बागमती प्रदेश सञ्चार कार्यालय लामो

हाँसोको जात-थर

हिजोआज हाम्रा स्वतन्त्र भलादमी, शिक्षित गफी, बुझक्कड बुद्धिजीवी अर्थात् अलपत्रिएका नेता, खोसिएका मन्त्री, नगनिएका लेखक, प्रमोसनमा हेपिएका कर्मचारी जागिर नपाएर रङमङिएका ग्राजुएटहरू सबै पँधेरेहाँसो हाँस्तछन् ।

“हांस्यो कि काम नास्यो” भन्ने उहिल्यैदेखिको उखान अहिलेसम्म चलेकै छ । तैपनि हामीले भने हांस्न छाडेका छैनौं । काम त के, मामै नासिए पनि हाम्रो हासो कुनै दिन नासिएको छैन । छाती फुलाएर महादेव या भीमसेनको जस्तो अट्टहासे खित्का छाड्न हाम्रो बर्गतले नभ्याए पनि नाक बजाएर आफ्ना नारानपाते फुस्रा ओठ फट्याउन मरिगए कोही छाड्ने हुन् र ? कोही खित्त गर्छन् भने कोही खितितित्त गर्छन् । कोही हल्ल गर्छन् भने कोही हललल्ल गर्छन् । कोही मुसुक्क मुस्कुराउँछन् त कोही डिसिक्क ओठ बङ्ग्याउछन् ।

“हाँस्यो कि काम नास्यो” भन्ने सिद्धान्त कडा भयो भनेर नै होला हाम्रा आदिकवि भानुभक्तले भनेका थिए- अरूले हाँसे हाँस, तर बुहारीहरूले चाहिँ कत्ति नहाँस है । तर अचेल बुहारी मात्र त के भूतपूर्व बुहारी, बुहारीका उम्मेदवार सबै खिलखिलाइदिन्छन् ।

अँ, यसरी बाह्रै महिना बाह्रै काल केही न केही रूपमा हामी हांस्त खोज्छौँ । यद्यपि तपाईं-हामीजस्ता गरिबगुरुवाहरूको कर्ममा खिलखिलाएर हाँस्ने साइत बिरलाकोटी मात्र पर्छ । तैपनि हाँस्न त हामी खोज्छौं, खोज्छौं । त्यसैले हाँसोका जात-थर, नाम, दर्जा इत्यादिको विश्लेषण गरेर सानू-सानु रूपमा भए पनि बिस्तारबिस्तार हामीले हाँसोशास्त्रको चर्चा गर्नु नितान्त आवश्यक छ । “रोटी पनि हेर्नाका छन् राँड” भने झैँ हांसो पनि त हेर्नाका होलान् नि ! हाँसोका धनीले यसबारे केही विचार गरेनन् भन्दैमा हामी हाँसोका गरिबहरू पनि केही कनीकुथी किन नगरूँ ? आखिर धनीबाट भएको पो के छ र ?

अँ, हाँसोलाई प्रतिध्वनित गर्ने शब्द अचेल हाम्रो भाषामा धेरै नै बटुलिइसकेका छन् । जस्तै- (१) खिस्स, खिसिक्क (२) मुसुक्क मुसुमुसु (३) हल्ल, हललल्ल (४) ङिस्स, ङिसिक्क (५) खित्त, खितित्त, खितितित्त इत्यादि । तर लेखन्ते र बकन्तेले प्रयोग गर्दैमा हाँसीको विधि नै यो विधि छन् भनी मान्न सकिन्न । छानविन गरेर हेर्दा हाँसो चार भागमा मात्र बाँडिएको छ, जस्तै खिसिक्क, मुसुक्क हल्ल र हललल्ल । हल्ल र हललल्लको स्त्रीलिङ्गी रूप खित्त र खितितित्त हो । किनभने यी शब्दले आइमाई हाँसेको भन्ने सम्झिन्छ, जस्तै- “ती छँडुल्लीहरू खितितित्त हाँसे ।” कोही मन नपरेको मान्छेको हाँसो वणर्न गर्दा उसले जतिसुकै राम्रो मुस्कान छोडेको भए तापनि ’फलानो ङिस्स हास्थ्यो’ भनी हेलचेक्य्राइको दृष्टिले वणर्न हुन्छ । यसकारण ङिस्स र ङिसिक्क पनि ’मुसुक्क’ कै विकृत रूप हुन् भनी माने हुन्छ । अब बाँकी रहन आउँछन्, उही चार प्रकार खिसिक्क र मुसुक्क हल्ल र हललल्ल । बुझ्न सजिलो होला भनी यी चार प्रकारका हाँसोमध्ये खिसिक्कलाई ’राजहाँसो’ मुसुक्कलाई ’भारदार हाँसो’ हल्ललाई ’पब्लिक हाँसो’ र हललल्ललाई ’मतवाली हाँसो’ भनी बूढापाकाहरूले नाम राखेका हुँदाहुन् । कतिपय बाठा-बुज्ुगहरूले दोस्रो दर्जाको ’मुसुक्क’लाई ’कामिनी हाँसो पनि भन्ने गर्थे होलान् । जे भए पनि राजा रजौटा, भारदार, साधारण जनता र मतवाली (अछूत। यी चार वर्गमा विभाजित त्यस बेलाको समाजलाई एक-एक प्रकारको हाँसो भाग लागेकै थियो । तर दर्जाअनुसारको हाँसो बाँडिए तापनि एउटा सुविधा के थियो भने उपल्लो दर्जाका व्यक्तिले नीचा दर्जाको हासो हाँस्दा न दर्जाको अपमान सम्झिन्थ्यो, न भात-पानीकै सवाल उठ्थ्यो । खास गरेर भारदार्नी युवतीहरूचाहिँ कहिलेकाहीं भित्तै फाट्ने गरेर मतवाली हाँसो पनि हाँसिदिन्थे यो चलन अहिलेसम्म चलेकै छ ।

समय बित्दै गयो भनूँ वा अघि सर्र्दै गयो भनूँ, मतवाली हाँसोलाई फोक्सो सफा गर्ने हाँसो भनी विज्ञानले सर्वोत्तम ठहर्याइदियो । पहिलो दर्जाको राजहाँसो (खिसिक्क) लाई आधुनिक ठिटाटिठीले बिरामी हाँसो भनी पन्छाइदिए । दोस्रो दर्जाको भारदारी हाँसो (मुसुक्क) लाई नवोदित युवक युवतीले आफ्नै दाइजो सम्झी प्रेमको माध्यम बनाउन थाले । वर्ग बढे, पद बढे, वाद बढे र फेसन बढे । यी सबैका लहैलहैमा हाँसोका पनि भेद, विभेद र उपभेद निस्किए । शाब्दिक विश्लेषणले मात्र नभ्याई भावको आधारमा हाँसोको विश्लेषण र वर्गीकरण नगरी नहुने स्थिति आइपुग्यो ।

यसरी भावात्मक अध्ययन र अनुसन्धान समाजव्यापी रूपमा गर्दा हाँसोको भेद, विभेद, उपभेदहरू नेपालका लेखक-कवि झैँ तालतालका निस्किन्छन् । त्यसैले टाउके-टाउके प्रकारको मात्रै यहाँ चर्चा गर्नु सम्भव होला ।

बूढाबूढीहरू उखान गर्छन्, “अचेलका ठिटाठिटीहरू कुक्कुरको पुच्छर बाङ्गो देखे पनि हाँसिदिन्छन् ।” नभन्दै अचेल नेप्टीको नाक देखेर कोप्ची ङिस्स गर्छे, कोप्चीको आँखा देखेर नेप्टी खितित्त गर्छे । मोटालाई थसुल्लो, थुम्बे, घ्याम्पे, भकारी, ढोक्से, ढब्बू र ढेडू इत्यादि विशेषण दिएर दुब्ला-पातलाहरू ङिस्स गर्छन्, दुब्ला-पातलाहरूलाई सिद्रो, टिम्मुरे, स्याल, जिरिख्याम्चे, नसे, मरीच, जिम्मु इत्यादि विशेषण दिएर मोटाहरू ङिसङिसाउँछन् । यो हाँसो प्राय ङिस्स र ङिसिक्कको रूपमा प्रवाहित हुन्छ । त्यसकारण यस प्रकारको हाँसोलाई मेरो आधुनिक हास्यविज्ञानले ‘कुकुरपुच्छ्रे हाँसो’ भन्ने नाम दिएको छ । कुकुरपुच्छ्रे हाँसो नेपालको मौलिक हाँसो हो तापनि अलिअलि फिल्मी पालिस लगाएर यसलाई कर्के छड्के र छिर्के गराई आजका युवक-युवतीहरू हास्ने गर्दछन् ।

अर्को छ पँधेरेहासो । धारापँधेरामा पानी लिन जाने आइमाईहरू डोका न डालाका गफ झिकेर हाँस्ने गर्छन् । यिनैबाट उत्पत्ति भएकोले पहिले पँधेरेहाँसो यस्तै पँधेर्नीहरूमा मात्र सीमित थियो । तर हिजोआज हाम्रा स्वतन्त्र भलादमी, शिक्षित गफी, बुझक्कड बुद्धिजीवी अर्थात् अलपत्रिएका नेता, खोसिएका मन्त्री, नगनिएका लेखक, प्रमोसनमा हेपिएका कर्मचारी जागिर नपाएर रङमङिएका ग्राजुएटहरू सबै पँधेरेहाँसो हाँस्तछन् । क्रुश्चेभ र केनेडीलाई जोखतौल गरी हाइड्रोजन, एटम, उपग्रह निरस्त्रीकरणदेखि लिएर टुकुचामा मूला पखालेका कुरासम्मको विचार-विमर्श र वादविवाद गर्दागर्दै बीचबीचमा यिनीहरू यस्तरी हाँसिदिन्छन् कि घरको भुटुन-समस्यासमेत त्यही हाँसोमा बतासिएर अट्टहास गर्न थाल्छ । गफ गर्न पढेका, जागिर खान डिग्री लिएका, मन्त्री हुन पार्टी खोलेका, पैसा कमाउन पत्रिका चलाएका, दक्षिणा लिन रामनामी बेरेका, नाम छपाउन कविता लेखेका यी भलादमीहरूले टुंडिखेलको दूबो चिमोट्तै हाँस्ने यस किसिमको पँधेरेहासी हाँस्न कत्ति पनि गाह्रो पर्दैन । तर हाँस्ता कि अर्काको नाडी समाएर घचघच्याउनपर्दछ, कि आफ्नै विधाको मादल बजाउन भने बिर्सनु हुँदैन । पँधेरेहाँसोलाई ००७ सालपछिको नेपालको सबैभन्दा विकसित हाँसो भनिदिए हुन्छ ।

अर्का थरी नाकनिके हाँसो हाँस्तछन् । अल्लारे ठिटाठिटीहरूका कामकुरोलाई नाकनिक गर्दै बुढी आमैहरूले यो हाँसोको सिर्जना गरेका हुन् । तर अचेल नाकनिके हाँसोले पनि हाम्रो समाजमा निकै आदर पाएको छ । श्रीमान् ‘क’ को कुरा सुन्दा श्रीमान् ‘ख’ नाक चेप्याएर मुख छोपी हाँस्तछन् । श्रीमान् ‘ग’ को कुरा सुनेर श्रीमान् ‘घ’ नाकनिकाउँछन् । फलाना नेताको भाषण तिलाना नेतालाई हास्यप्रद बन्दछ, ढिस्कानाको सिद्धान्त सुन्दा अर्कालाई हाँसो उठ्छ । श्लोकबद्ध कविता देखेर नयाँ कवि खित्का छाड्छन् । आधुनिक कविता पढ्दा पुराना कविहरूको तालुदेखि पैतालासम्म चिलचिलाएर हाँसो उठ्छ । तपाई भन्नुहोला नाकनिके हाँसो र कुकुरपुच्छ्रे हाँसो उस्तै त हुन् नि ! तर अलि याद राख्नोस् नाकनिके हाँसोमा अरूलाई दुई पैसामा पनि नगनी गिज्याउने गुलियोपन रहन्छ, कुकुरपच्छ्रेमा खल्लो हाँसो मात्र ।

अर्को एक थरी हाँसो छ- कालिदास हाँसो । कपुरी ‘क’ दुब्लाएको भनी जुन बेला महाकवि हुने कालिदासजी रोएथे, त्यस बेलादेखि यो दयनीय हाँसो, जन्मिएको हो । यो हाँसो हाम्रा तराई पहाडतिरका अनजान गाउँले दाजुभाइहरू हाँस्छन् । उनीहरूको भूगोलमा नेपालको दक्षिणतर्फ घोरमुखाको मुलुक छ, पूर्वतिर १८०० सिंढी भएको स्वर्ग जाने भर्‍याङ र उत्तरतिर पाताल जाने १०८ कोसको सुरुङ छ । उनीहरूको राजनीतिमा पृथ्वीमा जम्मा चार बादशाह छन् । बङ्गाल र मद्रासको लडाई हुन्छ, २०२० सालमा पृथ्वी घोप्टिएर मान्छेजति सारा पातालपोखरीमा मुन्टो गाड्न पुग्छन् इत्यादि अनौठाअनौठा कुरा उनीहरू थाहा पाउँछन् र मरीमरी हाँस्छन् ।

अचेल यस्तो पनि एक वर्ग हाम्रो समाजमा देखिएको छ, जसलाई आफ्नो बुद्धि-बर्गतले नभेटे पनि नाम कमाउने भोकले सताएको हुन्छ । आफ्नो हुस्सूपनलाई उडाउँदै अरू हाँसेको थाहै नपाई मैले खूबै राम्रो ग्रन्थ लेखेंछु भनी गजक्क पर्ने लेखक, मैले राजनीति बुझेको छु भन्ने ठानी घिरौंलाजत्रो. नाक पार्ने तीनसुके नेता र मेरो बोलाइको माधुर्य कस्तो छ भन्ठानेर गम्कने वक्ता इत्यादि । यिनीहरू अरूले आफूप्रति व्यङ्ग्यात्मक भावले हाँसेकोलाई प्रशंसा सम्झेर स्वयं पनि हाँस्न थाल्छन् । यस्तो अर्थात् आफ्नो काम र कृति देखेर आफैँ छाडिने बोके आत्मगर्वको फोस्रो मुस्कानलाई ‘बाँदरपुत्रे हाँसो’ भन्नुपर्दछ । एकपल्ट एउटी बादर्नीले आफ्नो भुत्ते चिउँडो भएको छोरालाई सुन्दरताको प्रतियोगितामा विजयी बनाउन लगेकी थिई रे । त्यस बेलादेखि हाम्रो समाजमा बाँदरपुत्रे हाँसोले जरो गाडेको हो भन्ने बूढापाकाको अन्दाज छ ।

अर्को एक थरी झन् मजाको हाँसो छ गँजडी हाँसो । गँजडीका गफको बयान गर्दै महाकवि देवकोटाले एउटा उदाहरण दिनुभएको छ- एउटा मान्छे हिँड्दाहिँड्दा यतिसम्म हिँड्यो रे कि उसको पैतालादेखि टाउकोसम्म खिएर साँझमा ‘टुपी’ मात्र लुखुरलुखुर घर आइपुग्यो रे । यस्तै जिली न गाँठीका तर मरीमरी हाँस्नुपर्ने कुरा गँजडीहरू निकाल्छन् । हिजोआज गँजडीभन्दा सोमरसीहरूको आबादी यस्ता कुरामा बढी देखिन्छ । खास गरी ठूलाबडा भेला हुने रिसेप्सन, कक्टेल पार्टी आदिमा यस्तो हाँसोको फोहरा छुट्तछ । आफू ‘सुध-बुध खोया’ बनेर अरूलाई हँसाउन सक्नु विशेषता हो गंजडीहाँसोको ।

यिनका अतिरिक्त दुलहीहाँसो, चेपारेहाँसो, जङ्गीहाँसो, झक्कडीहाँसो, छुचुन्द्रेहाँसो, मुसुमुन्द्रेहाँसो इत्यादि सयौं हाँसोका प्रकारहरू छन्, यी सबैको चर्चा गर्न थालूँ भने हाँस्ताहाँस्ता पेटका आन्द्राभुँडी चुडिने डर हुन्छ, त्यसैले अहिलेलाई मनमनै हाँस्नु सवैभन्दा राम्रो ।

‘काउकुती’ २०१९

बागमती प्रदेश सञ्चार कार्यालय लामो
लबस्तराको ओखती

लबस्तराको ओखती

भैरव अर्याल
भैरव भन्छन्

भैरव भन्छन्

भैरव अर्याल
इतिश्री

इतिश्री

भैरव अर्याल
जय भुँडी

जय भुँडी

भैरव अर्याल
चरिचुच्चे ‘च’

चरिचुच्चे ‘च’

भैरव अर्याल
अवसरवादी दर्शन

अवसरवादी दर्शन

भैरव अर्याल
लबस्तराको ओखती

लबस्तराको ओखती

भैरव अर्याल
बण्डापत्रको भण्डाफोर

बण्डापत्रको भण्डाफोर

श्यामबहादुर लामा
बम बम भोला !!!

बम बम भोला !!!

केशवराज पिँडाली
अथातो भालुजिज्ञासा

अथातो भालुजिज्ञासा

वासुदेव शर्मा लुइँटेल