सुलसुलेअविरल यात्रा– २२ मा कवि डंगोल
काठमाडौं, ०७२ माघ ८ । राष्ट्रिय जन सांस्कृतिक महासंघको सभाकक्षमा राष्ट्रिय जन सांस्कृतिक महासंघको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा संयुक्त रूपमा ‘अविरल जन साहित्य यात्रा–२२’ सम्पन्न भयो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रा.राजेन्द्र सुवेदी, विशेष अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जन सांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई उपस्थित हुनु हुन्थ्यो । अतिथिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ डा.अमर गिरी, नेकपा एमाले केन्द्रीय लेखा समिति सदस्य गोपाल बराल, प्राज्ञ उपेन्द्र पागल, सांसद तथा महासंघकी उपाध्यक्ष मधु गुरुङ, प्राज्ञ गायत्री विष्ट, वरिष्ठ साहित्यकार रामप्रसाद प्रदीप, साहित्यकार श्रीहरि फुयाल, राष्ट्रिय जन सांस्कृतिक महासंघका का.वा.महासचिव प्रेमनाथ अधिकारी, जन साहित्यिक मञ्च काभ्रेका अध्यक्ष लक्ष्मण सापकोटा, महासङ्घका सचिव कृपाराम धमला र सहकोषाध्यक्ष जङ्ग पहाडी उपस्थित हुनु हुन्थ्यो ।
प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले कार्यक्रमका प्रमुख नायक प्रखर प्रगतिवादी युवा कवि आर.एम.डङ्गोललाई सम्मान पत्र अर्पण गर्नु भयो । विशेष अतिथि खगेन्द्र राईले टीका लगाइ दिनु भयो भने सभाध्यक्षद्वारा माल्यार्पण गरी समारोहमा स्वागत गरियो । त्यसै गरी उहाँलाई कविता वाचनमा सहयोग गर्ने कविहरू डा.विष्णु के.सी., टङ्क उप्रेती, प्राज्ञ शशी लुमुम्बु, प्रोल्लास सिन्धुलीय, पुरु लम्साल, शकुन्तला जोशी र कवि आर.एम.डङ्गोलकी जीवन सङ्गिनी सन्तुलाई मञ्चमा आसन ग्रहण गराइयो ।
समारोहमा नायक आर.एम.डंगोलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालका उपाध्यक्ष रमेश पोखरेलले मूलतः कवि त्यसपछि समालोचक र निबन्धकार आर.एम.डङ्गोलको व्यक्तित्वलाई तिन भागमा बाँड्न सकिन्छ भन्नु हुँदै उहाँको पहिलो र प्रमुख व्यक्तित्व भनेको कवि व्यक्तित्व हो भन्नु भयो ।
कवि आर.एम.डङ्गोलले कविता लेखनको पृष्ठभूमिको जानकारी गराउँदै ‘अन्तर’ ‘म माझी’, ‘अखबारमा देश’, ‘घर बनाउँदै गर्दा’, ‘घडी समय’ र ‘जिन्दगीको उकालो’ शीर्षकका छ ओटा कविता वाचन गर्नु भयो । सहयोगी कविहरू पुरु लम्सालले ‘जुनको कथा’, शकुन्तला जोशीले ‘यस्तो एउटा अवसर’, डा.विष्णु के.सी.ले ‘जीवन सङ्गीत’, टङ्क उप्रेतीले ‘ढोका बनाएर आफैँलाई’, प्राज्ञ शशी लुमुम्बुले ‘लामो लाममा लामबद्ध भएर’, प्रोल्लास सिन्धुलीयले ‘गुनासा’ शीर्षकको कविता वाचन गर्नु भयो ।
वरिष्ठ प्रगतिवादी साहित्यकार, प्रगतिशील लेखक संघका अध्यक्ष एवम् प्राज्ञ डा.अमर गिरीले राष्ट्रियताका पक्षमा वकालत गर्दै समकालीन राजनीतिक विकृति र विसङ्गतिमाथि कवितामा सशक्त प्रहार गरिएका, जातीय र लैङ्गिक विभेदमाथि प्रहार गर्दै रूपान्तरणको आग्रह गरिएका कविताहरू काव्यात्मक संवादका दृष्टिले अब्बल रहेको बताउनु भयो ।
प्रमुख अतिथि प्रा.राजेन्द्र सुवेदीले आफूल भोगेको सम्वेदनालाई शिल्पमा सजाउन सक्नु कविको क्षमता हो भन्दै देशबाट युवा पलायन हुनु भनेको देशको सामाजिक सांस्कृतिक अधोगति हुनु हो र यस्तो गम्भीर पीडालाई पनि डङ्गोलले कवितामा सुन्दर ढङ्गले व्यक्त गरेको उल्लेख गर्नु भयो ।
सभाध्यक्ष राम विनयले फागुन महिनाको कार्यक्रममा मिश्र बैजयन्ती र देवी नेपालमध्ये कुनै एकलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो । गोष्ठीमा जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा विन्दु शर्मा तथा मञ्चका सल्लाहकार डा.नेत्र एटमका बुबाको देहावसान भएकोमा हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरिएको थियो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































