माणिकरत्न शाक्यबिहेको सत्कार– चुलोमाथि
मेरो टोले नेवार मित्रको विवाहमा जन्ती जानको लागि मलाई निम्तो पठाए । बिहेको दिन बेलुकीपख घरका मान्छे सहित निम्तालु जन्तीहरूले एक बस टन्न थियो । त्यही हुलमा म पनि मिसिएँ । हामी चावहिल कुटुबहालबाट पाटनको इमाडोलमा त्यही रात बस्ने गरी गइयो । बेहुलीको घरमा पुगेपछि त्यहाँका मानिसहरूले हामीलाई अतिथि सत्कार गरे ।
पहिला त बेहुली लिन दुलाहाका बाउ सहित जन्ती जान्थे अनि दुलही ल्याउँथे । दुलाहा चाहिँ दुलहीको पर्खाइमा घरमा बसिरहन्थे । दुलही घरमा ल्याएपछि मात्र विहेवारीको कार्यक्रम शुरु हुन्थ्यो । अहिले त्यो चलन हटेको छ ।
त्यसबेला देख्दा गाउँघरको पुरानै ढाँचामा अवस्थित थियो– इमाडोल । अतिथि सत्कारको क्रममा एउटा पुरानो घरभित्र हामी सबैलाई भित्र्याए । घरभित्र ओच्छाइराखेका ठाउँमा सबै लस्करै बसे । साथीभाइहरू जम्मा भयो कि रमाइलो गर्नुपर्ने मेरो बानीले गर्दा कसैको पनि बिहाको जन्तीमा मलाई छुटाउँदैनथे । घरभित्र छिर्ने क्रममा अन्तिमतिर परे म । सबै साथीभाइहरूले मलाई अग्लो ठाउँमा माथि बस्न कर गरे । बस्या मात्र के थिएँ म त स्वाट्टै भित्र पसेँ, खुट्टा त आकाशतिर ठाडो हुन थाल्यो । चुलोमाथि सुकुल ओच्छ्याएर त्यसमाथि राम्रो तन्नाले छोपेर राखेको रहेछ । चुलोको डाँडीले मेरो भार थाम्न नसकेर म त गल्र्यामगुर्लुम भित्र पसेको पो रहेछु । चुलो भत्कियो । म त अक्क न बक्कमा परेँ । त्यहाँ उपस्थित सवैजना मेरो अनुहार हेरेर हाँसिरहेका थिए । आपूmलाई भने अप्ठ्यारो लागेर ङिच्च दाँत देखाएर बसिरहेँ । साथीभाइहरूले हाँस्दै मलाई बिग्रेको चुलोबाट तानेर बाहिर निकाले । अब साथीभाइहरूलाई के चाहियो र ! जस्को अनुहार पनि च्यातिएको मात्रै देख्न थालेँ ।
साथीको बिहेमा जन्ती जाँदा चुलोमाथि राखेर सत्कार गरेको देख्ता त्यो बेला अरुहरू हाँसे म हाँस्न सकिन । अहिले भने त्यो घटना सम्झ्यो कि भित्रैदेखि हाँसो उठ्छ ।
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest







































