हरिकला उप्रेतीकीर्तिमान
मानसम्मान र कीर्तिमान भन्ने कुरा चानचुने होइन । कठोर काम गर्ने मान्छेहरूले नै मानसम्मान र कीर्तिमान राख्छन् । हरक्षण केही मान्छेहरू त कुनै न कुनै कीर्तिमानकै लागि व्रिmयाशील हुन्छन् । कीर्तिमानले इज्जत, प्रतिष्ठा, हिम्मत, हौसला र बल दिन्छ । यो कल गरेर पाइने फल होइन ।
“कर्म गर्नु फलको आश नगर्नु” भन्ने भनाइप्रति म रत्तिभर सहमत छैन । फलको आश नगर्ने हो भने “मकैको घोगामा दाना लागेनन्” भनेर आन्दोलन गर्नै पर्दैनथ्यो । “लोडसेडिङले उद्योग बन्द भो” भनेर उद्यमीले आत्महत्या गर्नै पर्दैनथ्यो । कर्ममात्र गरिरहँदा भइहाल्थ्यो नि । उता रिनले रिन कमाउँछ र दिन छोट्याउँछ । अनि त फलको मात्र हैन सासको पनि आश हराउँछ । अब त दाना मकैमा मात्र होइन, गमलामा रोपेको टमाटर, खुर्सानी धनियाँ जेसुकैमा फल नलागे पनि आन्दोलन गर्नैपर्छ । आन्दोलन अलि अल्मलिएजस्तो छ आजकल । बन्द, हड्ताल र चक्काजाम ठामठामै गरेर बहादुरीको कीर्तिमान कायम गर्नैपर्छ ।
कीर्तिमान मजबुत मेहनतको मिठो फल हो । यो फलाउन निक्कै ठूलो बल र बुद्धि चाहिन्छ । काम भनेको काम हो, कामलाई राम्रो र नराम्रो भन्दै तात्तो न पिरोको तर्क गर्नु व्यर्थ छ । बरु कुन कामका लागि कति बल र बुद्धि वितरण भएको छ भनेर कमकरीका गिदीको जाँच गर्नु जाती हुन्छ । अनि त गिनिज बुकमा नाम लेखाएर कीर्तिमानी राख्ने नेपालीहरूको पनि ताँती नै लाग्छ ।
तपाईं भन्नुहोला कीर्तिमान राख्न कसैले गर्न नसकेको राम्रो काम गर्नुपर्छ । साहसका साथ गरिएका राम्रा कामले कीर्तिमान राख्छ । जस्तो सगरमाथा चढ्नु, साइकलमा विश्वभ्रमण गर्नु, शान्ति ल्याउनु, नोबेल पुरस्कार पाउनु, भोकै बस्नु, जङ्गल पस्नु, त्यागी हुुनु, योगी बन्नु…. आदि इत्यादि ।
तर म भन्छु जस्तोसुकै भए पनि साहसिक कामको सम्मान गरिनुपर्छ । जस्तै पर्खाल चढ्नु, जाँड खाई लड्नु, भ्रष्टाचार गर्नु, घ्याम्पो भर्नु, हारेर जित्नु, जनादेश किच्नु, महँगी बढाउनु, भोकले लडाउनु, दाइजो तान्नु, बोक्सी बान्नु, चक्काजाम गर्नु, झ्यालखाना पर्नु, नेपाल बन्द गर्नु, अवैध धन्दामा पर्नु, व्यभिचार गर्नु, कोठी भर्नु… जस्ता उच्चकोटीका कार्य गरेर पनि कीर्तिमान राख्न सकिन्छ । साहसिला अग्रजहरू पुराना रेकर्ड तोड्दै नयाँ कीर्तिमानका लागि जोडसँग अहोरात्र खटिरहेका छन् । उहाँहरूकै अनुसरण गर्दैै जानु र कीर्तिमान कायम गर्नु आजका पुस्ताको आवश्यकता बनेको छ ।
त्यसैले यस्ता गन्यमान्य जनहरूको आत्मबल बढाउन गन्धायुक्त फुलमालाले स्वागत तथा सम्मान गर्दै सडकहरूमा सवार चलाउनुपर्छ । यस्ता उच्च ओहोदाका उच्चस्तरीय सम्मानको व्यवस्था गर्न सरकारले सरकारी ढुकुटीबाट सुटुक्क रकम कटौती गर्नुपर्छ । यस्ता कार्यका लागि निक्कै अगिदेखि निको काम गर्दै आएको ननिको संस्था सिस्नुपानी नेपाललाई पो जिम्मा दिनुपर्छ कि ! सुटुक्क भन्या नि कीर्तिमान कायम गर्ने भा ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest











































