अशोककुमार शिवासभासदको प्रतिबद्धता
पहिलो संविधान सभाले संविधान दिन असफल भएपछि नेपालमा दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो । प्रत्यक्ष तथा समानुपातिकबाट चुनिएर सभासदहरू संविधान सभा भवनभित्र छिरे । सभासदहरूको एकमात्र संकल्प एक वर्षभित्र संविधान तयार पार्ने भन्ने नै थियो तर सविधान सभाको निर्वाचन भएको यतिका दिन बितिसक्दा पनि संविधान तयार गर्ने प्रतिबद्धता अनुरुप काम भएको सुन्न पाइएको छैन । अवस्थाको अध्ययन गर्दा उक्त प्रतिबद्धता पुरा हुने कुरामा शङ्का छ । अहिलेसम्म सरकारको पक्षबाट मनोनित हुने २६ जनाको मनोनयन हुन सकेको छैन । जाबो यति सानो काम त बेलामा हुन सक्दैन भने एक वर्ष भित्रमा संविधान तयार हुन्छ भनेर कसरी विश्वास गर्नु ?
दल अनुसारको सभासद नीति अनुसारको काम हुन्छ भन्ने सुन्या थ्यो आज नयाँ प्रत्रिकामा पढेर विश्वास गर्न कर लाग्यो । परिवार दलबाट समानुपातिकमा चुनिएकी सभासद मिलन राजवंशीले बिहे नभएसम्म भर्जिनिटी जोगाई राख्ने रे । संविधान सभामा यो विषयको समिति बन्या छ कि छैन ? बन्या भए त समितिले जाँचबुझ गर्ला नबन्या भए यिनको भर्जिनिटी कस्ले परप्क्षण गर्ने ? प्रतिबद्धता पुरा हुन्छ भनेर विश्वास गर्ने आधार के छ ? पहिला त आधार तयार गर्नु प¥यो । अनि पो मूल्याङ्कन गर्न सकिन्छ । फेरि विवाह संविधान बने पछि गर्ने हो कि अगाडि नै गर्ने हो ? संविधान बनेपछि विवाह भए त ठिकै होला त्यो भन्दा अगाडि नै बिहे भयो भने त संविधान बन्नमा बाधा होला नि । हनिमुन सनिमुनको धुन पनि बज्ला । कुमार तथा कुमारी सभासदहरू के कति छन् संविधान सभामा ? तथ्याङ्क छ कि छैन ? अरु सभासदहरूको पनि यस्ता प्रतिबद्धता केही छन कि ?
संविधानका विवादित विषयहरूमा टुङ्गो लगाउनु त कता हो कता संविधान तयार गरेर घोषणा कस्ले गर्ने भन्ने कुरामा नै अल्मलिएर रुमल्लिएर रहेका दलहरू कहिले मिल्लान् र संविधानको बाँकी काम गर्लान् खै ! हुँदा हुँदा त संविधानको कभर पेपर कतिको मोटो राख्ने, कस्तो कलरमा राख्ने, कभर पेज डिजाईन कस्तो गर्ने, कुन आर्टिस्टलाई डिजाईन गर्न दिने भन्ने कुरामा पनि चरणबद्ध बार्ता गर्नु पर्ने होला । देश सङ्घीयतामा गईसक्या छ तर स्वरुप तयार भएको छैन भोलि स्वरुप कस्तो बन्ने हो त्यो पनि सुदूर नै छ । संविधानले स्थानिय संरचना कस्तो तय गर्ने हो थाहा छैन तर स्थानिय निकायको निर्वाचन गर्ने ताउरमाउर सुरु भएको छ के हो खै केही बुझे त मर्नु ।
पटक पटक देशको अस्मितामा धावा बोल्ने काम भएको छ तेता चुँसम्म गर्ने हिम्मत कसैमा छैन । शिव शर्मा जस्तै भएका बृद्ध युवा देशका प्रधानमन्त्री भएपछि टनकपुरमा भारतले बनाएको एफ्लक्स बण्ड उसैको भूमिमा बनेको हो भन्दै हिँड्छन् । रहस्य के हो थाहा कसैलाई छैन । विवाह नहुँदासम्म भर्जिनिटी जोगाउने विचारमा प्रतिबद्ध सभासदले देशको अस्मिताको बारेमा कतिको चिन्ता लिएकी छन् ? त्यसैले संविधान निर्माण गरेर देशको भर्जिनिटी पहिला जोगाउँ । त्यसो गरे राम्रै होला ।
गल्को पाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































