सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उज्यालोका विरुद्धमा

Nepal Telecom ad

महान छ हाम्रा लागि अँध्यारोको बीउ
यस्कै जगेर्नामा हामी त्याग्छौँ ज्यान जीउ
उज्यालोलाई छोप्नसके मात्र हुन्छ जीत
अँध्यारोकै प्रशंसामा हामी गाउँछौँ गीत ।

किन बाल्नु लालटिन र धिप्री अनि टुकी
उज्यालोको छिर्का पनि निभाउ फुकीफुकी
झ्याप्पझुप्प झ्याप्पझुप्प कमिशनको मन्त्र
अँध्यारोमै चम्किँने छ हाम्रो लोकतन्त्र ।

कोशबाटै झिकीपाउँ उज्यालोको चित्र
झिलिमिली संसार छ, यै अँध्यारोभित्र
अझै पार्नुपर्छ यस्लाई गाढा नीलो कालो
त्यसै कारण थपीपाउँ धसिँगरे जालो ।

उज्यालोमा तिर्मिराई आँखै नदेख्नेभो
कलम पनि कालो अक्षर लेख्दै नलेख्नेभो
अझै किरण छर्न खोज्छ एक्लो पाजी घाम
बिहानीमै अस्ताइदेओस् छैन त्यस्को काम ।

भाग्य हाम्रो अँध्यारो नै कर्म अँध्यारो नै
आस्था अनि आदर्शको चहक अँध्यारो मै
छ्याङ्ग देख्ने उज्यालो त्यो भोभो चाहिँदैन
हाम्रो प्रिय अँध्यारोलाई खोस्न पाइँदैन ।

उज्यालोका विरुद्धमा जुलुस र नारा
चक्काजाम, बन्दैबन्द, टायर बालौँ सारा
खबरदार घुसपेठिया, किन गछौँ झेल
यो अँध्यारो खोस्नेलाई ठोक्नुपर्छ नेल ।

सिल्लीहरू भो नगर बत्ती बाल्ने कुरा
खल्तीभित्र लुकाएर कमिसनको छुरा
तिम्रो खुबी तिम्रो त्याग त्यै छुराले भन्छ
कालो अँध्यारोमै अब नयाँ नेपाल बन्छ ।

कलङ्की, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad