रिसै मात्र उठ्छ
रिसै मात्र सधैँ उठ्ने जे देख्ता पनि के गरूँ
अर्काको दुनियाँ देख्ता मुर्मुरिन्छु कहाँ मरूँ ।
जे जे हुन्न भनी भन्छु तिनैको नित्य चाप छ
अर्काको सुखमा कस्तो पोल्ने सन्ताप राप छ ।।
भनेथेँ घरमा आफ्ना सन्तति मार्ग यो ठिक
यता राम्रो सधैँ हाम्रो हुन्न त्यो लक्ष्य माफिक ।
खुसी छन् तिनकै बाटो तिनैमा तर सन्तति
म आफू रिसले मर्छु उल्टो भो देशको मति ! ।।
सिद्धान्त सामुमा आफ्नो छैन हल्चल ढल्पल
ब्रह्मवाक्य बने जस्ता आफ्ना छन् मन्दराचल ।
राजनीति त्यसो हुन्न भन्दा एक्लो हुँदै गएँ
रिसै मात्र सधैँ उठ्ने पिण्ड केवल यो भएँ ।।
साधु सन्त महाज्ञानी राजनेता ठुलाहरू
आआफ्ना तिनका होलान् सिद्धान्त भावनाहरू ।
तर खै ! मनले कस्तो अर्कै भाव लिने हुँदा
रिसै मात्र सधैँ उठ्छ तिनका कर्मले छुँदा ।।
पत्रिका नपढूँ लाग्छ मिथ्या स्वार्थ छ झैँ सदा
समाचार कहाँ आफ्नो मनको हुन्छ सर्वदा ।
नपढूँ वा नहेरूँ वा नजाऊँ अनि के गति
रिसको भुवँरीभित्र आफ्नो मात्रै छ है मति ।।
बिगारे तिनले सारा ध्वस्त पारे जता पनि
नगर्ने कामले गर्दा यस्तो भो देशको भनी,
सुनाऊँ कसले सुन्ने म आफू मात्र फुर्सद
रिसै मात्र सधैँ उठ्ने यो कस्तो बनिएँ खुद ।।
कहिले मनले सोच्छु किन उल्टो सबै कुरा
जे जे हुन्न भनी भन्छु तिनैको किन आँकुरा !
कतै आफै कुवा जस्तो पानीको गर्वमा छु कि
तर कस्तो रिसै उठ्ने बनिएँ सृष्टिमा लुकी ।।
काठमाडौं