माणिकरत्न शाक्यछिमेकी नम्बर– २
घर बनाउन सजिलो हुन्छ कि भनेर मैले जग्गा नजिकै कोठा भाँडामा लिन पुगेँ । सामान लिएर बस्न आउनुस् भनेको दिन घरबेटी ढोकामा ठस्स परेर उभिरहेकी थिइन् । डेरा सर्नु जस्तो झ्याउलो काम अरु केही हुँदैन, तैपनि करले सर्नुप¥यो । मोटरबाट सामान झारेर भित्र पस्न खोज्दा हाम्रो बाटो छेक्दै भनिन्– ‘यो महिनाको भाडा दिनुस् अनि मात्र भित्र पस्नुस् !’ मैले भने– एकैछिनमा दिउँला नि ! घरबेटीको ठाडो जवाफ– ‘यहाँ बस्ने मन भए खुरुक्क पैसा दिने, अनि भित्र जाने, अरु लामो कुरो म केही जान्दिन !’ भनेर ढोकामा अडान कसेर बसिन् । यता कोठा पाइयो भनेर उता छोडेर आइसकियो, फेरि फर्केर जाने कुरै भएन, बसौं भने घरबेटीको पहिलो व्यवहारमै जान नि नमिल्ने बस्न नि नमिल्ने चेपुवामा परेँ । पैसाले मरेको जस्तो व्यवहार देखाएपछि ढोकाबाट पस्दापस्दै एकमहिनाको पैसा तिरेँ । बाटो खुल्यो अनि मात्र सबै सामान हुलेँ ।
भोलिपल्टदेखि नियमित रुपमा हामीलाई स्कुलको विद्यार्थी जस्तो सम्झेर बिहानै ट्युसन पढाउन आइपुग्थिन् घरबेटी । बिहानै चिया पकाउन म स्टोभमा दम हाल्दै थिएँ । त्यहीबेला एक्कासी घरबेटी आएर थर्काउँदै भनिन्– ‘तपाईको स्टोभले भर्खर लगाएको रङ कालो हुँदैन ? अहिल्यै गएर ग्याँस किनेर ल्याइहाल्नोस्, स्टोभ बालेको थाहा पाएँ भने मैले जान्या छु’ भनेर पुरै उफ्रिन् । पकाएर खान ग्याँस समेत नहुनेलाई बहालमा दिन पुगेछु भनेर आफैले आफैलाई लोप्वा खुवाउँदै थिइन् उनी । एक कप तातोपानी मुखमा परेको छैन बिहानै बिहानै घरबेटीको रामवाण र उनको ब्यवहार टुलुटुलु हेरेर बस्यौँ । सहेर बस्यौँ । हुने मात्र भए बसालेको चिया पनि घोप्टाएर स्टोभ फाँलुला जस्तो गर्दै थिइन् उनी । कहिले के कहिले के भनेको भन्यै, एउटा न एउटा निहुँ झिकेर कराउँथिन् । त्यो पनि सानो स्वरमा हो र टोलै थर्कने गरी । यस्ता निम्नकोटीको ब्यवहार गरेको देखेर हाम्लाई दिक्क लाग्यो । यो क्रम धेरै दिनसम्म रहिरह्यो । पुरै सैनिक शासन लागु हुन्थ्यो त्यो घरमा ।
घरबेटीको व्यवहारले वाक्कदिक्क भएपछि बूढीले मलाई एक दिन भनी– ‘यहाँ बसेर उभो लाइन्न’ । त्यसपछि चाँडै नै घर बनाउन थालेँ । यता आफ्नो जग्गामा बनेको घरले रुप लिएपछि घरबेटीलाई भेट्दै भन्यौ– ‘हामी भोलिदेखि आफ्नै घरमा सर्दैछौँ । घरबेटीले भनिन्– ‘भाइ ! मैले गरेको व्यवहारलाई तपाईले अन्यथा ठान्नुहोला । तर मैले घरबेटी कस्तो हुनुपर्छ भनेर तपाईहरूलाई शिक्षा दिन खोजेकी हुँ । तपाईहरू पनि घरबेटी बन्दै हुनुहुन्छ, डेरावालाहरूलाई मैले जस्तो थर्काएर राख्नुपर्छ भनेर सिकाएकी मात्र हुँ । आफू त स्कुलकी मास्टर्नी परेँ जहाँ गए पनि सिकाउने बानी, त्यही भएर तपाईलाई पनि सिकाएँ । नरिसाउनोस् है !
त्यो घरबेटीकोे घरमा जम्माजम्मी तीन महिना मात्र बस्यौं । उनको कर्करे स्वभावले गर्दा घर चाँडो बनाएर आफ्नै घरमा सर्न प्रेरणा मलाई मिल्यो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































