साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कले पीडित

Nepal Telecom ad

सञ्चारमाध्यममा अचेल नक्कली भूकम्पपीडितको चर्चा उफानमा छ । असली र नक्कलीको विवाद सनातन भए पनि नयाँ नेपालमा यसको घेरा नामेट हुने सँघारमा पुगेको देखिन्छ। किन कि, नक्कलीको बिगबिगी बीच असलीको अस्तित्व स्यालको सिङ हुन पुगेको छ । असलीको ज्यान टोड्केमा फस्दा छनोटको लफडाबाट निजात मिलेकै हो । नक्कली माल हाम्रा लागि खासै समस्या नभए पनि यसपालि नक्कलेहरूले चाहिं सोचनीय अवस्थामा पुर्याए । नक्कलेहरूको चित्कार र क्रन्दन यति जीवन्त हुन्छ कि सक्कली पीडितले आफूसँग भएको झोरझार दान नगरी धर पाउँदैन ।
सरकारले भूकम्पपीडितका लागि न्यानो कपडाको स्कीम सार्वजनिक गर्नासाथ घरबेटी साहूजी छटपटीमा देखिए । आफ्नो चमचमाउँदो जीपको हुटाँ राहतको जस्तापाता ल्याएर कुकुरको खोर बनाउन भ्याएका साहूजी पेट्रोल अभावले गाउँ पुग्न नसकेर दशहजार नगदी उम्किएला भनी पिल्सिएका रहेछन् ।

“तपाईं पनि भूकम्पपीडित ?” उनलाई तिर्न बक्यौता रहेको भाडा सम्झँदै मैले प्वाक्क सोधें ।

“शहरको घरबार साबुत बसेर के भो ? तन शहरमा भए’नि मन त मेरो गाउँमै छ । भूकम्पले बारीको टौवा भत्काइदिंदा कम्ता चोट परेको छ !” साहूजीले आँखा तर्दै भने ।

कालोबजारबाट तेलको जुगाड लगाई रातो जीपमा दनदनाउँदै गाउँ हान्निएका साहूजी फर्कंदा पहेंलिएका थिए । राहत वितरणको मिति सर्दा रित्तोहात फर्कनु परेको वियोगमा फुस्रिंदै उनले छाती पिटे– ’यस्तो वैमान देशमा बरा पीडितले के राहत पाउँथ्यो !’

साहूजीको पीडाबाट प्रष्ट भयो– भूकम्पपीडितको संख्या आकाशिएको देखेर जिल्लिएका बूढा ब्रह्मा इन्तु न चिन्तु भई ढलेको हल्ला, हल्ला मात्रै रहेनछ । अनेक झयाउलो बेहोरेर बूढाले चलाइरहेको सृष्टिको कारखानाको उत्पादकत्व ह्रासोन्मुख हुँदा कतिपय जीवरवनस्पति धरतीबाट लोप भइरहेका छन् । तर, आफैंले रचना गरेका छट्टुहरूले आँखा झिमिक्क पार्न नभ्याउँदै नक्कली घर, परिवार मात्र नभई टोल र बस्ती नै उमार्दा बूढालाई अवसाद हुनु स्वाभाविकै हो ।

पछिल्लो जनगणनाको तथ्यांकलाई नै लप्पू ख्वाउने गरी भ्याटभ्याट्ती घर र टोलहरू उम्रिरहेका छन् । जनगणनामा उल्लिखित भन्दा पनि धेरै घरमा पूर्ण क्षति–आंशिक क्षति हुनुले हाम्रो असन्तोकी मतिलाई दुनियाँको मुखिन्जेल छारस्ट पारेको छ । किन कि, पछिल्लो तीनरचार वर्षको बीचमा आफ्नो नाकै मुन्तिर भइरहेको तीव्र विकासलाई हाम्ले ठम्याउन भ्याएकै रहेनछौं ।

भदौरे झरी झैं झयार्र–झयार्र बर्सिने भूकम्पपीडितको वास्तविकता पर्गेल्न नसकेकोमा कर्मचारीतन्त्रलाई धारे हात लगाउनु सरासर बेमानी हुन्छ । फिल्डाँ मुचुल्का उठाएर ल्याए’सि थप खोजतलास गर्न तिनको धर्मले दिंदैन । हाम्रा कर्मचारीगणले अहिलेसम्म जानेको, देखेको र गरेको भन्नु नै कागजी कर्म हो । योजना, निर्माण, अनुगमन, फर्छ्योट सबै कागजी हुँदा मात्र कुश्तसँग कागजीनोट पोल्ट्याउन पाइन्छ । तसर्थ, सर्ज्मिन र मुचुल्कामाथि आशंका गरेर आफ्नै खलियानमा डढेलो झोस्ने बेवकूफी कसले गरोस्, लहरो तान्दा पहरो गर्जिने जोखिम जो रहन्छ !

फेरि, नक्कलेहरूको नखरा पनि पन्छाई नसक्नुको हुन्छ । हठात् पारपाचुके गरेर पनि विछोडिन नसकी एउटै गुँडमा गुजारा गरिरहेका परेवा जोडी दुईसरो ‘न्यानो कपडा’ पहिरिवरी सरकारी अड्डामा ढिम्किए । भवन निर्माणार्थ सरकारले उपलब्ध गराउने भनिएको दुई लाख रुपैयाँबारे संयुक्त सोधखोज गरे। रकम बुझन लास्टै औंताएका दम्पतीले तीनथान अग्रिम अर्जी हाल्दा अधिकारीलाई रनाह छुट्यो । टुकुटुकु हिंड्ने छोरोलाई देखाउँदै दम्पतीले प्रष्ट्याए, “भएको एउटै पिउसो पनि छुट्टिएर बस्न थाल्यो। अंशबन्डाको प्रमाण र अन्य आवश्यक कागजात साथै नत्थी गरिएको छ ।” लिखितम्को अघिल्तिर देखितम्लाई भाउ दिएर धर्मच्यूत हुन कर्मचारी वृन्दलाई अप्ठ्यारो पर्ने भएकाले बुझकी बनी त्यसलाई सप्ठ्यारोमा बदल्नु सकल नागरिकको कर्तव्य हुन आउँछ ।

नक्कलेहरूको नौरंगी झक्कल र सरकारी अक्कलको सेपमा परी असली भूकम्पपीडित राहत तथा पुनःनिर्माणको सिनबाट ओझेल पर्ने खतरा टड्कारो देखियो । पुनःनिर्माणको गह्रूँगा स्कीम उद्घोष हुने क्रमसँगै अनेक तिकडम भिडाएर नक्कली पीडितको सुनामी उर्लिने देखल छ ।

अनैतिकहरूको भीडलाई रोक्न जम्लाहात जोड्दै नैतिक बन्धनको दुहाई दिनुको अलावा निम्छरो राज्यसँग उपाय नास्ति नै होला । बेघरको छाना, कठ्याङ्ग्रिएकाको नाना, भोकाको खाना र पीडितको राहत हसुर्न शरम नमान्नेहरूलाई सबै मिली एकमुष्ट आसिक दिऊँ– दुई गाँस खानपुगे’नि माग्न चाहिं कहिल्यै नटुटोस्, तिनको जुनी मगन्ते बनेरै बितोस् !
हिमाल खबर पत्रिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x