साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुच्छरमा झुन्डिएको ‘टर’

Nepal Telecom ad

साधारणतया जाडो बिदा भन्नाले काठमाडौँ उपत्यकाभित्र पुस १५ देखि माघसम्मको लुगलुगे मुटु कमाउने जाडोलाई मान्ने भित्ते क्यालेन्डर यसपटक एक्कासि आएको विचारको बाढीले बगाएर लगेछ । वैचारिक हुन्डरीसँगै पुण्डरीक बाजेको ज्योतिष पनि फेल भएछ । त्यसैले जाडो बिदा पनि अलिकति अगाडि सरेछ, अनि अलिकति लामो भएछ । कस्तो मस्ती छ जाडो बिदामा, सबै कुम्भकर्ण निद्रामा मस्त निदाएका छन् । आज जतातै सन्नाटा छाएको छ । विद्यालय जति सबै बन्द छन् । हुने खानेले आफ्ना छोराछोरी दार्जिलिङ, कालिम्पोङतिर पुर्याए । हुँदा खानेहरू लाटाले पापा हेरेझैँ समयको प्रतीक्षामा छन् । भर्खरै खोलिएका स्कुले कम्पनी तालाबन्दी भएका छन् । कम्पनीका करिब २ लाखभन्दा बढी मजदुरहरू अनिश्चित भविष्यलाई नियाल्दै तमासा हेरेर बसेका छन् । केही कम्पनी मजदुरहरूलाई जाडो बिदा अत्यन्त फलिफाप भएको छ । आसन्न एसएलसी परीक्षाको तयारी भन्दै विद्यार्थीका घरैमा गएर प्रतिविषय प्रतिघण्टा पाँच सयसम्म कुम्ल्याउँदै छन् ।

ए ! हजुर यो अलिक चर्को भएन र भनेर प्रश्न ग¥यो भने बडो बाक्पटुतापूर्वक भन्छन्, यो त अझै कम भयो । हामी जस्तै पुच्छरमा टर झुन्डिएका डाक्टरले मुसुक्क हाँसेर नारी छाम्नेबित्तिकै जति मागे पनि हुन्छ तर हामीले चाहिँ एकघण्टा घोक्रो सुकाएर जाबो पाँच सय लिँदा तपाईँलाई धेरै लाग्यो भने जानोस् अर्कै सस्तो खोज्न । तर, सस्तो बेसाहाले पखाला चल्छ भन्ने कुरा चाहिँ नबिर्सनु होला नि ! भन्दै ओठे जवाफ दिन्छन् मास्टरहरू । आजभोलि जता पनि टरकै चकचकी । बिहान उठेदेखि बेलुका दस बजेसम्म हाम्रा टरजीहरू खरायो दौडमा व्यस्त छन्, रातारात राजधानीमा महल ठड्याउने सपना सँगालेर हुन पनि अब बिहानको नास्तादेखि बेलुकाको डिनरसमेत सबै घरघरमै व्यवस्था भएपछि जाडो बिदामा मास्टरका गाला पोटिला देखिएका छन् । जमानै कि डाक्टरको कि मास्टरको त भयो नि ! उनीहरूले सकेन्ड, सेकेन्डमा कमाएको सम्पत्तिमा न त भ्याट लाग्छ न अख्तियारका पावरवाला चस्माले नै देख्न सक्छ ?

हुन पनि बाबुआमाले सानैदेखि छोराछोरी पढेर डाक्टर होऊन् भन्ने आशिष दिन्छन्, डाक्टरीमा सफल नभएका मास्टरी अनि मास्टरी पनि नपाउने कन्ट्याक्टर । जहाँ पुगे पनि खल्तीभरि नगदे खरीको बास त पक्कै छ । मैले एकजना अतिव्यस्त गणित विशेषज्ञसँग भनेँ, “सर ! चिया पिऊँ कि !” उहाँले बडो खातिरसाथ धन्यवाद दिँदै फुर्संदै नभएको जानकारी दिनुभयो । मैले सोधेँ, “विद्यालय कहिलेतिर खुल्ला सर ?” उहाँको सटिक उत्तर थियो, “छिट्टै खुले त हामी बर्बाद भइहाल्छौँ नि ! दुई महिनासम्म लगातार बन्द भइदिए त डेडपेटी जति बस्थ्यो ।”

त्यसपछि त मैले मनमनै गम खाएँ वास्तवमा पुच्छरको टर टरै रहेछ । म पनि छोरो पढाएर टरै बनाउँछ । तर अहिले मात्र तीन कक्षामा पढ्ने मेरो छोरो पन्ध्र किलोको झोलाभरि पढेर पनि कहिल्यै पास हुँदैन । खै यो जमाना पनि के भा हो यस्तो ? जङ्गका काजीको हुकुमले सर्वसाधारणलाई राहत पुर्याउन नौ बुँदे नौगेडी भुन्डाएर जाडो बिदा दिएको रे तर यो बिदामा त मास्टर पाल्दापाल्दै ढाड सिदा पार्न पनि मुस्किल पो पर्यो बा ! प्रत्येकलाई कफी र अम्लेट खुवाउनै पर्यो । एक घण्टामा आधाघण्टा पत्रिका पढ्छन्, दस मिनेट भोजनमा, बाँकी बीस मिनेट पढाएर ठ्याक्राक्कै पाँचसय बुत्याइदिन्छन् ।

मेरो त २ जना मात्र आउँछन्, बिचरा त्यो पल्लो घरमा त ६ जनाको ताँती लाग्छ । भन्दा चाहिँ हामीले विद्यार्थीको भविष्यप्रति खेलबाड नहोस् भनेर घरैमा सेवा उपलब्ध गराएको भन्छन् । बल्लतल्ल एसएलसी पास गर्नेले पनि महिनामा पन्ध्रबीस हजार त अवश्य बटुल्छन् । बरु विद्यालय खुल्ला स्कुलको फिस पाँच छ सय मात्र तिर्दा हुन्थ्यो तर यहाँ त टिफिन पनि नगदेश्वरी पनि सबै स्वाहा । यस्तो बेला हामीमा अन्याय भो भनेर मन्त्री गुहार्न जाँदा उल्टै मन्त्री पनि हिजोका मास्टरै पो रहेछन् । उनी त आफ्ना साथीभाइको कमाइखाने भाँडो जाडो बिदा अझै थप्ने तरखरमा पो देखिए ।

आज सबैलाई आनन्द छ यो शान्तिप्रिय देशमा, जहाँ जति बेला जसले जे गरे पनि हुन्छ । विश्वका मानिस पहिलो आधारभूत आवश्यकता शिक्षालाई ठान्छन् । नेपालका डेढअक्कली विद्वानहरू शिक्षा लिने ठाउँलाई फ्याक्ट्री ठान्छन्, शिक्षा दिने मजदुर अनि शिक्षार्थी कच्चा पदार्थ । आज निश्चित लक्ष्यविना सबैको भविष्यसँग खेलबाड भइरहेको छ । कोही झन्डा हल्लाएर शिक्षामाथि खेलबाड गर्दै छन्, कोही डन्डा हल्लाएर शिक्षालय तोड्दै छन् । विवेकशून्य संसारमा अब सबैले आफ्नो दायित्व बुझ्न सके मात्र नत्र हामी लाटा जनतामाथि यी गाडा तन्देरीहरूले यस्तै उपद्रो मच्चाइरहने छन् ।

खोइ नागरिक समाज अहिलेसम्म के भद्रो हेरेर बसेको छ ? कि मुखमा ताल्चा मारेको छ हँ कसैले । हिजो त अनेकका राजनीतिक पार्टीहरू अनि उनीहरूका भातृ सङ्गठन र भगिनी सङ्गठन सबै ढ्वाङ फुकी हिँड्थे त । आज किन एकाएक सबै दुला पसे । शिक्षाजस्ता संवेदनशील क्षेत्रमा यस्ता ताण्डव नृत्य गर्ने झन्डावाला ! के तिमीहरूलाई अलिकति पनि कर्तव्य बोध छैन ? अनि भएका सबै संरचना ध्वस्त पार्दै हिँड्ने डन्डावालाहरू यो वैचारिक आँधीको लक्ष्य के हो ? भोलि के सबै घर डडाएर खरानीको टीका लगाउँदै अलख गाउने विचार हो कि, ध्वस्तमानले निर्माणको सपना पनि देख्छ । आज मागेर ल्याएको सम्पत्ति पनि बिदेसिन लाग्यो । त्यो रोक्नुपर्ने कर्तव्य कसको ? हिजो राणाहरू शिक्षा विरोधी थिए, त्यस बेला ‘शिक्षा नपाए काशी जानु न्याय नपाए गोर्खा जानु’ भन्ने चलन थियो । तर, भर्खर हुर्कँदै गरेको शिक्षाको बिरुवा यसरी एकाएक निमोठिएपछि समानताका नाउँमा अब सबै अनपढै बसौँ, विद्यालयहरूमा कुखुरापालन सुरु गरौँ । हामी त कृषि प्रधान देशका जनता अब कृषिमा पो लाग्नुपर्छ त । ‘पढी गुनी कौनै काम जोतौँ हलो खाऔँ माम !’ हैन त मित्र हो ?

यो सबै चर्तिकला हेर्दा हाम्रो लक्ष्यविहीन लडाइँले प्रत्यक्ष फाइदा विदेशीलाई पुगेको छ । धनाढ्यहरूले पैसा विदेशी बैँकमा राखेका छन् । हाम्रा बैँकहरू त टाट उल्टिएर उपियाँ मात्र नाच्न थालेका छन् । शिक्षाको तिर्खा मेट्न सके बिदेसिनुपर्ने बाध्यता आयो । अरू राष्ट्रका मानिस विकासमा अघि बढ्छन्, हामी विनाशमा अघि बढ्दै छौँ । यो उल्टो यात्रा हिँड्ने बुद्धि हामी आफैँको हो कि यो सिकाउने पनि कुनै पुच्छरमा टर झुन्डिएको विदेशी शक्ति छ हँ ? नत्र भने छिमेकी राष्ट्रका विद्यालय संस्थापकले विद्यार्थी सङ्ख्या बढाउने वहानामा मित्रहरूलाई यता बन्द गराएबापत ठुलै रकम हात लाग्ने आश्वासन दिएको हुनुपर्छ । यदि त्यो हैन भने बोर्डिङले त बढी शुल्क लिए रे सरकारी शिक्षण संस्थाले पनि जाडो बिदा किन मनाउँदै छन् ? आज सबै सचेत वर्गले राम्ररी सोच्ने बेला आएको छ ? यो समय त जाडो बिदा मनाएर बस्ने होइन, समस्याको समाधान खोज्ने बेला हो ।

हिमालय टाइम्स (वर्ष ८, २०५९ साल पुस ११)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गाली संस्कृति

गाली संस्कृति

देवीप्रसाद घिमिरे
लुटतन्त्र जिन्दावाद !

लुटतन्त्र जिन्दावाद !

देवीप्रसाद घिमिरे
हर्कको हर्ष र जेन्जीको भ्रम

हर्कको हर्ष र जेन्जीको...

देवीप्रसाद घिमिरे
आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

आऊ, खुलेर भ्रष्ट्राचार गरौँ

देवीप्रसाद घिमिरे
कुसंस्कार

कुसंस्कार

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x