मातृका पोखरेलबाटो छाडेपछि
हिंडिरहेको बाटो छाडेपछि
हराउँदो रहेछ
मान्छेहरूको अनुहारमा चमक ।
हिंडिरहेको बाटो छाडेपछि
फेरिँदोरहेछ उसको स्वभाव
उसको चलन
उसको बोलिचाली
सबै एकाएक फेरिंदा रहेछन्
र बेग्लो देखिँदोरहेछ मान्छे ।
हिंडिरहेको बाटो छाडेपछि
कतै पनि आउँदो रहेनछ
आफूले बोकेको झण्डाको याद
कतै पनि सम्झनामा आउँदो रहेनछ
सपनाका हरिया फाँटहरू
जब आफू हिंडेको बाटो बीचबाटै छुट्छ
सबैसबै एकाएक विस्मृत हुँदारहेछन्
सुंगुरहरूले लगाइदिने माला
किचकन्याहरूको प्रेम
हत्याराहरूले गाएको गीत
क्रमसः प्रिय लाग्दै जाने रहेछ ।
हिंडीरहेको बाटो छाडेपछि
सन्तान हराएका आमाहरूको आँखा
गरिबहरूको सुनसान अगेनो
सबैसबै सामान्य लाग्ने रहेछन्
आफ्नै देशको इतिहास
कुनै दन्त्यकथा सुनेझैँ लाग्ने रहेछ
आफूले देखेका सपनाहरू
क्रमसः विस्मृत हुँदै जाँदारहेछन्
र मान्छे पनि नितान्त फरक हुँदोरहेछ ।
हिंडिरहेको बाटो छाडेपछि
विस्तारै हराउँदो रहेछ उसको संवेदना
र मान्छे पनि
साँच्चै बेग्लै हुँदो रहेछ ।
Subscribe
Login
0 Comments
Oldest










































