डा.रवीन्द्र समीरअपजस
‘सेतो पोशाकमा सजिएका नर्सहरूको मन सेतो भए हुन्थ्यो तर उनीहरू रूखा हुन्छन्, झर्को मान्छन्, बिरामीसँग रिसाउँछन्’ आदि गुनासो बिरामीका अभिभावकले बारम्बार निर्देशकसँग गरे । “बिरामीको उपचार गर्ने जस्तो संवेदनशील पेशामा मिठो बोलीले बिरामीको आधा रोग सन्चो हुन्छ ।” यो कुरा नर्सहरूलाई बुझाउनु पर्यो । उनीहरूले लिखित रुपमा निवेदन दिए ।
त्यसपछि अस्पतालका निर्देशकले नर्सहरूको भेला गरेर निर्देशन दिए— ‘हामीकहाँ भर्ना हुने सबै मानिस दुखको हुरीमा फसेका बिरामी मात्र हन् । उनीहरू शारीरिक तथा मानसिक पीडाको कारण झर्किन सक्छन्, रुन सक्छन्, हामीहरूलाई अभिभावक ठानेर गुनासो गर्न सक्छन् । बिरामीले डाक्टर तथा नर्सहरूले मिठो बोली बोलेको, आफ्नो ख्याल गरेको, राम्रो व्यवहार गरेको, जिज्ञासा सुनेर राम्रो सल्लाह दिएको तथा समयसमयमा समस्या र प्रगतिबारे उनीहरूसँग छलफल गरेको अपेक्षा गर्दछन् जुन हाम्रो पेशागत कर्तव्य पनि हो । तसर्थ आजदेखि तपाईंहरूले मुस्कान सहितको बिरामीमैत्री सेवा प्रदान गर्नुहोला ।’
निर्देशकको निर्देशनपछि नर्सहरूले बिरामीसँग मिठो बोल्ने, आत्मीयता देखाउने तथा मुस्कुराएर सोधपुछ गर्न थाले ।
यो परिवर्तन देखेपछि बिरामीका अभिभावकले भन्न थाले— ‘आजभोलिका नर्सहरू कति छिल्लिएका ? बिरामीलाई समेत लाइन मार्न थाले ।’
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































