
आफ्नो आशलाई जीवन्त राखेका
कहिले उत्तर त कहिले दक्षिणमुख गरेर
अभावले प्वालै प्वाल परेको तन्ना ओछ्याएर,
कहिले हात उचालेर नारा लाएर
त कहिले हात जोडेर– डिच्च हाँसेर,
सिंगै धर्तिलाई साक्षी राखेर
उज्यालो पर्खिरहेका छौँ ।
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































