नाकाबन्दी डट् कम्
इतिहासका पानाहरूबाट
शब्द झिकेर
हामीले भनिरह्यौँ
हामी वीर गोर्खाली
हामी स्वाभिमानी गोर्खाली
हामी नूनको सोझो गर्ने नेपाली
र, हामी चिच्याई रह्यौँ
हामीसँग विश्वकै अग्लो सगरमाथा छ
हामीसँग बुद्ध जन्मेको माटो छ
हामीसँग सयौँ हिमाल छन्
हामीसँग हजारौँ ताल छन् ।
पूर्खाको बखान गर्न र
बतासे भाषण गर्न खप्पिस हामीहरूले
कहिले सोचेनौँ
आत्मनिर्भर हुन
आफ्नै खुट्टामा उभिन ।
लाहुरे बन्न सिपालु हामीहरू
अरब र मलेसियातिर दगुर्न लालायित हामीहरू
बिर्सेर आफ्नै जन्मभूमिको माटो
पराईको आँगनमा पसिना चुहाउन दौडिरहेछौँ
सपना बाँडेर हिँड्ने
फटाहाहरूको पछिपछि हिँडिरहेछौँ
झुठो आश्वासन दिँदै हिँड्ने
मूर्खहरूको लहैलहैमा उफ्रेर
समय बर्बाद पारिरहँदा पत्तै भएन
हामी परजीवी बनिसकेको
हामी पराश्रित भइसकेको
अहो, कस्तो आश्चर्य ?
वीरका सन्तानहरू परजीवी भएको
वीरका सन्तानहरू पानीमरुवा भएको
हरेकपटक ठक्कर खाँदा पनि
चेत आएन हामीमा
घरिघरि हण्डर पाउँदा पनि
घाम लागेन हाम्रो घैंटोमा
उघ्रिएनन हाम्रा आँखाहरू
महासय, नपत्याए हेर्नुस्
नाकाबन्दी डट् कम्
त्यहाँ देखिन्छ
हाम्रो हैसियतको टुँडिखेल
हाम्रो पौरखताको राजमार्ग
हाम्रो पराक्रमको बृत्तचित्र
अनि देखिन्छ
हाम्रो सीमानामा विभिषणहरूको जुलुस
उनीहरूले हामीतर्फ फ्याँकिरहेको
पेट्रोल बम र तेजावका शिशीहरू
उनीहरूले हामीलाई लक्षित गर्दै हानिरहेको गुलेली
उनीहरूले गरेको तोडफोड, आगजनी र तालाबन्दी
यतिबेला मौकाको फाइदा लिँदै छिमेकी
विभिषणहरूलाई दाल–भात ख्वाएर उक्साइरहेछ
हाम्रो चुल्हो बन्द गर्न
हाम्रो गाँस, बास, कपास खोस्न
आज बल्ल हामी भन्न थालेका छौँ
आत्मनिर्भताका कुरा
आत्मरक्षाका कुरा
सायद, हाम्रो आँखा उघ्रियो कि ।
ललितपुर
कार्तिक ३०, २०७२