नरमेन्द्र लामाछापा मार्ने, लात मार्ने कि धाप मार्ने ?
एकदिन मकैबारी खन्दा, थकाई लागेर… थकाई मार्ने प्रक्रियामा घुँडा मार्ने र पलेटी मार्ने दुई क्रियामध्ये कुनचाहिँ बढी उपयुक्त होला भनेर सोच्दै थिएँ । सोच्दासोच्दै मार्ने कर्महरू त पर्रा छुटेर दिमागभिर छर्रा र गिर्रा खेलेर घोच्न लाग्यो । हेर्नुहोस् न, छापा मार्ने, ताल्चा मार्ने, लात मार्ने धाप मार्ने, बात मार्ने, आँत मार्ने, बगली मार्ने, बन मार्ने, फन्को मार्ने, कुइँच पार्ने, पेट मार्ने, मेख मार्ने, धित मार्ने, बिट मार्ने कति हो कति मार्ने कामहरू… । अनि त म पनि किन जाँगर मार्ने भनेर दिमागमा उब्जेको कुरा कापीमा सार्ने काममा लागो । जो सारो तपशील बमोजिमका छन् ।
सबभन्दा ठूलो मार्ने काम छापा मार्ने हो र दोस्रो धाप मार्ने काम हो । तेस्रो ज्यान मार्ने, अरू त सबै मार्ने भन्नु मात्रै काम टार्ने, नाम सार्ने, दाम झार्ने, सिवाय अरू केही होइनन् । बस्तीमा आगो लाग्दा आगो मार्ने काम चाहिँ चौथो नम्बरमा पर्दछ, जसलाई सान्त्वना पुरस्कारसम्म दिन सकिन्छ । अब तपाईंको दिमागमा, ज्यान मार्ने कामलाई किन एक नम्बरमा राखेन यो बजियाले भनेर चक्कर लाग्यो होला ! मैले पनि पहिले त त्यस्तै साचेर ज्यान मार्ने कामलाई एक नम्बरमै राखूँ कि जस्तो लागेका थियो । सोच्दै लाँदा होइन कि होइन भनेर दिमाग उफ्रन थाल्यो । ज्यान मार्दा प्रमाणित भएर मुद्दा तामेल भएपछि बीस वर्ष जेल जानुपर्छ कुरो खत्तम ! छापा मार्ने कामले त प्रमाणित भएपछि जेल जानु र जरिवाना तिर्नु त छँदैछ । छापा मार्न अगावै कति जनाको निदहराम पारेको छ जसले बिरायो ऊ डरायो आफैँनो ठाउँमा छ । अँगार खानेले, कालो के गर्नुपर्छ सही हो, यहाँ त जहान परिवारको समेत ‘उडायो सपना सबै हुरीले’ भएर पो मा¥यो त ? सामान ओसारपसार गर्दैको ठिक्क छन् । यताबाट उता र उताबाट फेरि कता गर्दै दिक्क छन् बिरालोले बच्चा सारेको जस्तो !!
अहिले छापा मार्ने कामलाई पहिले पहिले ताइजात आउने भन्थे । राणा शासनदेखिकै कुरा गरौँ भने, घुसिया हाकिमहरूलाई जिल्लाको बडाहाकिम बनाएर पठाउँथे रे… । जानेले पनि कि कोक्रोमा कि धोक्रोमा भनेर जान्थे रे… । टन्न गाँठ कमाएपछि कोक्रोमा हालेर तुर्लुङ्ग झ्याइँ तुर्लुङ्ग झ्याइँ पार्दै ल्याउँथे रे… । टाठाबाठाले चाहिँ माथिल्लो तलामा अफिस खडा गरेर चोटा–प्वाल पारेर दरी बिछ्याउँथे रे… घुस खाए प्वालबाट तल छिराएपछि पिउन वा अरू कोही सिकाएको व्यक्तिले लैजान्थ्यो रे… डोर आए पनि केही जोर नचल्ने गरी ! घुस खाएको प्रमाण छ गाँठ भेटिएन भने, घरमा ताइजात पठाउँथे रे… । यो मैले देखेको होइन सुनेको कुरा प¥यो । मैले देखेको एउटा कुरा पनि भनूँ है त ! पञ्चायत व्यवस्थाको पदार्पण भएको थिएन होला, एउटा गाउँलेको घरमा ताइजात आउने भो भनेर सबै सर–सामानहरू छिमेकीको घरमा हुलेर थोत्रा सुकुल, माटाका भाँडाचिन्डा र टिनका ट्याङ्का छाडेका थिए । म बाबुको दौराको फेर समातेर हेर्न गएको थिएँ । ताइजात आएको भए चिँइ परेर मुचुल्का उठाएर जान्थ्यो होला ! के भएर आएन मैले थाहा पाइनँ, सायद घर व्यवहारको लेनदेनको मुद्दा भएर होला ! सरकारी भए किन छोड्थे होलान् र… !
हाकिमसापहरूले घरजग्गा किन्दा स्वास्नी छोराछोरीको नाममा लिने चलन त उहिले देखि नै चलेको हो , पञ्चायतकालमा हदबन्दी लाग्दा कुकुर बिरालोको नाउँमा दर्ता भएको पनि पक्कै हो । आज भोलि अख्तियार आयोग खडा भएर चनाखो हुन थालेपछि यो चलन पनि स्खलन भयो । आयोगले स्वास्नी छोराछोरी र नातेदारको समेत हेर्छु भन्न थाल्यो । आयोगलाई देखाउनुपर्ने भएपछि कसले राख्छ ? आयोगले पनि आधा गाग्रो छचल्किन्छ भने झैँ २०–२२ जना लाई मात्र कर्यापच्याप पारेर हल्लै मात्र बढी ग¥यो । सबैतिर एकैचोटी झ्यापझुप पार्न सकेको भए पो हुन्थ्यो । अब त आफैूँ मात्रै होइन, कारवाहीमा पर्नेको नातेदारसमेत हरितन्नम भैसके, कुन दिन झोलीतुम्बी भिरेर, रामनामी पछ्यौरा ओडेर तपाईंको घरदैलोमा सीताराम भन्न आइपुग्न बेर छैन ।
नाता पनि कतिसम्मको नाताको हेर्ने हो । हाडनाताभन्दा जाँडनाता गहिरो हुन्छ, आफ्नोे नाता र ससुराली नाताको त बैंक खाता र सम्पत्ति हेर्न पाइएला, मितेरी नाता साथीभाइको नाता, छिमेकीको नाता सबै नाता छाता ओजेलमा पर्न बेर छैन । बरु आफ्नो नाताले लेनदेनको माम्लोमा मौका परे पचाउलान् भन्ने डर हुन्छ । टाढाको नाताले पचाउने त के चपाउन पनि सक्तैनन् । अनि विश्वास नगरेर भो ? विदेशतिर ओसार्न नसक्ने र नभ्याउने हाकिमसापहरूको समेत, हाकिमसाप मात्र होइन भन्सार र मालपोतमा हुने सुब्बासाप र खरदारसापको समेत सम्पत्ति टाप भैसके । कसैकसैले त प्लास्टिकमा प्याक गरेर नोट रोपे पनि होलान्, कसैको गमलामा सुन, कन्दमूल भए होलान् ।
अब छापा मार्दा, थोत्राथाम्रा शोफासेट, फाटेको दरी, च्यात्तिएको पर्दा, खुट्टा भाँचिएको मेचबाहेक अरू भुत्ला पनि नभेटिन सक्छ । भान्छामा मुसाहरू खाना नपाएर क्वाँक्वाँ रुन थाली सके, पहिलेपहिले गितार बजाएर पपगीत गाउँथे डिस्को नाच नाच्थे, अहिले त्यो हाल छ । बिचराहरूको आजकल चलेको, ए आमा मलाई त्यै केटी चाहिन्छ भनेर रुँदै गाउन पपगीत त्यही हाकिमसापको किचनको मुसाबाट प्रेरणा पाएर गाइएको हुनुपर्छ । नत्र पहिलेपहिले तपाईंले त्यस्तो गीत कहिल्यै सुन्नु भा’को थ्यो त ? हो, त्यही मुसा रुन थालेपछि शुरु भएको हो ।
तपाईं अख्तियारको आँखामा नपर्नेहरू किन यतिविधि मख्ख नि ! हाकिम मात्र प¥यो । हामी बच्यौँ भनेर काखी बजाउनु भाको होइन ? तपाईंलाई पनि छिमेकीले मुद्दा हाल्न सक्छ, होस गर्नुस् !! पुर्जी काटी सकेकाहरू चाहिँ किन यस्तो विधि निराश, भयभित र त्रसित हुनुहन्छ हँ ? अख्तियारले छापा मारेपछि त्यो भन्दा माथिका निकायहरू पनि त छन् नि ! अख्तियार आयोगले मुद्दा तामेल गर्ने होइन कयारे… । तपाईंहरू मुख नछोप्नुहोस् ! आयोगले मुद्धा पेश गरेपछि त्यहाँ हुन्छ छानविन !! कि चोखिनुहुन्छ, कि कोचिनुहुन्छ । त्यहाँ हुन्छ राम्रो छानविन, त्यहाँ हुन्छ खानपिन ! त्यहाँ हुन्छ तिरो तिरान, त्यहाँ हुन्छ हिसाब मिलान !! आयोगको काम त पहिलो स्टेपको मात्र हो ! माथिमाथि निकायमा व्यापक छानविनपछि दूधको दही र पानीको मिनरल वाटर भएर मुद्दाको किनारा लाग्छ, फैसलाको बिट मार्ने काम हुन्छ । तपाईंहरू आशा नमार्नुस् हरेस नखानुस् । न्याय पाउनुहुन्छ, धन्दै नमान्नुस् भन्दै प्रमाणित भएर हार्नेलाई सहानुभूति र जित्नेलाई बधाई अर्पण गर्दै, मेरो कुराको चुरो र बिट यहीँ मार्छु शुभमास्तुः । इति ।
जोरपाटी ८, आरुबारी
Subscribe
Login
0 Comments
Oldest









































