प्रेम ओली ढकलपुरेकेटीको खोजिमा
के घोडाले खान्छ
के छोराले खान्छ भन्थे
आफू त झन
एक्लो छोरो भएपछि
खानेको के पिर
कहिले खाएको छोइला
कहिले खाएको छ खिर
आमाले पनि खा खा
बुवाले पनि खा खा
खानेलाई भन्दा खुवाउने ठूलो पीर ।
तर गजबको कुरो
जति खाए पनि
शरीर सुकेनासे लाग्या जस्तो
उम्रिदा उम्रिदैको आरुबोट
बढ्न थाक्या जस्तो
थाहै भएन
कहिले जवान भइएछ
कहिले जवानी आइ गएछ
ठयाक्कै तिसाँ नाघेपछि
साथीहरू भन्न थाले
होइन
कहिले गर्ने हो बिहे यो कृष्णे काले ?
आप्mनो कुरो
न कहिलै कसैले साइड हाने
न कसैलाई साइड हानियो
जसले नजर जुधाए पनि
लव परेको ठानियो
एक दिन कलेजमा
सबसे सुन्दरीलाई प्रेमको प्रस्ताव राखें
भोलिपल्ट उसका बाले
यामनका भुस्तिघ्रे गुण्डा डाके
बजियाहरूले करङ नै भाँचिने गरी झाके ।
फेरि अर्की ठिकैकीको पछि लागेँ
उसका दाइहरूले पनि
लाठी मुङ्ग्रा बोकेर आएपछि
ज्यान जोगाउँदै भागेँ ।
त्यस पछि
एउटी मै जस्तै सुकेनासीलाई
एकान्तमा डाकेँ
र
सिधै विवाहको कुरो राखेँ
उसले भनी–
म सुकेको माछा जस्तो
तिमी परालको बाछा जस्तो
हाम्रो जन्मने बच्चाहरू
झन होलान् कस्तो कस्तो
कोही पतङ्ग झै उड्लान्
कोही पात झै उड्लान्
कोही हावा नभएको पाङ्ग्रा जस्तो
राजमार्गमा गुड्लान्
बरु दुई चार गिलास दुधसँग
दुई चार वटा केरा ल्याउनू
ज्यान स्यान यसो बनेपछि
घरमै माग्न आउनू ।
फेरि हिंडेँ केटीको खोजाइमा
एउटी धम्मरधुसे आई रोजाइमा
हेर्दा ठयाक्कै अर्नाको पाडी जस्ती
मोडेल पनि मुस्ताङे गाडी जस्ती
जब बार्तालाप भयो
झन्नै मेरो सातो पुत्लो नै गयो
ओ हो ! स्वर साँढेको हुक्काँ जस्तो
धाप हानी मोरीले काँधमा
बाफ रे बाफ ! टाइसनको मुक्का जस्तो
बिहेको कुरो गर्दा
उसले अट्टाहास हाँस्दै भनी–
यो हात्तीले कसरी
फट्याङ्ग्रासँग बिहे गर्छ
तिमीलाई थाह छैन
यी तिघ्राले लाग्यो भने
फट्याङ्ग्रो त ठहरै पर्छ ।
मैले पनि पाखुरा सुर्क्याउँदै भनें–
यो पनि गोरस खाएको जिउ हो
देख्दा सुकेनासे भए पनि
उन्नत जातको बिउ हो ।
उसले यति लामो लेब्रो तानी
कुइनोले एक धक्का हानी
एक कोस टाढा गई झरेछु
अरुले उदार नगरेको भए
झन्नै म त मरेछु ।
अझै पनि मेरो लागि
बाबु आमा खोज्दैछन् बुहारी
न काली न गोरी
मै जस्तै सुकेनासकी छोरी ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































