वासुदेव पाण्डेयआधुनिक छोरा
बाबाआमा गुरुजन सखा बिर्सिहाल्यो हितैषी
छोरा बिर्सी चलन घरको खान थालेछ भैँसी ।
चुल्ठो, मुन्द्रा, पृथक कपडा छैन यज्ञोपवीत
गायत्री के प्रतिदिन जपोस् वस्त्र लाएर पीत ।।
बिर्स्यो भाषा सरल र मिठो शब्द लालित्य झर्रो
अङ्ग्रेजीको लवज मिसिई बन्न थालेछ अर्रो ।
बिर्सी आफ्नो विगत गरिमा धर्म भाषा सपाट
धोयो क्यारे अब त उसले हात संस्कारबाट ।।
फेवाजस्तै तरल कविता पढ्न छाडे युवाले
पेवाजस्तै सरस र मिठा गीत बिर्से युवाले ।
ट्याम्को, झ्याली, मृदुल, मजुरा, खैँजडी धर्मराए
‘नेपाली हौँ’ महसुस हुने लोकबाजा हराए ।।
लट्ठे, काभ्रो, लसुन धनियाँ काउलो चिन्न छोड्यो
खोले फाँडो, तिहुन र ढिँडो जाउलो चिन्न छाड्यो ।
पाए पिज्जा सरस ममचा स्वाद मानेर खान्छन्
चुस्की मिल्ने चटपट चिसो पाइने ठाउँ जान्छन् ।।
नाताभन्दा पनि प्रिय भयो आज निर्जीव नोट
खैनी गुट्खा तरल मदिरा हुन्छ साथी चुरोट ।
बोके दाह्री अलिकति जुँगा वस्त्र लाई टिमिक्क
देखे सोझा सरल युवती पार्छ आँखा झिमिक्क ।।
उल्टो बाटो अनुगम गर्यो स्वच्छ आदर्शबाट
बाबा आमा अपरिचित झैँ ठान्छ निष्कर्षबाट ।
बेग्लै बानी पहिरन तथा भिन्न बाटो अँगाल्यो
छोरा ऐले फरक पथमा पाइला चाल्न थाल्यो ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































