साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धड्याम्म र नूरा कुस्ती

Nepal Telecom ad

‘बेटवा मंगल
कस लँगोंट आ
जित ले दंगल…।’

हामी गाछी–गाछीमा चढेर ‘फाइनल कुस्ती’को उरन्ठेउलो मजा लिइरहेका थियौं । वीरजितवा, फगुवा, मोहना, कबिरा, परशुराम र बिन्दीलाल इमलीको गाछीको मोटो तनामा चपक्क टाँसिएका थिए भने म छेउको बूढो अम्बाको गाछीको लत्रिएको टुप्पोमा झन्डै झुन्डिएको अवस्थामा थिएँ ।

केही परको धुले अखडामा असरल्ल रमितेहरूबाट घेरिएर दुई अरट्ठे जीउका पठ्ठा पहलमान खम ठोकेर दाउपेचरत थिए ।

मेरा लंगौटिया यारहरूका विपरीत म लाललंगोटधारी भिखना पहलमानको पक्षमा दह्रोसँग लागेको थिएँ । आफ्नो भीमकाय प्रतिद्वन्द्वीभन्दा अपेक्षाकृत केही सुस्त देखिएका भिखना पहलमानले ‘लंगडी दाउ’ लगाएकोले म हौसिएर बेस्मारी कराउन थालें । एक्कासी पुरै लच्किएको अम्बाको हाँगो पिटिक्क भाँचिएर म खस्रो भुइँमा बजारिएँ– धड्याम्म ।

हामीतिरको बाह्रवर्षे मेलामा हुने भव्य कुस्ती प्रतियोगितामा सीमापारिका नामी–नामी भारतीय पहलमानहरू पनि भाग लिने गर्थे । त्यसबेला पहलमानी खेल आफ्नो सम्पूर्ण उचाइमा थियो । प्रख्यात भारतीय पहलमान दारासिंहको ‘वाहवाही’को जमाना थियो त्यो ।

मतलव, दारासिंहको लगभग अजेय पहलमानी दुवैतर्फका सीमावर्ती कसवा (नगर नभइसकेको) मा समान रूपले प्रशंसित थियो । त्यसताका दारासिंहलाई लिएर एउटा विचित्रको हल्ला खुबसँग के चलेको थियो भने भारतीय सिनेपटको नायक भइसकेका दारासिंह असली दारासिंह नै होइनन् । वास्तविक दारासिंह त ‘किलर दारासिंह’ हुन् ।

यो दारासिंहमा एकथान ‘किलर’ विशेषण जोडिएकोमा पनि एउटा आफ्नै प्रकारको किंवदन्ती मार्का भनाइ रहेको थियो । यस अनुसार ‘किलर दारासिंह’ले आफूसँग लड्ने–भिड्ने कुनै पनि पहलमानलाई आखिरीमा नमारी नछाड्ने भएकोले ‘किलर’ भनिएको हो ।

यस किसिमका अनेकन मौलिक किस्सा–उपकिस्साको रोमाञ्चकतामा संलग्न भएर म टोलका साथीभाइहरूसँग घन्टौं अबेरसम्म कुराकानी गरिरहन्थें ।

कुनै एक ठूलै पहलमानको ज्यान लिएकोले ‘किलर दारासिंह’ जेलमा बन्द रहेको भनिन्थ्यो । यसले हाम्रो तिलस्मी टाइपको रमाइलो गफमा धेरथोर नमज्जा थपेको थियो । कुन्नि, दारासिंह र किलर दारासिंहको यथार्थ के थियो !

हामीतिर भने छातावाल पहलमान अर्थात सधैं हातमा लाठीजस्तै एउटा लामो साइजको छाता बोकेर जताततै लुखुर–लुखुर हिंँडिरहने नट्टु पहलमान (मूल नाम मुकुटधारी यादव) को खुबै चर्चा चलिरहेको थियो ।

यी ग्यांचे–ग्यांचे तर असाध्यै नै बटारिएको बलियो मांसपेशीयुक्त हातखुट्टाका नट्टु पहलमानले दारासिंहलाई आफूसँग अखडामा भिड्ने कडा चुनौती दिएका थिए । उनको भनाइअनुसार दारासिंहका साख्खै भाइ रन्छावा पहलमानलाई उनले एक अखिल भारतीय कुस्ती प्रतियोगितामा बनारसको अखडामा तगडा ‘धोवीपछाड’ दिइसकेका थिए ।

यस उप्रान्त भने छातावाल मुकुटधारी यादव उर्फ नट्टु पहलमान खासमा दारासिंह र त्यस समयका उत्तिकै नाम चलेका भारी–भरकम बलशाली पहलमान ‘किङकाङ’लाई अखडामा आफ्नै विशेष स्थानीय दाउले ‘धुल चटाउन’ चाहन्थे ।

मलाई पनि कुस्ती खेलको मनोरञ्जक सम्मोहनले नजानिँदागरी तानेको थियो । हुन त म पहलमानीजस्तो शारीरिक सौखका निम्ति लायक नहुने किसिमले प्रशस्तै दुब्लोपात्लो ठिटो थिएँ ।

कहाँसम्म भने मेरो छाती वरिपरिका सबै करङ एक–एक गरी साफसँग गन्न सकिन्थ्यो । तैपनि मैले एकाध टोलस्तरको कुस्ती खेलमा एकाएक हिस्सा लिई अप्रत्यासित परिणाम ल्याएर टोलबासीलाई देखाइदिएको थिएँ ।

आफूभन्दा दोब्बर शरीरकालाई नराम्ररी ‘पटखनी’ दिएकोमा सबै आश्चर्यचकित थिए । त्यसैले मलाई टोलमा ‘सिंकिया पहलमान’ (दुब्लो—पात्लोको अर्थमा) भनेर बोलाइने गरिन्थ्यो ।

एक दिन मैले हाइस्कुलको एक अनौपचारिक पहलमानीमा (असलमा दुई स्कुले छात गुटको बराबर भइरहने पिटापिट)
दस क्लासको असामान्य ढंगले मोटो जगल्टे पवनियालाई टिफिनको बेला क्लासरुममै पछारेर दुई मिनेटसम्म सिमेन्टको भुइँमा बेस्सरी दलेको थिएँ ।

‘तिमीले गजबै र्गयौ, सिंकिया पहलमान ।’ जगल्टे पवनियाको दादागिरीबाट मुक्ति पाउने भएकोमा मेरा नौ क्लासका सहपाठीहरू ज्यादै खुसी थिए ।

‘म सिंकिया होइन ।’ म विलकुलै नाखुसी थिएँ ।

‘यार, तिमी सिंकिया नै भए पनि के भयो र ?’ सरबनिया र हरेन्दरले अघि बढेर मेरो पिठ्युँमा धाप मार्दै भनेका थिए, ‘साले पवनिया चुतियालाई तिमीले ठिक गरिदियौ ।’

तत्पश्चात म सिंकिया पहलमानकै उपनामले स्कुलको पनि एकलौटी हिरो बनेको थिएँ । मलाई ‘सिंकिया’ भनेर सम्बोधन गरिएको उतिसारो प्रिय नलागे तापनि ‘स्कुले हिरो’ हुनपाएकोले म सन्तुष्ट नै थिएँ ।

(कमरेड प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको लामो भारतीय नाकाबन्दी पश्चातको बहुचर्चित नयाँदिल्ली भ्रमण ‘सफलतापूर्वक’ सकिएर उनको स्वदेश फिर्ती भइसकेको थियो । अब उनी भारतीय नाकाबन्दीलाई जीउज्यानले साथ दिएर आन्दोलन गर्दागर्दै एकाएक थोका मधेसी मोर्चाका नेताहरूसँग आत्मिक वार्ता गरेर सम्पूर्ण आन्तरिक समस्या अन्त्य गर्ने प्रफुल्ल मुडमा थिए । यस्तो खबरी गाइँगुइँ चलिरहेको विशुद्ध राजनीतिक पर्यावरणमा मलाई आजभन्दा दशकौं अगाडिको एक पहलमानीको ‘फाइनल खेल’को अनायास याद किन भएको होला ?)

म बूढो अम्बाको गाछीबाट खसेर अत्यन्तै घाइते (एउटा हात नै भाँचिएको) भएकोले मलाई नजिकैको सरकारी अस्पतालमा र्पुयाइएको थियो । त्यहाँ पुगेर पनि मेरो कुस्ती खेलप्रतिको जब्बर चाख अलिकति पनि घटेको थिएन ।

‘को जित्यो शालिग्राम मामा ?’ मलाई अस्पतालमा हेर्न आएका टोलेमामा (टोलभरिकै मामा) अर्थात शालिग्राम मामासँग मैले उत्सुकताका साथ सोधेको थिएँ ।

‘जसले जिते पनि तँलाई के ?’ उनले झर्केर भनेका थिए, ‘फाइनलमा पुगेका दुवै सीमापारिका हिन्दुस्तानी पहलमान हुन् ।’

‘भिखना पहलमानले जितेन शालिग्राम मामा ?’

‘दुवै मुगलाने पहलमानले असलमा नूरा कुस्ती खेलिरहेकाले जितहारको कुनै अर्थ नै छैन भान्जा ।’ शालिग्राम मामाको असाध्यै रुखो जवाफ आयो, ‘ती हाम्रा पहलमान नै होइनन् ।’

यो जिन्दगानीको ६ दशकभन्दा बेसी भइसकेको दौडधुपमा मैले आजपर्यन्त त्यो नूरा कुस्ती (परस्पर मिलिमतोमा खेलिने) को फाइनल पहलमानीमा कुनचाहिँ भारतीय पहलमानको हार याने जित भयो भनी थाहा पाउनसकेको छैन ।

कान्तिपुर, फाल्गुन १५, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x