साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिध्याउने भए मलाई !

Nepal Telecom ad

गुड अफ्टरनुन सर !
यो आवाजले अचानक मेरो ध्यान भङ्ग भयो । मैले टाउको उठाएर हेरेँ, एकजना सुटेडबुटेड युवक मेरो कार्यालय कोठाको ढोकाभित्र छिरेर मलाई बडो अदवकासाथ झुकेर अभिवादन गरिरहेको छ । युवक चिटिक्क परेको छ । राम्रा नयॉ डिजाइनका सुट लगाएको छ । आकर्षक रङ्गको सर्ट लगाएको छ । घॉटीमा टाई झुण्ड्याएको छ । हातमा गह्रौँ झोला छ । मुसुमुसु हॉसिरहेको छ । आकर्षक छ मुस्कान । केटीहरूलाई भए हुरूक्कै पार्लाजस्तो ज्यान परेको ।
कसलाई खोज्नुभएको होला ? मैले सोधे‘ ।
युवकले मेरो नजिकैको टेबुलमा आफनो झोला बिसायो र थोरै निहुरिएर एउटा हत्केला आफ्नो छातीमा राखेर भन्यो, म कुन्नि के फलानो कम्पनीबाट यहाँको सेवाका लागि आएको हुँ । कृपया ध्यान दिनुहोला । म यहाँको दुई मिनेट समय लिन चाहन्छु ।
त्यसपछि उसले झोलाबाट केही बोतलहरू, केही बट्टाहरू र केही अर्थोक मालताल झिक्यो र टेबुलमा फिँजायो । मैले कुरा बुझेँ, युवक व्यापार गर्न आएको रहेछ । मैले भनेँ, भाइ मलाई हाल कुनै चिजको आवश्यकता छैन, सामान नझिक्नुभए हुन्छ ।
उसले मेरा कुरा सुन्दै नसुनी धमाधम थुप्रै सामान बाहिर निकाल्यो र भन्यो– “हजुरले सोच्नुभयो होला म सामान भिडाउन आएको हुँ, तर होइन, यहाँले हेरिमात्रै दिनुपर्छ । हाम्रो कम्पनी आफ्ना ग्राहकलाई सामान पुस सेलिङ् गर्ने पक्षमा छैन र हाम्रो कम्पनी अरू कम्पनी जस्तो नक्कली मालहरू भिडाउन अफिस–अफिसमा ठिटीहरू पठाएर झुक्याउने कम्पनी पनि होइन । यो हेर्नुस्, यो सेम्पु हाम्रो कम्पनीको नयाँ उत्पादन हो । जम्मा यो एक सिसीको प्रयोगले तपाइँको टाउकाको मात्र होइन अनुहारको चायालाई समेत जीवनभरिका लागि समाप्त पारिदिन्छ । खुइलिएर पूरै चिण्डो भएको टाउकामा झ्याम्मै कपाल उमार्छ ।” युवकले मेरो अलिअलि भएको कपालमा टल्किरहेको चाया र गालामा लागेको पोतोलाई ध्यानपूर्वक हे¥यो । यसको मूल्य दुई सय रूपयाँ हो तर एकपटकको लागि म तपाईंलाई फ्रिमा दिन्छु । एक महिनामा यसले तपाईंको चाया गएन भने तपाईंले हाम्रो कम्पनी विरुद्ध कोर्टमा मुद्धा हाल्न सक्नुहुन्छ ।
बज्याले फिरिमा दिन्छ भने के भो त भनेर मैले त्यो सेम्पु ओल्टाइपल्टाइ हेरेँ र टेबुलको घर्रामा हालेँ । उसले अर्को एउटा मोटो पुस्तक निकाल्यो र सेम्पु राखेको घर्रामा हाल्दै भन्यो, त्यो सेम्पु निःशुल्क प्राप्त गर्न हजुरले यो एउटा पुस्तक लिनुपर्ने हुन्छ । यो अमेरिकामा तीन करोडप्रति बिक्री भएको पुस्तक हो । यो पुस्तकको अध्ययनबाट अस्ट्रेलियाका दुई करोड मानिस लखपतिबाट एकैचोटि अरबपति भएका छन् । भारतमा यो पुस्तक बजारमा आएको एक हप्ताभित्रमा पचास लाखप्रति बिक्री भएर अहिले थप एक करोडप्रति छापिइरहेको छ । यी हेर्नुस् प्रमाणहरू । उसले केही पत्रपत्रिकाका कटिङ्हरू देखायो । फोटोहरू देखायो ।
पुस्तकको बजार मूल्य तीनसय अमेरिकी डलर भए पनि अमेरिकी राष्ट्रपतिको अनुदानबाट नेपाली पाठकका लागि मात्र एक हजार नेपाली रुपैयाँमा उपलब्ध गराएको र त्यसमा कम्पनीले थप छुट दिई जम्मा पाँच सयमा उपलब्ध गराएको कुरा युवकले ग¥यो । उसले मेरो अफिसका पाँच सातजना हाकिम र कर्मचारीका नाम भनेर उहाँहरूले पुस्तक लिनुभएको र कतिले पाँच पाँच वा दश दशप्रति माग गरेको कुरा पनि बतायो ।
म अक्क न बक्क परेँ । मेरो बोल्ने ठावैँ भएन । आफैँले तानेर सेम्पुको शिशी घर्रामा हालिसकेको थिएँ । युवक अरू पनि सामान झिक्न थाल्यो । म खल्तीमा कति पैसा होला भनेर अनुमान गर्नथालेँ । खल्तीमा सय डेडसयभन्दा बढी थिएन । मैले पल्लो कोठामा गएर साथीसँग सापटी मागेँ र निशुल्क स्याम्पुको जालमा फँसेर पाँच सय रूपयाँको सत्यानाश गरेँ । मार्यो बज्याले । मैले आफ्नो हुस्सुपनलाई किन गाली गर्नु भनेर उसैलाई गाली गरेँ, त्यो पनि मनमनै ।
सेम्पुवालाले मलाई करोडपति हुने किताव बेचेर बाहिर निस्कन नपाउदै युनियनका एक हूल मित्रहरू कोठामा पसे । टेबुलमा रसिद तेस्र्याउँदै एकजनाले भने– “ल मित्र, एक नम्बरमा सदस्यता नवीकरण गर्नुपर्यो, दुई नम्बरमा यो युनियनको सहयोगार्थ राफल चिट्ठा लिनुप¥यो, तीन नम्बरमा आउँदो शनिबार हुने पिकनिकका लागि पैसा दिनुपर्यो । जम्मा पाँच सय पचास ।” साथीहरू फट्टाफट रसिद काट्न थाले । मलाई बोल्ने कुनै मौका नै दिएनन् । म वाल्ल परेँ । खल्तीमा कन्ची पैसो दाम थिएन । पैसो नभएको कुरा गरेपछि भोलि लिउँला नि भन्दै सबै रसिद भिडाएर साथीहरू गए ।
आजको दिन मेरा लागि दशाकै दिन रहेछ कि क्या हो भनेर पत्रिकामा राशी हेर्नथालेँ । राशीमा धनलाभ, मनमा शान्ति लेखेको देखेर तै अझै केही भइहाल्छ कि भनेर आशावादी हुँदै खाजा खान लैजाने साथीको खोजीमा पल्लोकोठातिर जान उठेँ । म उठ्नैलाग्दा अर्को युनियनका दुई–तीनजना साथीहरू हातमा सेतो कागज र मुठीमा एक मुठो पैसा बोकेर भित्र पसे । युनियनको चुनाव आउनै लागेको मौका, मेरो राशीफलमा पनि धनलाभ लेखेको, लौ हुनेभएछ मोज भन्ठान्दै म बसेँ ।
एकजनाले सोधे– “फलानोलाई चिन्नुहुन्छ ?”
मैले सोचेँ पक्कै पनि यो यिनीहरूको नेता हुनुपर्छ । मौका यही हो भैरे भन्ठान्दै मैले हतार हतार चिन्छु नि, किन नचिन्नु भनेँ । निकै संवेदनशील हुँदै एकजनाले भने, हेर्नुस् उहाँलाई क्यान्सर भएछ । आर्थिक अवस्था ज्यादै कमजोर भएको कुरा त तपाईंलाई पनि थाहै छ । हामी उहाँको उपचारका लागि चन्दा उठाउँदै हिँडेका । तपाईंले पनि सक्तो सहयोग गर्नुपर्यो । उहाँका बालबच्चाहरू भोकै भएको खबर आएको छ ।
बालबच्चा भोकै भन्ने कुराले मेरो मन नमिठोसँग दुख्यो । म उनीहरूलाई एकैछिन पर्खिन अनुरोध गर्दै उठेँ र आफैंले भोट हाल्ने गरेको युनियनको कार्यालयमा गएर एकजना नेतासँग दुईसय रूपयाँ सापटी मागेर ल्याएर चन्दा दिएँ ।
चन्दा सङ्कलकहरू निस्किएर बाहिर पनि पुगिनसक्तै दुईटी सुन्दरीहरू मुस्कुराउँदै भित्र पसे । मगमग वास्ना बोकेर आएका ती युवतीहरू देखेर को पो हेर्याहेर्यै हुँदैनथ्यो होला र । म मख्ख पर्दै थिएँ, एउटी युवतीले सोधिहालिन्– “गाम्नागे सर को हुनुहुन्छ ?” यस्तो अप्ठ्यारो नाम कण्ठै गरेर आउने पक्कै स्पेसल नानीहरू हुनपर्छ भन्ने सोच्तै मैले सोधेँ– “मै हुँ, तर कसरी चिन्नुभो ?”
“लौ हजुरलाई नचिन्ने को होला । हामी त सरको फ्यान् । सरका कविता, कथा, निबन्ध, नाटक, गजल, हाइकु हामीले सबै पढेका छौँ ।” यस्ता राम्रा–राम्रा नानीहरूले पनि मेरा रचना पढ्दारहेछन् भन्ने कुरा थाहा पाएर म मख्ख परेँ र मैले यो जुनीमा नाटक, गजल र हाइकु भन्ने जन्तु लेखेकै छैन, तिमीहरूले कहाँ पढ्यौ ? भनेर पनि सोधिन । सोध्न मनै लागेन । त्यस्ता सुकोमल, सुकुमारी, सुन्दरीहरूले भनेको कुरा मैले कसरी काट्नु ! काटिन ।
“सर, हामीलाई फलानो दाइले पठाउनुभएको । एउटा सानो कामको लागि भेट्न आएका ।” एउटीले समुस्कान भनिन् र मेरो नजिकैको कुर्सीमा लोग्नेमान्छेहरूलाई भुतुक्कै पार्ने स्टाइलमा आसन जमाइन् ।
“भन्नुस् न के गर्नुपर्यो ? उहॉ (उनीहरूलाई पठाउने मान्छे) त मेरो बच्चादेखिको साथी । उहाँले पठाएको भनेपछि म टाउकाले टेकेर पनि गर्छु नि ।”
मेरो कुरा भुइँमा खस्न नपाउँदै अर्की नानीले झोलाबाट एउटा पत्रिका, एउटा रसिद प्याड र अरू पनि केही कागजपत्र झिकिन् र पत्रिकाको ग्राहक बन्नुपर्ने प्रस्ताव राखिन् ।
“लौ मारे मोरीहरूले । सिध्याउने भए । खुत्रुक्कै पार्नेभए । के दशाले टाउकाले टेकेर सहयोग गर्छु भनेँछु नि !”
मैले पछि आउनुस्, पैसा छैन भनेर पन्छाउने प्रयाश गरेँ । उनीहरू टसको मस भएनन् । हजुरलाई ग्राहक बन्न पैसाले छेक्छ ? म लगाइदिई राख्छु । एउटी नानी अघि सरिन् । सरले जहिले भन्नुहुन्छ तैले आएर पैसा लैजाउँला । अर्की नानी अघि सरिन् । यसो भने पनि भएन, उसो भने पनि भएन । जसो गरे पनि असती पड्केहरूले पत्रिकाको ग्राहक बनाएरै छाडे । पैसा लिन पछि आउने गरी मलाई सिध्याएर गए । थुक्क लोग्नेमान्छेका जात ! तरूनी देख्यो कि लत्याकलुतुक्क हुनुपर्ने ? मैले आफैँलाई मात्रै किन दोषी देखाउनु भनेर पूरै लोग्नेमान्छेका जातलाई दोष थोपारिदिएँ ।
भोकले भुँडी बटारिएछ । खाजा खान जानुपर्यो भनेर उठ्न लाग्दैगर्दा एकजना मरिन्च्यॉसे बूढो मान्छे हातमा एउटा फाइल बोकेर भित्र पस्यो र जिङ्ग्रिङ्ग परेको कपाल लिएर ठिङ्ग्रिङ्ग उभियो । के होला भनेर मैले जिज्ञासा राखेँ । “म एचआइभि पोजिटिभ सर !” उसले भन्यो र फाइल पल्टाएर रक्त परीक्षणको रिपोर्ट देखाउन थाल्यो । मैले शङ्कालु आँखाले उसको अनुहारतिर हेरेँ । उसले अर्को हातमा समातिराखेको मोटोघाटो र खाइलाग्दो युवकको फोटो देखायो र त्यो फोटो रोग लाग्नु अघिको आफ्नू फोटो भएको प्रमाणित गर्न सक्कल नागरिकता समेत देखायो । हेरेँ, मभन्दा सात वर्ष कान्छो रहेछ । उसको कथा सोध्न थाल्नुभन्दा उसले तेस्र्याएको चन्दा कागतमा हेरेँ । कागतमा चुत्थो रकम एक सय देखेँ । बिहानैदेखि जसरी पनि जोगाइराखेको एउटा सयको नोट थियो, खुरुक्क निकालेँ र दिएँ । थुइया मेरो भाग्य † मैले आफैँले आफैँलाई सराप्ने कुरो आएन, त्यसैले भाग्यलाई सरापेँ ।
यसो घडी हेरेँ अफिस छुट्ने बेला भएछ । बस चढ्ने पैसा कसैसित मागौँ कि भन्ठानेँ, फेरि विचार गरेँ, मसित पैसा भएको थाहा पाएर अर्को कुनै पीडित आइलाग्छ, बरु आज पैदलै कस्सिन्छु । म झण्डै डेडघण्टाको पैदल यात्रा तय गरेर घर पुगेँ । बुढीले बिहान अफिस जाने बेलामा बिग्रिएको ग्याँसचुलो बनाउन छाडेर बेलुका आउँदा ल्याउनु है भनेर पैसा समेत दिएर पठाएकी थिइन्, मैले त भुसुक्कै बिर्सेछु । बुढीले कुचो उचालेर लखेटेपछि म पनि पुच्छर उचालेर भागेँ र अहिले जेठाकाजीको मोमो पसलमा कतिखेर ग्राहक हिँडिसक्छन् र उधारो मोमो लिएर घर जाउँ भनेर ढुकेर बसिरा’छु । म त्यतिकै बसिराख्ने मान्छे चाहिँ होइन क्या ! मोमो ढुकिरहेका बेला पनि सोचिरा’छु, यी दशथरिका बेच्ने, बनाउने, उठाउने र माग्नेहरूले सक्ने भए मलाई ।
ए साहुजी खोई त मोमो ? सकियो रे ?!

सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x