महेश थापाआकाशको भार
जङ्गलमा एउटा बाघ थियो । बाघको मुड एकदम अफ देखिन्थ्यो । हाम्ले सुनेको एकादेशका कथाहरूमा बाघ जङ्गलको राजा हुन्थ्यो । राजकीय लफडा बोकेको बाघलाई नानाभाँती भाउँतोले पिरोल्नु स्वाभाविक भए पनि भर्खरै पशुतान्त्रिक गणतन्त्र घोषित जङ्गलमा बाघको मुहार यतिबिघ्न निन्याउरो देखिनु उदेकलाग्दो थियो । किनकि, खाँदा होस् वा नखाँदा, बाघको मुख त हरहमेसा रातै हुनुपर्ने ! तर, थिएन ।
फुस्रो अनुहार लगाउँदै ऊ घरी माथि हेथ्र्यो, घरी थुम्कोमा उभिएर वरिपरि नजर डुलाउँथ्यो । अनि झन्झन् उसको मुहार ओइलाउँदै जान्थ्यो । सबै बाघ राजा हुन्नन् । खप्पराँ राजयोग बोकेर आएको बाघलाई मात्र राजा बन्ने साइत जुर्छ । अहिले विषादको सागरमा गोताखोरी गरिरहेको बाघको जीवनमा पनि राजपाट सम्हाल्ने अवसर आयो ।
लेखान्तको खेला हेर्नुस्, बाघलाई गद्दी फापेन । बाघले विरासत धान्ने कौशल नदेखाउँदा जङ्गलबाट बाघतन्त्र छुमन्तर भएको फत्तुर कस्दै जोरीपारीले खिसिटिउरी गरे । अन्जानमै सही, प्राय बाघहरू नै पशुतन्त्रको संवाहक हुन्छन् । पशुवत्सल हुन नसक्दा बाघहरूको तन्त्र अक्सर मन्त्र र षड्यन्त्रको सिकार भई विलुप्तिको संघारमा पुगेको जङ्गली इतिहासले बताउँछ । नत्र, सयवटा छुचुन्द्रोको कत्रङ–कत्रङ सहन छाडी टिउरे पशुहरू एउटै सिंहको गर्जनमा आजपर्यन्त रत्तिएर बस्थे होलान् !
के बाघ राजपाट गुमाउनुपरेकोमा चिन्तित थियो ? रूपमा हेर्दा त्यस्तो लाग्दैन, परन्तु मनको कुरा भगवान् पशुपतिनाथ नै जानून् ! जङ्गलमा मृग, हरिण, खरायोलगायतका निमुखा जीवको जीउधन सुरक्षित नभएकोमा बाघ लास्टै सुर्ताएको थियो । चितुवा, ब्वाँसो, स्याल, चील, बाज आदिको दपेटाइबाट सोझा र दुर्बल पशुपक्षीको दीनहीन अवस्था देखेर दिक्दारिंदै बाघले भन्यो– यो त जङ्गलराज भयो । तपाईंको मनमा अङ्खोटे प्रश्नले घर गर्ला, ‘बाघ बित्थामा स्वाङ पार्दैछ, जङ्गलाँ जङ्गलराज नचलेर के रामराज्य चल्छ ?’
हुन पनि, भोजन बन्ने निर्धा जीवहरूको अनुपात उलार हुने तहमा नझ्याङ्गिएसम्म हिंस्रक र मांसभक्षी जनावरहरूको अस्तित्व निशेष हुने जुलुम रहन्छ ! एकाध शेष रहँदा पनि गुजेस्ताको धपेडीबीच तिनको ज्यानमरिचझैं चाउरिने खतरा हुन्छ । अन्यत्रको खसोखास खबर पतान भए’नि यस जङ्गलमा सदियौंदेखि यस्तै थिति चल्दै आएको हो । बलियाले निर्धालाई छाँस्ने, टाठोले सुधोलाई ख्याँच्ने क्रम निरन्तर रह्यो । त्यसैले, बाघ महोदय स्वयंको शासन पनि यसको अपवाद थिएन । सिंहासनको चकाचौंधमा रहुन्जेल बाघलाई मालुमै भएन, रैतीहरूको कष्ट । सत्ताको मद त्यस्तै नै हुँदो हो, बाघलाई मात्र नलाग्नुपर्ने कुनै कारण थिएन ।
हिङ बाँधेको टालोले त अड्को फड्को टार्छ भने बाघ आखिर बाघै हो । जङ्लको राजा भएको लिगेसी भिरेको । अत राजपाट गुमे पनि बाघसँग छत्रे, हुक्के, बैठके, सुसारे, दरवान, भारदारहरूको कुनै कमि थिएन । बाघ जता गयो, त्यतै भारदारी बस्थ्यो, अनि आउरे भाउरे र धुपौरेहरू मण्डलीले कर्तल ध्वनिसहित बाघको जय–जयकार गथ्र्यो । आफ्नो नाम अलापेर हारगुहार गरिरहेका दुखियाहरूलाई देख्दा बाघको मन द्रवित भएर आउँथ्यो । अनि साउने झरीमा जरुवाको पानी हुलुक्क उम्लिएजस्तो बाघको हृदयसागरबाट दयाको धारा कलकल बहन्थ्यो । उता, भारदारी सभाले विगतमा झैं उखुमसँग धुपौरेकर्म गथ्र्यो र भारदार निसृत धुमलाई नीलकण्ठले माफिक गटक्क पारे’सि बाघ झन्झन् बैरागिन्थ्यो ।
‘जङ्गलमा यस्तो कोलाहल किन ?’ भारदारी चलिरहेको बेला अचानक कान ठाडो पार्दै श्रीमान् बाघबाट सोधनी भयो । ‘भोक र प्यासले व्याकुल जनावरहरूको चित्कार हो, महाराज !’ रत्नादि जडित राजसी हुक्काको पाइप थमाउँदै चङ्खे स्यालले बिन्ती र्गयो । ‘पहिले दरबारमा छँदा पनि यस्तै स्वर सुनेजस्तो लाग्छ,’ दिमागमा जोड लगाउँदै बाघले विगत सम्झन खोज्यो । ‘त्यो त हजुरको जयगानमा ओइरिएको गुञ्जन थियो, राजन् !’ हुँडारले हात मोल्दै भन्यो । चाँदीले मोरिएको पाइपबाट लामो कस तान्दै बाघ एक छिन घोत्लियो ।
‘ऊबेला तिनले अहिलेजस्तो भोकै र प्यासै बस्नुपरेको त थिएन ? ओखती नपाएर जनावरहरूले अकालमा टिकट काटेका त थिएनन् ?’ बाघले आँखा चम्किलो पार्दै सोध्यो । धुपौरेहरूले एक छिन मुखामुख गरे । सभामा आसीन भारदारहरूबीच खासखुस चल्यो । ‘आकाशरपाताल फरक छ, दयानिदान !’ परिस्थिति सम्हाल्न ब्वाँसो अग्रसर भयो, ‘भोकैरनाङ्गै भए पनि त्यसताका झुलेलालहरू आनन्दीभावका साथ महाराजको स्तुति गाउँदै झुमिरहेका थिए ।’ आँखा चिम्लेर बाघ एक छिन चिन्तनशील मुद्रामा देखियो । सायद, ऊ आगत भुलेर विगततिर विचरण गरिरहेको थियो । उसको मुहारमा कान्ति छायो । ‘निगाह बक्स होस्, कृपानिदान ! यस वनका जल, थल र उभयचरसहित समस्त चराचर अहिले बाघ भरोसे भएको हुँदा अकिञ्चनहरूको बेडा पार लगाइदिनुपर्यो,’ भारदारहरूको सामूहिक आर्तनादले बाघको तर्कना बिथोलियो ।
बाघको राजसी मनमा केही गर्ने अठोट पलायो । फटफट पार्दै उसले खुट्टा चलायो र जीउ तन्कायो । ‘गर्न त गर्ने, तर क्यार्ने होला ? सिंहासनमा विराजमान भएका बखत त खास केही लछार्न नसकी बबुरो भइयो, अहिले बेगारीमा टन्डेली मार्दै दिन कटनी गर्नुपरेको कुसाइतमा के पो गर्न सकूँला ?’ भन्ने प्रश्नले मस्तिष्कलाई ड्याङ्ग हिर्काउँदा फेरि बाघको मुहारमा उदासी छायो । ‘गुहार प्रभो, गुहार !’ भारदारहरू चिच्याए, ‘यहाँ फस्टाएको पापाचार त फोसा बराबर महाराज, हजुरको टेको नपाउँदा आकाशै खसान् भई सिङ्गो वन झिरिप् हुने जोखिम मडारियो ।’ ‘यो आकाशको भार पनि मैले नै बोकेको थिएँ ?’ किञ्चित आशंका र उदेकको साथ मास्तिर हेर्दै बाघले सोध्यो । ‘यता नजर फिराइबक्स्योस्, महाराज !’ खोलाको बगरमा मुन्टो गाडेर खुट्टो ठाडो पारिरहेका हुटिट्याउँहरूतर्फ देखाउँदै चितुवाले धुपौरो सल्कायो, ‘हजुरले काँध छाडेयता यिनै फिस्टाहरूले आकाश थेग्ने चेष्टा गरिरहेका छन्, तर यिनको बुताले धेरै बेर थामिने छनक देखिन्न ।’
बाघले गम्भीर हुँदै आकाशतिर नजर डुलायो । आकाशमा काला र सेता बादलहरू घना थिए । दिन धुम्मिएको थियो । यस्तो मौसम यो जङ्गलले विगतमा पनि नखेपेको होइन । तर, धुपौरेहरूले बेस्कन धूवाँ जो फैलाएका थिए, बाघलाई आकाश खस्न लागेझैं महसुस भयो । ‘महाराज !’ धुपौरेहरूले अत्तालिंदै वातावरणलाई अन्धमुिष्ट पारे । धूवाँको कुहिरी मण्डल क्षितिजसँग एकाकार भएझैं प्रतीत भयो । हतपतिएको बाघले हुटिट्याउँको नक्कल गर्दै खुट्टो आकाशतिर फर्कायो र सोध्यो, ‘थेगियो ?’ ‘महाराजको जय होस् ! अरू एकरडेढ कुरेत तन्काइबक्स्योस्,’ भारदारहरू हौसिए । ‘अहिले ?’ बाघ पूर्णत शीर्षासनमा थियो । ‘अब त खसिहाले पनि केही गम छैन, हजुरको अडेसो जो मिल्यो !’
भारदारहरूले राहतको सास फेरे । बाघको नडिया दशा देखेर टाढा बसिरहेका मृग, खरायो आदिलाई टीठ लाग्यो । तर, बाघलाई बताइदिने कसले ? आकाश साबिक स्थानमा थियो, छ र रहनेछ । राजा हुँदा होस् वा नहुँदा, तजबिजमा चल्ने बाघे झापुको सन्त्रासबाट कोही उन्मुक्त हुन्न ।
कान्तिपुर, माघ १०, २०७२
Subscribe
Login
0 Comments
Oldest






































