साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय जङ्की निकुञ्ज

Nepal Telecom ad

बावुले असिना–पानी नभनी पसिना बगाएर जम्मा गरेको दौलत वा अंश सन्तानले पाउनु नै पर्छ भन्ने हंस छोरामोराको हृदयमा लाहाछाप बनेर रहेको हुन्छ । हर्षले बावुको ह्याकुलो हाँसे छोराले अंश अवश्य पाउँछ । तर कुपुत्रको बद्ख्याइँको सूत्रले बाबुलाई बल्ड्याङ ख्वाउँछ । आखिरमा बावुले तीनत्रिलोक चौधभुवन देख्न बाध्य हुन्छ भने त्यस्तो मोराछोरालाई वंश र अंशको जिम्मा लगाएर पनि साध्य हुन्छ । त्यसैले बावुले अंश देला र ठूलो भाग लुड्याउँलाको जमाना औलोजस्तै उन्मूलन भयो, औलो उन्मूलन त रोग थियो भने, बावुको अंशको उन्मूलन किन भयो ? भन्नुहोला, औलोले पहिला जसरी सताउँथ्यो आज बावुको अंशमा छोराको हंसले पनि उसैगरी सताइराखेको कुरा बताइराख्नु नपर्ला ।
चण्डाल होस् या कंगाल पुत्रले पैतृकप्रसादी (अंश) नपाउनु भनेको अप्रत्यक्ष रूपमा पुत्रोन्मूलन गर्न खोज्नु हो । बाहिर निस्किसकेको सन्तानलाई अंशले स्वागत नगर्नुभन्दा शुरुमा गर्भागत हुनै नदिनु वेश थियो । भ्रूणलाई शरण दिएर गर्भलाई वरण गरेपछि सडकमा उत्रिएको पुत्रलाई अंश नदिएर मरण गर्नु जघन्य अपराधको परिधिमा पर्ला कि नपर्ला ?
नहुनु मान्छे भएर जन्मेपछि समयसँग खेल्न पनि जान्नु पर्छ । खाँचो परे मोल्नुपर्ने मान्छेको पाउ मोल्नुपर्छ, हृदय खोलेर बोल्नुपर्छ । मेरै कुरा गर्ने हो भने बावुले अंश नदिएको विरक्ततामा जङ्की पंकस भएँ, जङ्की पंकस भएको भोलिपल्ट भोकभोकै रहें । भोक पनि धेरैभन्दा धेरै सहें, अनशनै भो त नि भन्दै सहँदै गरें तर मेरो केही चलेन । अजिंगरको आहारा दैवले जुटाउँछ भनेझैं अनशन तोडेर जङ्की पंकसको नेता भएँ । नेता भएपछि ज्यान गुजार्न ध्यान नदिए पनि फरक नपर्ने रहेछ । तर जङ्की पंकस परिवारको लागि पनि अर्घेलो, सरकारको लागि पनि अर्घेलो, तथापी मैले हिम्मत नहारी एकोहोरो अगाडि बढ्दै रहें । जमानाले कोल्टो फेरेपछि उहिलेको जस्तो अहिले छैन, अहिलेको जस्तो पछि हुँदैन भने हामी आधुनिक मानवले फेसन र चेहरा किन नफेर्ने ? हामीलाई देख्नेबित्तिकै सबैलाई एलर्जी हुने भएपछि हामी यस समाजमा किन रहने ? हाम्रो छुट्टै समाज हुनुपर्छ भन्ने मागका साथ हामीले सरकारसमक्ष अनन्त सुत्रीय माग राख्यौं । राष्ट्रिय निकुञ्जजस्तै हामीलाई दोस्रो पशुको दर्जामा झारेर भए पनि ‘राष्ट्रिय मानव जङ्की निकुञ्ज’ नामाकरण गरी नेपाल अधिराज्यभरिका मात्र होइन अतिथि जङ्की पंकस हुन् या डंकिनी पंकसलाई एउटा निश्चित एरियामा पशुलाई झैं तारले बारेर पर्खालले घेरेर, बकुल्लालाई झैं खुल्ला राखियोस् । हाम्रो मादकपदार्थ सेवन गर्ने मौलिक हकलाई कानूनी मान्यता दिलाइयोस् । हामीलाई थाहा छ, कानूनले बाहेक अर्को कुनै प्राणीले पनि हाम्रो संरक्षणमा योगदान दिन सक्दैन । यसै कानूनको छत्रछायाँमा रहेर बावुको माया पाए पाइन्छ, आफन्तले निकुञ्जमा ल्याएर खान दिए खाइन्छ । सक्छ सरकारले खान देओस् सक्दैन दाताराष्ट्रलाई पुकारोस् तर हामीलाई अरु आहाराले नपुग्ने र नछुने हुनाले लागू पदार्थ नै चाहिन्छ । हैन पाल्न सक्दैन भने पनि हामी मानवलाई फाल्न चाहिँ पाइँदैन । बरु हाम्रो राष्ट्रिय मानव जङ्की निकुञ्जभित्र लागू पदार्थको खेती गर्न दिइयोस् । सिजनअनुसारको बीउविजन उपलब्ध गराइयोस् । खेती उत्पादन आफैं गर्छौं, हामी स्वयं स्वावलम्बी बन्छौं । परनिर्भर नभएपछि कसैलाई कसैको टन्टो पनि पर्दैन र कसैलाई कसैको रन्को पनि पर्दैन । यसो भएपछि न बावुको अंशमा छोराको हंस, न त बिग्रन्छ कसैको वंश, न प्रहरीलाई दुःख न जङ्की पङ्सलाई दुःख । दायाँ सुख, बायाँ सुख, यत्र सुख तत्र सुख सधैं सुख, सबै सुख, आरामले सुत, खाएकै थालमा चुठ, जङ्की समूहलाई उँभो लगाउन जुट, एकआपसमा नफुट, थुनेर चुट्दा पनि नचुट, लुट्नेले लुट्दा पनि नलुट । सबैलाई छुट, सबै थोक छुट ।
हाम्रो राष्ट्रिय मानव जङ्की निकुञ्जक्षेत्रमा साधारण र सक्रिय भनी छुट्याइँदैन, सबै लिङ्गलाई बराबरी मान्यता दिएर शरण दिनेछौं । यस निकुञ्जभित्र उत्पादन भएका कलिला जङ्की पंकसलाई पढाउने पाठदेखि लिएर जलाउने घाटको व्यवस्था पनि यही हुनेछ । हामीले हकभोग गर्दै आएका लागू पदार्थ आफ्ना सन्तानलाई मात्र नभएर अतिथि, शरणार्थी, दुःखी–दरिद्री, कङ्गाल, चण्डाल आदिलाई विनाशर्त हकभोग गर्न पाउने व्यवस्था गर्नेछौं । गर्भैदेखि लालाबालालाई कुलत खान वा तान्न तालिमको व्यवस्था हुनेछ । सचेत मानवले जस्तो अचेत भएर सन्तानलाई दूधको लाम्टो चुसाउँदा हामी पंकसको शरीरको अंशमा नराम्रो ¥हास हुनेहुनाले जन्मिदै लागू पदार्थ चुसाउने, खुवाउने, पिलाउने वा सुइलाउने र कालान्तरमा विनाशर्त हाम्रो अवधारणामा मिलाउने राम्रो व्यवस्था हुनेछ । यसो गर्नाले हाम्रो कार्यव्यवहार बढी पारदर्शी हुन गई अन्तमा बावुको अंशमा छोराको हंस नरहने, एकापसमा दागा नधरी, कसैको शरण नपरी स्वतन्त्र, स–अम्बल, स–प्राण, स–सन्तुष्ट, देहत्याग गर्नेछौं । यसो भएपछि न बावुले दिनुपर्छ अंश न छोराले मच्चाउँछ विध्वंश । भएन त सुख ।

‘ऋषिमुनिका सन्तान सिसीभुनि’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x