प्रेम ओली ढकलपुरेपसलमा उङ्याछु
जागिर खाए भएन
बिदेश गए भएन
तरकारी खेती गरे भएन
सरकारी कामा देखी तरकारी कामसम्म
नभएपछि
फेरि व्यापार गर्ने सुर चल्यो
छोरोले गल्लीमा
एउटा पसल खोल्यो
नुनतेल चामल सब राखियो
उद्घाटनमा टोललाई नै डाकियो ।
ग्राहक पनि अजब गजबका
दुइचार दिन नगद लिने
त्यसपछि उधारो माग्ने
उधारो नदिँदा कता कता लाग्ने
उधारो दियो भने टोलै छोडि भाग्ने ।
कोही ग्राहक
जे छ माग्दैनन्
जे छैन त्यही खोज्छन्
कोक छ भने फ्यान्टा रोज्छन्
लौका छ भने भ्यान्टा खोज्छन्
कालो दालो छ भने पहेँलो रोज्छन्
पहेँलो छ भने रातो दाल रोज्छन्
जे छैन खाली त्यही मात्र खोज्छन् ।
कोही आउँछन्
पाउका पाउ लाउछन्
चिनी एक पाउ
दाल एक पाउ
गोलभेडा एक पाउ
खाली पाउ मात्रा खोज्ने
त्यसमा पनि सस्तो भाउ रोज्ने ।
रातभर उल्लु झै उङ्या छु
दिन भर कल्लु झै झुङ्या छु
ब्यापार नभएको झोकमा
कहिले केटाकेटिलाई
कहिले छोराछोरीलाई
कुखराले झै ठुङ्या छु
आज पनि होला कि
भोलि पनि होला कि भन्दै
झिगा मार्दै पसलमा रुङ्या छु ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































