साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नूनको टेन्सन

Nepal Telecom ad

नून शब्द सुन्दा र पढ्दा जति सामान्य लाग्छ– यसको गहिराइ त्योभन्दा कैयौं गुणा धेरै छ । बजारमा ढिके नून, आयो नून, शक्ति नून, भानु नून, वीरे नून थरि/थरिका पाइन्छ । नून तरकारी, दाल र अचारमा मिसाएर खाए पनि हुने । कसै÷कसैले चियामा समेत नून हालेर पिउने गर्दछन् । मान्छेहरू जे गर्छन्– नूनकै लागि गर्छन् । ढाँट्ने, छल्ने, भ्रष्टाचार समेत गर्न पछि पर्दैनन् । किनकि, नूनको मूल्य अमूल्य छ । नून हाम्रो देशमा उम्रँदैन । फुल्दैन, फल्दैन । छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने नूनको अगाडि सुन र आकाशको जून फिका तथा अर्थहीन छ किनभने हरेक भान्सामा मसलासँगै नून भएन भने तसलामा तरकारी पाक्दैन । तरकारी भएन भने खानापिना हुँदैन । खानापिना भएन भने मान्छेको जीवनचक्र खत्तम ।

कहिलेकाहीँ लाग्छ, नून र पारू उस्तै÷उस्तै हो । पारू अर्थात् पार्वती । अचेल पारू यत्रतत्र सर्वत्र भेटिन्छ । चाहे बालाजूको क्याफेमा होस् या सुन्धाराको खाजा घरमा वा गौशालाको गेष्ट हाउसमा । यी पार्वतीहरूलाई पारू बन्न कुनैबेला सिलौटामा नून पिसिएजस्तै कुटानी पिसानी हुनुपरेको थियो ।

जब गाउँबाट एसएलसी पास गरेपछि धेरै पढ्ने, राम्रो जागिर खाने र ठूलो मान्छे बन्ने सपनाको भारी बोकेर शहर पसिन्छ, तब सुरु हुन्छ जीवनको अर्को नाम संघर्ष भनेर । सरकारी होस् वा गैर सरकारी सेवा/सुविधाजति सबै शहरकेन्द्रित भएर होला, शहर रंगीन झिलिमिली र रमाइलो छ । शहरमा बस्ने मान्छेले घाँस काट्नुपर्दैन, दाउरा बटुल्नुपर्दैन । सधैं सुकिलो, रसिलो र हँसिलोमा ठाँटिन पाउँछन् । मान्छे मरेपछि पुगिने स्वर्ग भनेको शायद शहर होला कि !

शहरको कथाको अर्को पाटो भने बेग्लै छ । नूनको खोजीमा निस्केको भीडले न मलाई चिन्छ, न त भीडलाई नै म चिन्न सक्छु । बिल्कुलै एक्लो महशुस हुन्छ । जंगलको बीचमा बसेजस्तो । शहरका मान्छेलाई अर्काको कुरा सुन्ने र दुःख हेर्ने फुर्सद नै कहाँ हुनु ? तल घरमा मान्छेको मृत्युमा शोकाकुल भइरहेका बेला माथि घरमा बर्थडे ‘पार्टी’मा रमाइरहेका हुन्छन् । दायाँ कोठामा नूनको लागि झगडा गरिरहेका बेला बायाँ कोठामा रासलीलाको ब्रोडकास्टिङ चलिरहेको हुन्छ ।

नूनको महत्व गाउँमा पनि कम छैन । तर, गाउँमा बस्ने जोकोहीलाई सोधे हुन्छ लाहुरे काकाको घर कुन हो भनेर, सबैले चिनाइदिन्छन् । देउरालीको मन्दिर पुग्ने बाटो देखाइदिन्छन् । जस्तोसुकै नौलो मान्छे गाउँ पुगे भने एक छाक खान र एक रात बिताउन मुस्किल पर्दैन । मान्छेभित्रको म र मानवता भेटाउन गाउँ पुग्नैपर्ने हुन्छ ।

नूनको सोझो त घरमा पालेको जनावरले पनि गर्छ । मान्छेलाई यो कुरा सिकाइरहनु नपर्ला । तर, समयले सधैं त्यसो कहाँ भन्छ र ? तेरो लागि सीमित नून र असीमित सुन भए पुग्छ भनेर । त्यसैले, गाउँकी सोझी पार्वतीलाई पारू बन्न बाध्य बनाउँछन् । पारू अर्थात् पसन्दरूपी । मानौं, रूपले पिरलो ।

पिरलो या पिर अथवा टेन्सन, जुन शब्द प्रयोग गर्दा सजिलो लाग्छ– त्यही भने हुन्छ । हिजोआज हरेक मान्छेलाई आ–आफ्नो क्षमता र हैसियतअनुसार सबैलाई पिरलोको भकारीले थिचेको छ । कसैलाई भएर पिरलो अनि कसैलाई नभएर पिरलो । मलाई यस्तो लाग्छ, मान्छेलाई नभएर भन्दा भएर धेरै टेन्सन छ । जस्तो कि, घरमा श्रीमती भएर टेन्सन बालबच्चा भएर टेन्सन । रातभर फेसबुक चलाउन वाइफाइ भएर टेन्सन । मोटर गाडी भएर टेन्सन । छोराको गर्लफ्रेन्ड भएर टेन्सन । जति पिर बोके पनि अन्त्यमा यो नून पानीको शरीर रित्तिने नै हो ।

प्रतीक्षा गर, समयले मान्छेलाई कहाँ/कहाँ पुर्याउँछ । जीवनमा जे हुन्छ– त्यो सोचिँदैन र जे सोचिन्छ– त्यो कहिल्यै पूरा हुँदैन । राम बन्छु भनेर निस्केका हराम बनेका छन् भने कति डाक्टर पढ्न गएका डाकु भएर निस्केका थुप्रै उदाहरण छन् । किनकि, यो शहर नै त्यस्तो छ– जहाँ नूनको सोझो गर्दागर्दै पनि नपत्याइदिँदा औंला बाङ्गो बनाएर आफू नाङ्गो हुनुपरेको कतिलाई थाहा नै हुँदैन । भन्न सजिलो छ, ‘अन्नको तरान र नूनको परान ।’ त्यसैले यो नूनको पछि लाग्दालाग्दै थाक्छ र थाकेपछि यो धर्तीबाटै उठ्नुपर्छ, कहिल्यै सास फेर्ने कष्ट नहुने गरी ।

पार्वतीले ठूलो उद्देश्य लिएर शहर पस्छिन् । तर, शहरले उनको आवाज बुझ्दैन, मात्र चढ्दो जवानी र बढ्दो बैंशमा नजर घुमाउँछ । सोचेभन्दा बिल्कुल फरक छ, शहर । फि मात्र धेरै लिन्छ पढाउने कलेज भेटिँदैन । जागिर खान गयो, अनुहारको चमकले तलबको निर्धारण गर्छ । ठूलो मान्छे बन्न ठूलै मान्छेको संगत गर्नुपर्छ भनेर सुनेको हुन्छ । ठूलो मान्छे भनेर पछि लाग्यो, धोका हुन्छ । धोका भनेको अप्ठ्यारो ठाउँको पिलोजस्तै हो । धोकाको पोकाले पिरोल्न थालेपछि यो शहरदेखि विरक्त लाग्छ । गाउँ फर्कन पनि सक्दैन । शहरका गल्लीमा बाँच्नकै लागि भए पनि नूनको सोझो गर्न पार्वतीबाट पारू बन्न बाध्य हुन्छे ।

साँघुरो गल्लीमा रहेको दामी अनि नामी क्याफेमा भेट भएकी पारूले भन्दै थिई– ‘यी पुरुष भनेका शिकारी चराजस्तै हो । उसले हरेक पटक महिलारूपी आहारलाई निशानी बनाइरहेको हुन्छ । पुलिस भनौं या नेता, कार्यकर्ता, कलाकार वा पत्रकार, जुनसुकै भेषमा भए पनि यस्ता सयौं महापुरुषले मसँग रात बिताएका छन् । दिनको उज्यालोमा छिःछिः गर्नेदेखि कानुनी कारबाही गर्छु भन्नेहरू नै साँझ परेपछि मेरो मोबाइलमा घण्टी बजाउन थाल्छन् ।’

हो, म मान्दछु कि बाँच्नको लागि गाँस, बास, कपास र सहवासको आफ्नै स्थान छ । पानीको प्यास दूधले मेटिँदैन । अर्काको लागि मर्ने भेटिँदैन । सेक्सकै लागि प्रेम गर्ने, रात बिताउने, त्यसपछि भोलि कतै भेट भइहाले नचिनेजस्तो गर्ने संस्कार बसिसकेको छ । नूनकै जोहो गर्नको लागि हरेक राति नयाँ÷नयाँ पुरुषको तातो ओछ्यान बन्नुपर्दा राम्रो लाग्दैन, तर यो शहरले मलाई गालीमात्रै गर्छ, यस्तो नगर मात्र भन्छ । मेरो भावना बुझ्ने हिम्मत कसैले गर्दैन ।
मैले सुनिरहेँ, उनले थप कुरा भन्दै गइन्– ‘हाम्रो भेट प्रेम र हृदयले भएको होइन– शरीरले उमारेको हो । सेक्सका लागि प्रेम गरेजस्तो नाटकमात्र मञ्चन भइरहेछ । यो नाटक केहीछिनमै समाप्त हुनेछ ।

मलाई राम्रोसँग थाहा छ, मेरो कमजोरीको फाइदा उठाउन तपाईँ आतुर हुनुहुन्छ । र यो पनि थाहा छ कि तपाईं आफैंले भन्नुहुनेछ, एक रात हामी सँगै बिताऔँ । अनि यो पनि थाहा छ, भोलि हाम्रो भेट कतै भइहाले त्यसबेला तपाईंले मलाई बिर्सिसकेको हुनुहुनेछ ।

जेगीमारा–७, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सारै रिस पो उठ्दो रैछ !

सारै रिस पो उठ्दो...

नवराज श्रेष्ठ
अचम्मै भो

अचम्मै भो

नवराज श्रेष्ठ
चः चः हुई

चः चः हुई

नवराज श्रेष्ठ
हामी नेपाली

हामी नेपाली

नवराज श्रेष्ठ
0
Would love your thoughts, please comment.x
()
x