डा. रामप्रसाद ज्ञवालीम नाङ्गो पथ !

म नाङ्गै पल्टेको पथ हुँ सबको त्राटन सही
मलाई कुल्चन्छन् रनवन सबै निर्मम भई {{read_more}}
सबै हिँड्छन् मेरै उरउपर टेक्दै छिन छिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?
म गोरेटो बन्दै युग युग सहेँ लात कतिका !
र घोडेटो बन्दै युग युग सहेँ टाप कतिका !
नदीमा खोल्सामा पुल बनिदिएँ राहत दिन !
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?
हिँडी मेरै छाती कति कति पुगे उच्च शिरमा
सिँढी बन्दै मैले कति कति चढाएँ शिखरमा
सबै बिर्सी मेरा गुन मसित नै हुर्मत लिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?
चिरी मेरै छाती नहर बनिए यी कति कति
चिरी मेरै छाती सहर बनिए यी कति कति
दिएँ मात्रै मैले रतिभर कसैबाट लिइनँ
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?
तिमीलाई भन्दै अनल(अलकत्रा पनि पिएँ
सहेँ पीडा कन्दै सबल पिचबाटो बनिदिएँ
तिमी हाँक्छौ मेरै उरउपर गाडी प्रतिदिन
तिमी गर्छौ मेरै हृदय अझ यो आहत किन ?
सकेनौ खै कैल्यै बदलिन गुणी भै गुण लिन !
थुकेका छौ उल्टै मउपर तिमीले प्रतिदिन !
सधैँ लात्ती तिम्रो सहन र सधैँ पीडित हुन
सधैँ दासी बन्दै रुन नसकिने भो अब सुन !
Subscribe
Login
0 Comments
Oldest







































