सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माजुम

Nepal Telecom ad

यसपालि निकै वर्षपछि मैले होली खेलेंँ । अब यसलाई होली खेलेको पनि के भन्ने र ? वस्तुत कुरो के हो भने होलीका दिन कुनै काम नभएर असाध्यै अल्छी लागेकोले दिउँसोतिर यसो बाहिर के निस्केको थिएँ, मरुप्याफलको गल्लीमा कसैले ममाथि एक बाल्टिन (कम्तीमा हुनुपर्छ) पानी ह्वात्तै खन्यायो । पुरै रुझेकोले अलिकति शिर उचालेर मास्तिर हेरेंँ । कोही देखापरेन ।
– अरे ! रंगहरूका त्योहारमा कुनै रातो, नीलो, हरियो, पहेंँलो (अथवा कालै भए पनि) रंग र रमाइलोसँग वर्षाऊ– ममाथि पानी फ्याँक्ने अपरिचितसँग एकतर्फी संवाद स्थापित गर्दै अघि बढेँ म ।

यसोता मैले पहिले–पहिले खेलेको होलीमा पनि कुनै रंगको प्रयोग कमै हुन्थ्यो । मतलव हिलो, अलकत्रा र डिजेललाई के रंग भन्ने ? हामी केही अल्लारे केटाकेटीहरू यही डिजेलादि एकअर्काका अनुहारमा दलदाल पारेर होली खेल्ने गथ्र्यौं । त्यसैले होली सकिइसकेपछि पनि कैयन दिनसम्म हाम्रो दुवै गालामा यसको एब्सट्रेक्ट छाप रहिरहन्थ्यो । केही ठूलो भइसकेपछि हामीले अविर आदिको पनि उपयोग गर्न सुरु गर्यौं । तर यसमा अलकत्रा आदि परस्परमा बलजफ्ती दल्ने मजा कहाँ ? अँ, अविर भरिएको लोला हिर्काइमा भने गजबको मजा थियो ।

यसबखत लोलामा सादा पानी भरिएको हुँदैनथ्यो । अर्थात टन्नै रातो अविर भरिएको हुन्थ्यो । तर मैले लोलामा नीलो, हरियो, बैजनी आदि रंगको अविर भरिएको पनि पाएको छु । एक पटक मेरो परम लंगौटिया यार बोतलले ममाथि कालो रंग भरिएको लोलाले हानेको थियो । यो उसले कोइला धुलो पारेर आफैंले बनाएको लोला थियो । मौलिक प्रकारको लोला । यस प्रकारका मौलिक–अमौलिक लोलाको विशेष मजा के थियो भने हामी किशोरावस्थामा भर्खरै पुगेका छौंडाहरू छानी–छानीकन टोलका केटीमाथि लोला फ्याँक्ने गथ्र्याैं । यस्तो कर्म प्रायस् लुकेर गर्ने गरिन्थ्यो । म यसमा एक्सपर्ट थिएँ । त्यस बखतको त्यो कृत्य (अथवा कुकृत्य) सम्झेर अहिले पनि एक प्रकारको मजा एकदमसँग महसुस भइरहेको छ मलाई ।

कुन्नि, किन होलीमा भाङको नशा गर्नुपर्छ भन्ने चयन रहेको छ । (तिहारमा तास खेल र दसैंमा रक्सी खुवाइ जस्तै) । म वीरगन्जबासी हुँ । सहर हुनहुनै लागेको अर्थात सहर नभइसकेको बेलाको वीरगन्जको अलखियारोडको अलखियामठमा होलीका दिन भाङको विशेष व्यवस्था हुन्थ्यो । अलखियामठका पुजारी बमबम (मठका मुख्य साधुबाबा) को आत्मीय रेखदेखमा प्रत्येक साल बाल्टिनका बाल्टिन भाङ बनाइने गरिन्थ्यो । यो विशेष खालको हलुका हरियालीयुक्त भाङमा भाङका साथै काजु, किसमिस, बदाम, पेस्ता, छोहडा आदि स्वादिष्ट एवं बलबद्र्धक माल पनि भरपुर ढंगले मिसाइन्थ्यो । र टोलका लक्का जवानहरू सित्तैमा गिलासका गिलास भाङ आनन्दले घुटक्याउने गर्थे । हामी केही परबाट हेरिरहन्थ्यौं । किनभने किशोरावस्थामा पुगिसके तापनि केटाकेटी नै ठानिएका हामी छौंडाहरूलाई भाङको नजिक जानुबाट अति कडिकडाउसँग रोकिएको थियो । यो हाम्रो मित्रमण्डलीलाई त्यति सही र न्यायपूर्ण लागेको थिएन । हामी पुरै चिढिएका थियौं । म जसरी भए पनि एकपटक भाङको सेवन गर्न छट्पटाइरहेको थिएँ ।

एक बिहान मैले माजुम खाने तय गरेंँ । माजुम माने भाङ मिसाइएको मिठाइ । अर्थात खुवादार बर्फीमा मिसाइएको भाङ । अथवा भाङमा मिसाइएको वर्फी भन्नोस् । यस्तै लड्डु, पँेंडा, बम्बइसन आदिको पनि माजुम पाइन्थ्यो । मैले भाङको वर्फी अर्थात् माजुम खाने विचार आफ्नो नजिकको यार बाहुनसँग खासाखुस शैलीमा सेयर गरेंँ । यो कुरा बाहुनले कार्कीलाई विस्तारै भन्यो ।

र कार्कीको सानो टाउको तुरुन्तै सहमतिमा हल्लियो । त्यसपछि यसमा अर्काे यार बोतल पनि तेजीका साथ आयो । कहाँसम्म भने मेरो छिमेकी यार हलिम (मुसलमान भए पनि) पनि होलीको माजुम अर्थात भाङ ख्वाइमा उत्साहका साथ सामेल थियो । हामीले अलखियामठसँगैको मूलचन्द हलवाईको मिठाइ पसलबाट चमचम गरिरहेको पन्नीजस्तो बरकले बेरिएको तिनकुने माजुम किनेर खायौं । सम्भवतस् अतिरिक्त जोशमा आएर मैले चार–पाँचवटा माजुम फटाफट खाएँ हुँला । (अहिले पुरै सम्झना छैन) ।

असलमा भएको के थियो भने एउटा माजुम खाएर मलाई केही भएन, त्यसैले लगत्तै अर्काे लिएँ । यसले पनि कुनै असर नगरेकोले तेस्रो खाएँ । त्यसपछि चौथो । अनि पाँचौं माजुम पनि उदरस्थ गरेंँ । र छैठौं…(सायद) । वास्तवमा यसले शनै शनै असर गर्छ भन्ने मेरो काँचो बुद्धिलाई केही ज्ञान थिएन । एकाध घन्टापछि मेरो टाउको बेसरी रिंगिन थाल्यो । म त्यहीं धुलेजमिनमा थुचुक्कै बसेंँ । र अप्ठ्यारो मुद्रामा वरिपरिका साथीहरूतिर हेरेंँ । तिनीहरूका अवस्था पनि मभन्दा त्यति भिन्न थिएन । मैले अलिक बेसी माजुम लिएकोले मेरो हालत अपेक्षाकृत बढता बिग्रिएको थियो । विस्तारै–विस्तारै माजुमले आफ्नो माजुमपन देखाउन थाल्यो । अर्थात मेरो सम्पूर्ण नाडी–सुषुम्न । (टुप्पोको मस्तिष्क समेत) वेगले झङ्कृत भइरहेको थियो । यो झङ–झङ–झङ बढ्दा—बढ्दै म एक्कासी ढलेंँ । र केही समयपछि हलचलविहीन भएको मलाई मरेको ठानेर टोलका केही व्यक्तिहरूले बोकेर मेरो घरको बरन्डामा छाडेर गए । मेरो होश विलकुलै ठेगानमा थिएन । म मृतसमान भइसकेको थिएँ ।

केही घन्टापश्चात (हुनुपर्छ) मलाई अलिकति होश आएपछि मैले दाइ, काका, भाइ, मामा, भाउजु, बहिनी, काकी, दिदी आदिका अनेकन टाउकाहरू परस्पर जोडिएर ममाथि झुम्मिएको विचित्रको दृश्य देखेंँ । केही बेरपछि सबै टाउकाहरू एउटा बडेमानको टाउकोमा बदलियो ।

‘के भयो विमललाई ?’
‘यसले के खायो ?’
‘कतै भाङ त खाएन ?’
‘यसलाई तुरुन्तै अस्पताल पुर्याउनु पर्यो ।’
‘आज होलीका दिन अस्पताल बन्द छ ।’
‘लौन नि, अब के गर्ने ?’
‘यसमाथि चिसो पानी खन्याऊ ।’
‘कागतीको रस खुवाउनुपर्छ ।’
‘कुनै अमिलो अचार भए पनि हुन्छ ।’
‘औषधी गरिएन भने यो मर्छ ।’
‘होइन, के गर्ने यसलाई ?’

ममाथि झुकेको महाटाउकोबाट भमराहरूका मधुरो गुनगुन निस्केर मेरो दुवैतिरका कानमा सुस्तरी पसिरहेको थियो । म थोरै होशमा थिएँ क्यारे ! सायद अर्धबेहोशीमा थिएँ । आफ्नो विषयमा भन्न मैले चल्मलाउन खोजेंँ । तर जति बल गरे पनि केही भएन । म अलिक पनि हल्लिन सकिरहेको थिइनँ । केवल हलुका—हलुका सास लिइरहेको थिएँ म । यस्तोमा मेरो सास फेराइको स्थिति अनौठो थियो । मैले सास लिँंदा त्यो सास ठोस रूपमा मेरो नाकको प्वालबाट टाउकोमा (वा अन्त कतै) विस्तारै गुडेर पुगिरहेको थियो । र त्यसलाई छाड्दा सास फेरि गुडुडु गुडेर नाकबाट बाहिर निस्किरहेको थियो । केही समयपछि मलाई यो ठोस सास फेराइको अद्भूत खेल रमाइलो लाग्न थाल्यो । वास्तवमा मेरो नाकको प्वालबाट एउटा आवारा गुच्चा बेरोकटोक ओहोर–दोहोर गरिरहेको थियो । भाङको गुच्चा ।

सो (दूर) घटनाको दशकौंपश्चात आज भाङको आवारा गुच्चाको प्रेमपूर्वक स्मरण गरेर म असाध्यै रोमाञ्चित भइरहेको छु । यसको अर्थ होलीका दिन भाङ आदिका नशा गर्नुपर्छ भन्ने पटक्कै होइन । यो पूर्णतस् गलत हो । जे होस्, यस वर्षको होलीमा भने मैले सुखद महसुस गरेँ । जताततै पानी नै पानी छताछुल्ल देखेर यस्तो लाग्ने नै भयो । एक दिन भए पनि हामी पानीको घना संसर्गमा त आयौं । जीवनदायिनी पानीको भीषण संकट निरन्तर झेलिरहन अभिसप्त राजधानीबासीका लागि यो कम्ता सुखकर अनुभव होइन ।

एक बिहान मैले माजुम खाने तय गरेंं । माजुम माने भाङ मिसाइएको मिठाई ।

कान्तिपुर, चैत्र १३, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा