साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार समक्ष सार्वजनिक यात्रुको अर्जी

Nepal Telecom ad

(अलिकति सोझो / अलिकति बाङ्गो)

सरकार !!

राजधानीको सडकमा दैनिक कम्तीमा ४ पटक सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्नु पर्ने म अदना यात्रु हुँ । सरकारले तोकी दिएको १३ रु.का लागि १५ रु. र तोकिदिएको १६ रु.का लागि २० रु. भाडा तिरेर दिनहुँ यात्रा गरिरहेको छु । १३ मात्रै वा १६ मात्रै तिर्न खोज्दा गाली बेइजति मात्र होइन लात्ती मुड्की उज्याइएको छु । खपेरै यात्रा गरिरहेको छु । दिनहुँ मजस्ता लाखौँ अदना यात्रु लुटिएका लुटिएकै छौँ । डिजेल पेट्रोलको मुल्य वृद्धि हुँदा बढाइएको भाडा मुल्य घट्ता घटेको छैन । बरु झन् बढेको छ ।

१२ सिटको माइक्रोमा २५ जना खाँदिएकै छौँ, ४० सिटकोमा नब्बे सय चेपिएकै छौँ । चढ्नु पर्ने ठाउँमा न चढ्न सकिन्छ, ओर्लिनु पर्ने ठाउँमा न ओर्लन सकिन्छ । २० औँ ३० औँ वर्षदेखिका थोत्रा घ्यारघ्यारेहरूको आपसी प्रतिष्पर्धामा कुन बेला नालीतिर धसिने हो वा कुन बेला सडकको बार समेत भाँचेर डिलमुनि गुल्टिने हो ठेगान छैन । दैनिक दर्जन जतिले स्वर्गको यात्रा गरिरहेकै छन् अनि दर्जनौँ त अपाङ्ग भइरहेकै छौँ । ज्यान सकुशल गन्तव्यमा पुर्याउन भगवान् मात्रै पुकारेर के हुँदो रैछ र ?

सरकार ! तिनै थोत्रा घ्यारघ्यारेका मालिकहरू भोलिदेखि (जेठ १३) चक्काजाम गर्दै छन् रे । उनीहरूका निम्ति ट्राफिक नियम कडा भो रे ! तिर्नु पर्ने जरिवाना पनि बढी भो रे ! ती अदना यात्रुहरूको तर्फबाट एउटा अर्जीपत्र पेश गरेको छु । सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवाला निकाय मार्फत कृपया कार्यान्वयन गरि गराई पाऊँ भनी यो अर्जीपत्र लेखाइ दिञाँ :

तपशील
१. आफ्ना सार्वजनिक सेवाका निमित भनेर अनुमति लिएका यातायातका धनीहरू गाडी ग्यारेजमा राखेर सडकमा आए जति सबैलाई सडकबाटै गिरफ्तार गरी सोझै थुनुवापूर्जी थमाएर कारागार चलान गर्ने सुव्यवस्था मिलाई पाऊँ ।

२. ग्यारेज ग्यारेजको अनुगमनमा पुगेर नम्बर नोट गरी ती साधनहरूको दर्ता खारेज, रोडपमिट र अन्य सबै अनुमतिपत्र खारेज गरिएको जरुरी सूचना पर्सी बिहानै सार्वजनिक सञ्चार माध्यमबाट सर्वसाधारणलाई जानकारी गराई पाऊँ ।

३. २० वर्ष नाघेका सबै सवारी साधनलाई सडकमा गुड्न कडा प्रतिबन्ध लगाइएको सूचना जारी गरिपाऊँ ।

४. सार्वजनिक यातायातका चालक र सहचालकमा सेवाभाव र नम्र बोलीव्यवहार सिकाउन १५ दिने प्रशिक्षण शिविर सञ्चालन गरौँ र त्यसमा सहभागी नहुने चालकको लाइसेन्स र सहचालकको परिचयपत्र खारेज गर्ने व्यवस्था गराई पाऊँ ।

५. पैदल हिँडदै गरेको यात्रुलाई ठक्कर दिई लडाएपछि ब्याक गरेर हत्या गर्ने गाडीको चालकलाई रिहा गर्न १८ हजार रु. धरौटी लिई प्रहरी कार्यालय वा न्यायालय पुग्ने गाडी कम्पनीको मालिक समेतलाई ठाउँको ठाउँ ज्यानमुद्धा लगाई त्यहीँबाट कारागार पुर्याउने छिटोछरितो व्यवस्था मिलाई पाऊँ ।

६. सेन्डीकेटका नाममा कुनै पनि रूटमा अर्को कम्पनीको गाडी छिर्न नदिन गरिने ढुङ्गामुडा र थुनछेकमा संलग्न हुने कम्पनी, त्यसका मालिक वा कर्मचारी सबैलाई सार्वजनिक ऐन लगाएर कम्तीमा ३ वर्ष कारागार पठाउने व्यवस्था मिलाई पाऊँ ।

७. ट्राफिक नियम उल्लङ्घन गरे पनि सय पचास रूपैयाँको नजराना लिएर छाडिदिने ट्राफिक प्रहरीलाई तत्काल भूकम्प पुननिर्माण अभियान अन्तर्गत डोकामा इँटा ढुङ्गा र काठ बोक्ने गरी काजमा खटाउने प्रबन्ध मिलाइ पाऊँ ।

सरकार !

यति मात्रै काम हुन सक्यो भने पनि हामी अदना यात्रुहरूलाई साह्रै ठूलो राहत हुने थियो । लौन, सरकार ! हाम्रो गुहार ! गुहार !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x