सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परदेशी

मलाई एक किसिमको छटपटी, डाह भएर आयो । म फेरि भित्र पसें । पिताजी अझै झोक्रिइरहनुभएको थियो । “परदेशी अब भ्रमणका लागि कहिले आउँछन् पिताजी ?” मैले सोधें ।

Nepal Telecom ad

गोधूलि बेला हुँदो हो । पिताजी सधैँको नियमित समयमा होटेलको कार्य सकी घर फर्कनुभएको थियो । साथमा थियौ तिमी अपरिचित ।

“अनिला ।” पिताजीले मलाई सम्बोधन गरी तिमीतिर इसारा गर्दै भन्नुभएथ्यो, “यहाँ परदेशी हुनुहुन्छ, पहाड भ्रमणका लागि पाल्नुभएको । होटेलमा बस्न रुचाउनुभएन, साथमा लिई आए । एक कवि हुनुहुँदो रहेछ । काव्यका सृजनाको निम्ति एकान्त ठाउँ खोज्नुहुँदो रहेछ । एकैछिनको कुराले थाहा पाएँ, मानिस हीरा हुनुहुँदो रहेछ । हाम्रो पूर्वलङ घरको तल कोठा खाली परिरहेकै छ, को भन्छ्यौ ?”

एकैछिनको कुराकानी वा बसउठबाट यो हीरा र यो कीरा बनी छुट्टिन्छ भन्ने पिताजीको धारणादेखि मलाई रिसै उठ्यो । परदेश जति निस्केपछि रोजा र छाडा ठाउँ खोज्ने तिमीदेखि त झन् मलाई आक्रोश भयो । बडो नकच्चरो र बेसोमती आचरण हुन्छ क्या प्रायः तिम्रा उमेरका मान्छेहरूको । ती टिलीटिली निल्ने र भोका आँखाले युवतीहरूलाई हेर्न थाल्छन् । तिमी पनि तिनकै जातको त एउटा थियौ । अतः मलाई सारा युवकहरूदेखि घृणा छ । मैले त्यसै दिन कहाँ चिन्न सकेँ र तिमीलाई !

“अनि ! कसो भन्ने त ?” पिताजीले फेरि त्यही प्रश्न दोहोऱ्याउनु भएथ्यो । सायद तिमीलाई पनि सम्झना होला सत्ते । म त झनक्क भएँ तर व्यक्त भने मैले केही हुन दिइनँ । “आशा दिएर आफूले ल्याइसकेपछि फेरि मसँग यो केको सोधाइ वा बक्साइ !” मलाई आक्रोश साथै घृणा पनि बढेर आउदै थियो । पिताजीदेखि त हैन नि परदेशी ! तिमीदेखि – तिमीदेखि बडो बेमनले गई मैले ताल्चा खोलिदिएथें । पिताजी र तिमी दुवै अघिपछि गरी भित्र पसेथ्यौं । कुन्नि सम्झन्छौ कि सम्झन्नौ ।

कुरा के-के भए त्यो त म जान्दिन, तिमी नै जान्लाऊ । तर पिताजी निकै रात वितेपछि कोठामा आउनुभयो । म पनि सुत्न त कहाँ सकेकी थिएँ र । “अनि छोरी !” पिताजीले स्नेहसिक हुँदै भन्नुभयो, “ती भलादमी त बडो राम्रो अध्ययन भएका एक विस्तृत र विकसित मस्तिष्कका पो रहेछन् । कुरा जति सुनिरहे पनि सुनिरहूँ लाग्ने हाम्रो यस ठाउँको प्राकृतिक सौन्दर्यले लोभिएर आएका रहेछन् ।” पिताजीले एकसासमा भन्नुभयो । कुनै उरन्ठेउलो आइलाग्यो आज भन्ने मलाई त रिस उठिरहेको थियो, पिताजीको यस प्रकारको तारिफले झन् बढ्यो । “अलि यताउताको गफ जान्ने कुनचाहिँ फटाहा आइलागेछ आज, पिताजी रिझिन के बेर ?” मैले हाँस्दै केही व्यङ्गयले भनें ।

“यी कुरा हैन लुच्ची ! मानिस साँच्चीको गुणी छन् । तिमी त जसलाई पनि खोट र दोष लगाइहाल्छ्यौ ।” पिताजीले फेरि भन्नुभयो ।

“यी युवकहरू प्रायः उच्छृङ्खल र छटाएका हुन्छन् मैले त ठानें यो चर्को रहेछ ।” मैले फेरि भनें । “धत् लुच्ची । सबै युवक उच्छृङ्खल नै हुन्छन् भन्ने तिम्रो धारणा नै झन् निराधार छ । कुनै यस्ता रत्न पनि हुन्छन् । यी तिनैमध्येका एक हुन् ।” पिताजीले एक हल्का मायाको चड्कन मेरो गालामा प्याट्ट दिनुभयो ।

“कुन्नि उसो भए ।” म पिताजीको काखमा घोप्टिएँ । “जाऊ सुत, रात धेरै गइसक्यो ।” पिताजीले दुवै हातले मलाई उठाउँदै भन्नुभयो, म आफ्नो ओछ्यानमा गई पल्टें । एकछिनपछि निदाइ पनि हालिछु । परदेशी ! त्यस दिनसम्मन् न मेरा दिन लामा थिए न त काटेर नकाटिने रात । सबै बिजुलीको चमकजस्तो क्षणिक र सुखले परिपूणर् थियो ।

बिहान सबेरै नै बिउँझें । किन हो कुन्नि तिमीलाई एक पटक फेरि नियालेर हेर्ने भित्रैदेखि एउटा प्रेरणा कुन्नि कताबाट आयो । म उठें र बार्दलीमा गएँ । तिमी निहुरेर के हो लेखिरहेका थियौ । अनुहार मैले देख्न सकिन र नदेखी म हट्न पनि सकिनँ । म त्यहीँ बसिरहें, बसिरहें, बसिरहें, बसि नै रहें । एकछिनपछि तिमी उठेर कोठामा ओहोरदोहोर गर्न थाल्यौ । ‘मेरो उपस्थितिको भान परेछ क्यार, कबायद खेलेर रिझाउने प्रयास होला अब मोराको ।’ मैले मनमनै सोचें । मलाई रिस त उठ्यो तर पनि म बसि नै रहें । मैले अझै पनि तिम्रो अनुहार राम्रोसँग कहाँ देख्न सकेकी थिएँ र । तिमी उठेका थियौ माथिल्लो तला बाँकेतर्फबाट, तिम्रो कुमदेखि तलको अङ्ग मात्र मैले देखिरहेकी थिएँ । एकैछिनपछि तिमी झ्यालमा आयौ । एक एकछिनमा मुख चेप्रयाउँदै तिमीले हातले कन्चट थिच्यौ र आँखा पनि तिम्रा रसिला थिए । यस्तैमा आँखा जुधे, हाम्रो आँखा चार भयो, तिमीले मतिर हेरी मुसुक्क गरेर नमस्कार गर्‍यौ । मलाई तिम्रो यस्तो आचरण देखेर रिस उठ्यो । अतः तिमीलाई सुनाउने नै उद्देश्यले मैले भन्भनिंदै भनेथँे, “झन् कस्तो बित्पाते पो रहेछ सिलटिमुरे ।” अनि म भित्र पसिहालेँ । तिमीमा यसको प्रतिक्रिया के भयो हेर्न बा कुरा अगाडि बढाउन म बसिरहिन ।

यसको केही बेरपछि तिमी बसेकै कोठाबाट पिताजीले मलाई डाक्नुभयो । म परिणामसँग जुध्ने नै अठोटले तयार भएर गई तिम्रो संघारमा ठिङ्ग उभिएँ । तिमी कम्बलमा गुटुमुटु थियौ र पिताजी हुनुहुन्थ्यो तिम्रो सिरानैनिर “अनि यहाँलाई आज राति नै देखि ज्वरो आएछ, भुङ्ग्रोजस्तो छ, पानी अलिकति उमालेर ल्याइदेऊ बा । म औषधि दिन्छु ।” पिताजीले मलाई देख्नासाथ भन्नुभयो “भो भो उहाँलाई किन तकलिफ । मेरो ज्वरो औषधिबिना नै पनि ओर्लन्छ ।” तिमीले क्षीण आवाजमा भनेथ्यौ- “यो पनि तकलिफ हुन्छ र ? यो त मान्छेलाई मान्छेले गर्ने कर्तव्य हो ।” पिताजी भन्दै हुनुहुन्थ्यो, म हिँडिहालेँ ।

हातमा पानीको भाँडो लिई म ग्वाम्म भित्र पसिहालेँ । तर त्यहाँ पिताजी हुनुहुन्नथ्यो, तिमी मात्र थियौ । एक्लै, परदेशी ? म साँच्ची भनिरहेछु मलाई त्यसबखत त्यहाँ बसूं न जाऊँ भयो मलाई सत्ते, त्यस बेला रिस उठेको थिएन । तर म किन रही रही रोमाञ्चित हुन थालेँ । एक्कासि शरीरमा तातो रगत दौडन थाल्यो आफ्नो छातीको ढुकढुक म आफैँ सुन्न थालेँ । यस्तैमा तिमीले भनेथ्यौ, “देवी ! म यहाँ बस्नाले तपाईंलाई साह्रै तकलिफ भएछ । बिरामी भएँ, अब अगाडि बढ्न पनि सक्दिनँ, अतः घर फर्कन्छु । नमस्कार । अपराध हैन, अपराध दृष्टिकोण हो ।” यति भनी तिमी थामियौ । सायद तिमीलाई बोल्न गाह्रो भइरहेको थियो । तर मैले त्यही पाएँ तिम्रो सम्बोधन, कुरा गराइको सुकुमारिता कति सुन्दर थियो । लाग्दथ्यो सुनिरहूँ, सुनिरहूँ म लागु खाएकी जस्ती भएँ । पिताजीको झ्वास्स कोठामा प्रवेश भएपछि पो म झल्यास्स भएँ । तातो पानीको कचौरा कसरी हातबाट फुस्क्यो पत्तै पाइन, सायद म सपना देखिरहेकी थिएँ । मनमा चोर पकडिएको जस्तो भान पर्‍यो । अनि म हुरिंदै कोठाबाहिर निस्केर मास्तिर लागें । “कति भनेँ, कति सम्झाएँ यस अवस्थामा नआऊ भनेर मान्दै मानेनन्, हिंडे ।” पिताजी फलाक्दै भर्‍याङ उक्लनुभयो ।

“को पिताजी ?” मैले बडो उत्सुक हुँदै सोधें । “तिनै परदेशी, हनहनी ज्वरो छ तैपनि हिँडे । मानिस अलि जिद्दीवाल रहेछन् ।” पिताजीले अलि चिढिएको शब्दमा भन्नुभयो । “सङ्गत त एकै रातको हो तर किन हो कुन्नि माया लागिरहेछ ।” फेरि स्वरमा भारीपन ल्याएर भन्नुभयो ।

“त्यस्ता मानिस घर कसरी पुग्लान् त ? एक रात बसेकै नाताबाट पनि जान दिन नहुने !” मेरो मुखबाट निस्क्यो ।
“केही गर्दा पनि नमान्ने, जस्तै भने पनि नसुन्ने मान्छेलाई के गर्ने बाबा । मैले ? “मेरो मात्र भनेको त पिताजीको स्वरमा पनि वेदना परिपूणर् पाएँ । मैले फेरि केही सोधिन पनि उठेर बार्दलीमा गएँ । पूर्वलङ कोठाका सबै झ्यालहरू उदाङ्ग थिए, कोठामा तिमी थिएनौ । परदेशी ! तिमीले रोग निमन नै भएर जानुपर्ने । असक्त शरीर, पहाडको यो उकालो-ओरालो र गेग्रयान बाटो तकलिफ कति हुनेछ । न साथमा त्यस्ता कोही भरपर्दा मानिस नै छन्, छ केवल एउटा भरियाको भर । यहाँ बसिदिएको भए पिताजी हुनुहुन्थ्यो, मै पनि थिएँ । सत्ते, तिम्रो स्याहारसम्भार गर्न अब मलाई झर्को लाग्ने थिएन । एकै पटक तिमी मसँग बोलेथ्यौ, त्यसै बेलादेखि मेरो मनमा कत्राकत्रा साँधहरू उठेथे । हिँडिदिइहाल्यौ शायद, अब त्यसै मरेर जाने हौ कि क्या । निर्मम । एक पटक बिदासम्म पनि तिमी मसँग हुन आएनौ ।

परदेशी ! म तिमीलाई घृणा हैन अब प्रेम गर्दछु प्रेम, कति-कति यो म स्वयं भन्न सक्तिन, मैले मात्र हैन तिमीले पनि मलाई चिनिलिएनौ ।

मलाई एक किसिमको छटपटी, डाह भएर आयो । म फेरि भित्र पसें । पिताजी अझै झोक्रिइरहनुभएको थियो । “परदेशी अब भ्रमणका लागि कहिले आउँछन् पिताजी ?” मैले सोधें ।

“अब फेरि आउलान् र ? सायद कविको एउटा तरङ्गमा हिँडेथें । अनि मन भरी भएर फर्कन परेजस्तो कुरा गर्थे ।” निराशाले परिपूर्ण उत्तर पाएँ ।

परदेशी प्रियतम ! सायद अब तिमी आउन्नौ । मेरो यो छटपटी, डाहा सायद अनन्तसम्म यस्तै रहिरहन्छ । म तिमीलाई बिर्सन सक्तिन । यो लामो जीवन कसरी काटूं ! हृदय उकुसमुकुस हुँदै आयो । अटाई नअटाई एउटा लामो सास ह्वास्स निस्क्यो । यसपछि अनि म केही जान्दिनँ, सबै अन्धकार, निशब्द र शान्त भयो ।

०००

खै-खै’ २ं०१६

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल