शेषराज भट्टराईससुरालीको सिधा सधैंलाई बिदा
आफ्नै पत्नीको माइतीघर वा छोराछोरीको मावल या सासुससुराको राख्यै घरलाई जुवाइँको तर्फबाट ससुराली भनिन्छ । ससुरालीले दानवीर भएर समाजका सामुन्ने वित्तीय हैसियत र ह्याउ प्रदर्शन गर्दै जुवाइँछोरीको ह्याकुलो हास्ने गरी र छोरीको माइतीतर्फको तिर्सना बिर्सना खातिर या जुवाइँको मायामोह अङ्कुरणार्थ दिएको चौपाया, दोपाया दानदक्षिणा वा जाय–जेथालाई व्यङ्ग्यार्थमा सिधा भनिन्छ । आजभोलिका मान्छेहरूले भूत, वर्तमान र भविष्य तीनै काल अग्रिम देख्ने हुनाले ससुरालीको सिधाबाट मानमनितो बन्धकी राखेर उल्टो लाभ नहुने देखिएकाले नै ससुरालीको सिधा सधैँलाई विदा भन्न रुचाएको हुनुपर्छ । यसरी ससुरालीको पीरमर्कालाई हटाइदिने, हृदयरोगलाई मनमन्दिरबाट पन्छाइ दिन परोपकारी भावनाले ओतप्रोत सज्जन जुवाइँहरू हाम्रा जीवनभोगाइका सामुन्ने धेरै बगे्रल्ती र फालाफाल छन् । यिनको चुरीफुरीको मामलामा म यहाँसमक्ष बेली विस्तार लगाउन तम्सिएको छु ।
राजनीतिमा साम, दाम, दण्ड, भेद नजानेको चतुरेले राजनीति गर्न सक्दैन । यी चार जुक्तिमध्ये शत्रुलाई धन सम्पत्ति दिएर अधीनमा राख्ने वा खैचिने उपायमध्ये, दान एक हो । कस्ता आनीबानी सिङपुच्छर भएका जुवाइँ छन् । बानी व्यहोरा केही थाहा नहुँदा डरै लाग्छ – छोरीलाई अँचेटेको अँचेट्यै घँचेटेको घँचेटेयै सास फेर्न बिर्साइदिने पो हुन् कि ?
जे होस् दानवीय व्यवहार छोड्ून् मानवीय व्यवहार गरून् भनेर धनसम्पत्ति अघि सारिएको हुनुपर्छ । जुवाइँको हड्डी हँसाउन र छोरीको घरजम बसाउन ससुरालीको पसिनाको यस लोकमा अहम् भूमिका हुने गरेको कुरा हाम्रा छरछिमेकबाट लुकेको छैन । यो नै हामी नेपालीको एउटा विशिष्ट पहिचान हो । ससुरालीको सिधामा लुटपुटिएका जुवाइँ आजीवन फुक्का, निख्लो, रित्तोहात, श्रीमतीको साथ जिन्दावाद ! गर्दै जीवन गुजार्न रुचाउनेहरूको लामो लस्करलाई सरकारले ससम्मान विदा गर्नुपर्छ । ससुरालीको सिधामा ¥याल काड्नु पनि अतिसार र दीर्घरोगजस्ता रोगले ग्रस्त हुनु हो । यसले बाँचुन्जेल पिरोली राख्छ । नामर्दपनको चरमावस्थामा पु¥याउँछ । हुतिहाराको लागि भने यो भरपर्दो बाटो र सुगमस्थानको एक तिरतिरे धारो नै मानिन्छ । नाक भएकाहरू यस बाटामा हिँड्न र यस्तो धाराको पानी खान हच्किन्छन् । यसलाई शुभ सङ्केतका रूपमा लिनुपर्दछ । समाजको दुर्गन्ध हटाउन र अगतिलालाई ठटाउन यस्ताको अहम् भूमिका हुन्छ । राज्यले यस्तालाई काखी च्यापेर विरुद्धमा फँडा फुलाउन सक्नुपर्छ । अन्यथा ससुरालीको सिधामा गिद्धे नजर लाउनेहरू च्याउ उम्रेझैं हर्दम उम्रिराख्ने कुरामा शङ्का गर्न मिल्दैन ।
ससुराली कसका हुँदैनन् जसले बे गर्दैन त्यसको हुँदैनन् भन्नु होला तर त्यसो होइन । राजा, प्रजा, नेता, तन्नेरी, बूढा सबैले ससुरालीको मीठो नमीठो स्वाद चाखेका हुन्छन् । नचाख्नेले देखेका हुन्छन् । जसरी एउटा अपराधीले अर्काको हत्या गर्दा एउटा सोझो मानवले देख्छ र उसलाई पनि अपराधीसरह सजायको भाग लगाइन्छ वा बलीको बोको बनाइन्छ । सोहीमुताविक ससुराली देखेका छन् जुवाइँ देखेका छन्, तिनको लेनदेन र बानीब्यहोरा पनि थाहा छ । त्यसैले ती सोझा नभोग्ने तर देख्ने अभागीहरू पनि समाजमा रयाल काढ्दै दूषित बन्ने चेष्टा जारी राख्छन् । यिनको पनि नियोजन गर्नुपर्छ । जरै उखेल्ने भनेको सायद यही होला र जन्ती भनेका यिनीहरू नै हुनुपर्छ । समय सुहाउँदो पाराले चलिएन भने त्यसको असर देशलाई पर्छ । देशबासीलाई पर्छ । एउटा उट्पट्याङ नेताले अघिल्लो वर्ष प्रजातन्त्र दिवसका दिन प्रजाका नाममा वक्तव्य प्रकाशित गर्दा जायज थियो हुन्थ्यो भने यो साल त्यही व्यक्तिको वक्तव्य विषसमान पनि हुन्छ । सारा भाँडिन र माडिन पनि सक्छन् । किनकि यो समयको माग हो, समयअनुसार चल्नुपर्छ । समय जस्तो बलवान् जस्तै तिघ्रे पनि हुँदैनन् । त्यसैले सजिलै भन्न सक्छौं– जुवाइँ–ससुराले सुपाच्य तबरले श्वास–प्रश्वास लिने छोड्ने गनुपर्छ किनकि हाम्रो अन्तिम लक्ष्य भनेकै मर्नु हो मार्नु होइन ।
जब ससुरालीबाट ‘जुवाइँसाहेब’ भनेर चाकडी, सद्भाव वा सम्मानका फोहरा फुटछन् तब जुवाइँका अहंकारजन्य सिउर अचम्मैसँग निहुरिन र ढल्किन थाल्छ । लजालु, दयालु र मायालु बोली र झोलीको कारण उचालेको कुकुरले मृग मार्दैन भनेझै अगणित जुवाइँहरू मर्दपुत्र पराक्रमी र कर्मठ भएर निर्धक्क उघ्राउन सकेका छैनन् । बसीबसी डकार्न र हकार्न पाइन्छ भने नङ्ग्रा खियाउन को रुचाउँछ ? आफ्नो आन्तरिक, बाह्य शक्ति र हैसियत बिर्सिएर पटमूर्ख बन्दै मेरा ससुराली यस्ता र त्यस्ता भन्दै धाकैधाकको थाक लगाउने जिराहा पिराहा जुवाइँ ससुरालीको कोक्याउने सिदाको पोल्टामा पोको परेको पत्तै पाउँदैन । घ्यू, भात, मीठो–मसिनु, कवाफ रवाफ र ससुरालीको दूध कुवाको पानी पिउँदा पिउँदा जुवाइँको तिख्खर मष्तिस्क एकाएक मन्द, सुस्त, शिथिल र भुत्ते भइसकेको हुन्छ । अतः जुवाइँले यस लोकमा चिन्ने जान्ने र मान्ने भनेकै श्रीमती, ससुराली, साला, साली अर्थात् आफू र अत्यन्त आफ्नामात्रै । यस्ताका दृष्टिमा अन्य मानव श्रीखण्ड भए पनि खुर्पाको विँडसमान । यस अवस्थामा आजका चतुर, चौखुरे र चलाख जुवाइँ ‘ससुरालीको सिधा सधैलाई विदा’ गर्न बाध्य, विवश र व्यग्र छन् यसमा अन्यथा नठानी दिनुहोला । किनकि म पनि उही ड्याङ्को मूला त हुँ ।
फित्कौली १५, २०६४, भदौ
Subscribe
Login
0 Comments
Oldest








































