साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशी

Nepal Telecom ad

पहिलेनै खरिद गरिसकिएको तर बिक्रेताले खरिदकर्तालाई जग्गा बढी छ बढी जग्गाको पैसा नपाइ घर छोड्दिन भनेर धिङ्न्याइ गरि हस्तान्तरण गर्न आनाकानी गरिरहेको विवादित घरकम्पाउण्ड् फेरि नापजाँच गर्ने भनेर उपस्थित भएको थिएँ म पनि राजधानिकै नक्सालक्षेत्रमा ।

खरिदकर्ता, बिक्रेताको वकिल, घरजग्गा बिक्रेता तथा खरिदकर्ताको सामन्जस्यता गराउने मध्यस्थकर्ता अर्थात् जग्गा दलाल तथा जग्गा बिक्रेताको घरको काम गर्ने कामदार अर्थात घरेलु नोकर तोकिएको समयभन्दा पनि केही ढिलो गरि उपस्थित भैसक्ता पनि जग्गा नाप्ने अमीन तथा जग्गा बिक्रेताको भने अत्तोपत्तो थिएन ।

काम सुरु भै नसकेकाले खरिदकर्ताले असजिलो मान्दै भन्यो– “के गर्न खोजेको होला यो मान्छेले ! जग्गा बेचेको पनि आठ–आठ महिना भैसक्यो अहिले आएर जग्गा बढी छ, नापेर पैसा लिन्छु भन्छ । रजिष्ट्रेसन पास भएको आठ महिना पछि जग्गा नापी रहनु केही औचित्य छ र ! हामीलाइ दुख दिइरहेको ?”

म केही बोल्न नपाउँदै बिक्रेताको नोकर अघि सरेर बम्कियो– “के रे ! हामीले आफ्नो जग्गा किन नाप्नु पर्यो अरे ? के भन्न खोजेको हामीले हाम्रै जग्गा नाप्न नपाउँने ?”

खरिद्कर्ताको अल्लारे उमेरको छोरो पनि बिक्रेताका नोकरको हेपाहा कुरा सुनेर रनक्क रन्कियो र भन्यो– “कसरी भयो तिम्रो जग्गा ? लालपूर्जा देखाऊ त तिम्रो हो भनें ।”

क्रेताको छोराले आफूलाई होच्याएर बोलेकाले बिक्रेताको नोकर क्रेताको छोरालाइ कुटौला झैं गरेर झम्टियो । हात हालाहालको स्थितिनै आउने छनक देखिएपछि म दुवैजनाको बिचमा उभिएँ र बिक्रेताको नोकरलाइ भनें– “किन यति साह्रो रिसाउनु भएको केशव दाइ ? हामी यहाँ विवाद गर्न भेला भएका हौं र ?”

“मैले के नचाहिने कुरा गरें ?”– क्रेताको छोरो पनि सामान्य भएन । अनि मैले उसलाई पनि विवाद बढाउन रोक्ने उद्देश्यले भनें– “तिमी पनि एकछिन चुप लाग त गोविन्द ।”

नभन्दै गोविन्द पनि चुप लाग्यो मेरा कुरा मानेर अनि मैले केशवलाई भनें– “यस्तो रिसाउनु पर्ने के कुरा भो र ! दाइ ?”

“सुन्नु भएन यो बोलेको ?” –ऊ उसैगरी उत्तेजनामै बोल्यो र फेरि गोविन्दलाई झम्टिँदै भन्यो– “मसँग बोल्दा अलि बिचार गरेर बोल नि ।”

उत्तेजनामा गोविन्दले केही बोलिहाल्ला र विवाद झन सङ्ग्रालिएला भनेर मैले औँलाको इसाराले चुपलाग्न इसारा गरें र केशवलाई सम्झाउने उद्देश्यले भनें– “गोविन्दको लवजले तपाइँलाई होच्याए जस्तो लागेको होला तर कुरा त्यसो हैन दाइ, तपाइले मारवाडीका मुखबाट हामीले बोल्नेजस्तो लवजको आशा गर्नु भएकाले समस्या परेको हो त्यसैले गोविन्दका कुरालाई अन्यथा न लिनुहोस् ।”

मेरा कुराले ऊ एकछिन बोल्न सकेन र त्यसैबेला अमीन पनि आइपुगेकाले मलाई वातावरण सहज भयो अनि मैले जुक्ति लगाएर कुन पर्खाल आफ्नो हो कुन अर्काको भनेर अमिनलाई देखाइ दिनु भनेर केशवलाइ अह्राएँ र संग्रामस्थलबाट हटाएँ ।

जग्गा बिक्रेता अझै आइनपुगेकाले गोविन्दले सोध्यो– “हामीलाइ यो जग्गा बेच्ने मान्छे कहाँ बस्छ र समयमा आइनपुगेको दाइ ।”

“खै ! अहिले चैं कहाँ बसेको छ थाहा छैन तर खासमा चैं ऊ लण्डनमा बस्छ र यहाँ भएका यसका सबै कलकारखाना बेचेर लण्डन लगिसक्यो अब यहि एउटा घरमात्र बाँकी रहेकाले बेचेर पैसा लान आएको नि !”– मैले जानेसम्मको उत्तर दिएँ ।

“मान्छे त हुनेखाने नै रहेछ त किन यो नभएको जग्गा छ भनेर हामीलाई तङ्ग गरिरहेको छ त यसले ?” –उसले अर्को प्रश्न थप्यो ।

“विदेशी भनेर हेपेको नि नोकरको फूर्ति मात्रैले पनि त्यति थाहा पाइनस् र ?” –मैले बोल्नु अगावै गोविन्दको बाबुले उत्तर दियो ।

बाबुको कुरा सुनेर गोविन्दले अमिलो अनुहार बनायो र सोध्यो– “चारपुस्तादेखि यहि देशमा बस्ने र बाहिरबाट लगानी ल्याएर यो देशको पुँजी बढाउँने हामी कसरी विदेशी दाइ ? देशको माया गरेर बाहिरबाट लगानी जुटाइ जुटाइ जस्तै सङ्कट पर्दा पनि देश नछोड्ने विदेशी हुन्छ कि यो देशबाट पुँजी बाहिर लगेर देश छोड्ने विदेशी हुन्छ दाइ ?”

मैले गोविन्द अग्रवालको उत्तर दिन सकिन ।

गौरादह– १२, झापा 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x