साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेट्स ट्राई, प्यारे !

Nepal Telecom ad

निरन्तर देख्दै, भोग्दै र खेप्दै आइएको एक जोगीले अचानक आफूलाई ‘नयाँ’ दावी गर्दा दिल थाम्नै मुस्किल परेको छ ।
दचदअनुयायी र पन्डालको रूपरङ बदलिए’नि कान चिरिएका बाबाजी उही छन्, अनि कसरी नयाँ ? थुप्रैपल्ट दीक्षा बाँड्दै भीक्षा कुम्ल्याएर हिंडेका बाबाजीसँग मैले जिज्ञासा राखें, “तपाईं कसरी नयाँ ?”
“मेरो कौपीनको रङ बदलिएको देखेनौ ?”
“कुन कौपीन ?”, म उदेकिएँ ।
“रातोको ठाउँमा सेतो देख्दैनौ, बेवकूफ !”, बाबाजी अलिक राँक्किए ।
“हजुरको तनमा कौपीनबाहेक अर्थोक सबै उदाङ्गो छ, बाबा ।”
पहिले त उनी हडबडाउँदै हत्केलाले लाज ढाक्न तम्सिए, त्यसपछि अविलम्व सम्हालिँदै भने, “पटमूर्ख, यो त विशिष्ट प्रकृतिको पारदर्शी कौपीन हो ।”
’नागाबाबा कि जय !”, भीडमा एक जना रमिते कराए ।
“नागा होइन, बोलो नयाँ बाबा कि जय !”, अनुयायीहरूको डफ्फा कुर्लियो ।

दक्षिण अमेरिकामा जीका भाइरसले उत्पात् मच्चाइरहेको बेला नेपालमा पनि नौलो महामारीको खतरा देखिएको छ । ‘एन्टिक आइटम’मा समेत केही ‘नयाँ’ लछार्ने उखुम पैदा गराउने कीटाणुको संक्रमण बढ्दा नौला मनचलाहरू यत्रतत्र भेटिन थालेका छन् ।

उसो त, नेपालमा ताजा मिति र लेबल चढाइएका कवाड जिनिसले बजार पिट्नु कुनै नयाँ लफडा हैन, तर ‘रिसाइकल’ नै नहुने गरी थोत्रिएका मालमा नयाँ जलप चढ्नु आफैंमा कम चाखलाग्दो छैन । त्यसमाथि, यी बाबाजीले आफ्नो मण्डलीलाई शक्तिपीठ भनेका छन् ।

पन्डाजति सबैको पन्थ चल्दो हो त दुनियाँमा पन्डा र पन्डालमात्र गोचर हुन्थे, को बन्थ्यो पन्थी ? शक्तिपीठ बन्न त भक्तजनमाझ् परीक्षित भई समर्थन र विश्वास जितेर ल्याउनुपर्ने होइन र ? यसरी ‘अपने मने दुर्गाप्रसाद’ बन्दा भक्तहरूले भोलि भीक्षा नदिई रित्तोराम बनाए दोजात्रा न होला र ?
‘हाम्रो यज्ञ दुनियाँमा सबै पापाचार मास्ने महायज्ञको अन्तिम किस्ता हो’ भन्दै हजारौं अदनालाई चरुझैं होमेर अर्को अनुष्ठानको ताउरमाउर गर्ने बाबाजी खोकन्दासमात्र नभई उपियाँमार्गी पनि परे कि जस्तो लागेर मर्छ ।

मध्यमार्ग भनेको बिनापिंधको लोटा भएकाले मान्छेको अस्तित्व उत्तरी वा दक्षिणी गोलार्धमा मात्र हुन्छ’ भनेर खोकेका बाबाजीले आफू अन्तरिक्षमा भौंतारिने क्षुद्र ग्रह माफिक पेन्डुलम देखिंदा पनि पृथ्वी नामक गोला भ्रम र आफू सत्य भएको दावा ठोक्दैछन् ।

वाममार्गी बाबाले तान्त्रिक साधनाको बलमा अदृश्य टेकोमाथि आसन ठड्याएका हुन सक्छन् । चित् र पट् दुवै लबालब पार्ने यस्तो छटाकको ढिठ्याइँलाई जस्तै दुर्मुखाले पनि सलामी अर्पण नगरी धर पाउँदैन ! परन्तु, हत्पते बाबाजीले हिजो वा आज फुकेकोमध्ये कुन मन्त्र उल्टी, कुन सुल्टी भन्ने धुइरे प्रश्न उठेको छ ।

“पाँच वर्ष गुरु थाप, चमत्कार देखाइदिन्छु”, बाबाजीको आग्रह आइलाग्यो । सुन्धारामा भीडलाई अल्मल्याएर जन्तर बेच्नासाथ रत्नपार्कतिर लस्किने छट्टु पारा सम्झेर मैले झवाट्ट सोधें, “पाँच वर्षमा केही लछारिएन भने ?”
“अर्को पाँचवर्ष थप्दा तिम्रो के जान्छ ?”
“त्यसमा पनि उही गोलघप्पा भए ?”
“ज्यादा माथापच्ची नगरी यो चोला बाबाजीको चरणकमलमा अर्पित गर, वत्स !”

वरिपरि ‘नयाँ’ भाइरसबाट संक्रमितहरू बाक्लिँदा छन् । तीमध्ये ‘सेकेन्ड इनिङ’मा प्रवेश गरेकाहरू बेसी छन् । शिव शर्मालाई गोमा भित्र्याउने हतारो भएजस्तो ढल्कँदो जोवनको लालसा थामिनसक्नु देखिन्छ । बराहरू जवानीमा घिच्याउन नसकेका पदार्थ प्राप्तिका लागि सय मीटरको दौड लगाउने तयारीमा छन् ।

उता, तन्नेरी भनाउँदा जुल्फीवाला तुइलामेहरूको भीडमा कोही–कोही सिन्का भाँच्दा सफल भएको गुमान बोकेकाहरू देखिन्छन् । वहुलता भने तिनैको छ, जो जीवनभर हाड घोट्दा पनि केही लछार्न नसकी फिटफिटिएका छन् । अनि तिनका कुण्ठाले बेपत्तासँग निकास खोजेको छ ।

मान्छेका दमित इच्छालाई थुनछेक गर्दा विष्फोटक रूप लिने मनोवेत्ताहरूको कथन भएकाले नेपाललाई ‘ट्राई होम’ बनाऔं, जहाँ पन्डागिरी चलाउनेदेखि बितण्डागिरी गर्नेसम्मका छाँटछाँटका जमुरेहरूले नेपालीलाई प्रयोगशालाको भ्यागुतो माफिक ‘बूचरी’ गर्न पाउन् ।

एउटा जन्डुले समाजमा कति पटक प्रयोग गर्न पाउँछ ? भन्ने लाउकेहरूलाई विश्वका महानतम् आविष्कारकहरूले ल्याबमा खाएको गुल्टिङ सम्झाए पुग्छ । समाजलाई प्रयोगशाला बनाउँदा लाखौं करोडौंको जीवन सिरीखुरी हुने भन्दै खोंचे थाप्ने अङ्खोटहरूलाई बाल दिनु पर्दैन, किनकि यो देश फगत एउटा प्रयोगशाला हो । त्यसैले, लेट्स ट्राई, प्यारे !

हिमाल, २७ माघ २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x