माणिकरत्न शाक्यसारिराख्न कुनै दिन काम लाग्छ
मैले हिसावको जाँचमा नढाँटीकन भन्ने हो भने ढुट्टो हुने गरि चोरेरै पास गरेको हुँ । तर आत्मसन्तुष्टी चाहिँ भएन ।

तिनताक अर्थात २०४३ सालतिर म चावेलबाट पाटन औद्योगिकमा रहेको अन्नपूणर् फुटवेयर प्रा.लि.मा काम गर्थें । सो कम्पनीको काम भनेको चप्पल उत्पादन गर्नु हो । मेरो दैनिकी समय भित्र (विहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म) यताबाट उता, उताबाट यता सार्नु र मोटरमा लोड गर्ने जस्ता यावत काम गर्नुपथ्र्यो । त्यहाँ जागिरे रहुन्जेल दिनभरि चप्पलको भारी कति बोकियो भनेर साध्य छैन । कारखानाको तर्फबाट एकजना नाइके हुन्थ्यो । तिनै नाइकेको एकताका खुब चाकडी गरियो । किनभने नक्साल स्थित नन्दी रात्री मा.वि.मा बेलुका पढ्न जानलार्ई एक घण्टाको समय छुट लिनु थियो । सो छुट लिन उहाँ पनि बुझकी भएरै मात्रै पाएको थिएँ ।
नक्सालको नन्दी रात्री मा.वि.मा बेलुकाको ५.३० वजे देखि १० वजेसम्म पढाइ शुरु हुन्थ्यो । नाइकेको सहयोगबाट म बेलैमा पाठशाला पुग्थेँ । पाटन औद्योगिक क्षेत्र लगनखेलको सातदाबाटो छेउमा पर्छ । त्यसबेला अहिलेको जस्तो यातायातको सुविधा केही थिएन, चक्रपथ त खाली । एकाध घण्टामा एकदुई मोटर बाहेक केही देख्नै पाइँदैन थियो । चावेलबाट लगनखेल, लगनखेलबाट नक्साल, नक्सालबाट चावेलसम्म घोडा जात्रामा घोडा दौडाएको जस्तो गरी साइकल कुदाएपछि मात्र त्यो दिनको दैनिकी सकिन्थ्यो । मास्टरसाहेवहरू नआएको बेला बाहेक अरुबेलाको नियमित प्रक्रिया त्यही थियो । नन्दी रात्रीमा आउनेहरू सवैजसोको दिउँसो जागिर भ्याएर बेलुका पढ्न आउने मात्रै हुन्थे ।
नन्दी रात्री पाठशालामा मैले तीन वर्ष पढुन्जेल एकजना शिक्षकले गर्नु भएको र भन्नु भएको कुरा आजका दिन सम्ममा मैले बिर्सेको छैन । पदले उहाँ सहायक प्रधान अद्यापक । अनुहारदेखि खुट्टासम्म हेर्यो भने रावण जस्तै देखिने, स्वर त्यस्तै, विद्यार्थीलाई काँचै खाउँला जस्तो उहाँको बानी व्यहोरा । कोही पनि विद्यार्थी अप्ठ्यारो र चेपुवामा नपरी रात्री पाठशालामा पढ्न आउँदैन, त्यो धु्रव सत्य कुरा हो । उहाँले कालोपाटीमा कुनै एउटा हिसाव गर्नुहुन्थ्यो, त्यो कसरी भयो सर भनेर मैले सोधेको त ‘सारिराख्न कुनै दिन काम लाग्छ’ भनेर ओठे जवाफ फर्काउनुभयो । बुझाउन त परैको कुरा भैगो । सरले भन्नु भा’भनेर मैले पनि बुझ्नु न सुझ्नुसँग सारेर राखेँ ।
उहाँले जाँचमा पहिलो, दोस्रो र तेस्रो भएका साथीहरूलाई विशेष प्राथमिकता दिनुहुन्थ्यो अरु सब डम्पिट साइडमा । सरले उहाँहरूलाई पालैपालो सोध्नु हुन्थ्यो- तिमीहरूले बुझ्यौ ? तीनजनाले बुझ्यौं सर भनेपछि त्यो दिनको पढाइ सकियो । आचीको लिँड फुले जस्तो गचक्क फुलेर उहाँ कक्षाबाट निस्कनु हुन्थ्यो । यही हो उहाँको दैनिकी ।
नन्दी रात्रीमा पढ्न आएकाहरू सवै टाठै हुन्छन् भन्ने छैन । मास्टरले पनि टाठैलाई मात्र पढाउने भए अरुको के काम । घरमा पनि आनन्द लिएर राम्रोसँग पढ्न नपाइने, मास्टर साहेवले जे पढायो त्यही सुन्यो मात्र पाठशालाको भरमा । पाठशालामा पनि मास्टरको पढाउने तरीका देखेर आजित थिएँ म । त्यस्ता मास्टरसाहेवले गर्दा हिसावमा लद्दु हुने नै भएँ । हिसाव सरले कालोपाटीमा आएर हिसाब गरेको सार्यो राख्यो । सोध्यो कि ‘सारिराख्न कुनै दिन काम आउँछ’ भनेर खोकेको खोकै, सोध्नै नहुने । उहाँले भने जस्तो कुनैदिन काम आउँछ भनेको त टेस्ट र एस.एल.सी.को जाँचमा चोर्न काम लाग्यो, अरुबेला थोपो काम आएन ।
उहाँले अप्रत्यक्ष रूपमा तिमीहरूले पढेर खादैनौं, चोरेर भए पनि पास गरेर खाओ भनेको होला भनेर अहिले पो बुझ्दैछु । जिन्दगीमा कहिले काम नआउने के विषय पढाएको होला भनेर अहिले ठण्डा दिमागले सोच्दैछु । रा.वा. वैंकमा २५ वर्ष जागीरे कर्मचारी भएर बिताएँ । त्यहाँ जोड, घटाउ, गणन, भागा भन्दा बाहेक मेरो जिन्दगीमा अरु कुनै कामै आएन । त्यसमाथि हिसाबमा लद्दु । त्यस्ता लद्दु विद्यार्थी, कर्मचारी भएर वैंकमा छिरेपछि दैनिकी करोड रूपैयाँको हिसाव क्षणभरमा मिलाउनु पर्छ । हिसाव सरले हिसावमा लद्दु जतिलाई अप्रत्यक्ष रूपमा चोर्न सिकाएर राम्रो गर्नुभयो । आखिर पास हुनलाई चोर्नैपर्छ भने नदुखेको टाउको दुखाएर किन सिकाइमाग्न पर्यो होइन त ! भन्ने अन्तिम निक्र्यौल निकालेँ मैले ।
मैले पास गरेर खान मसँग दुईवटा मात्र विकल्प थियो । एउटा राम्ररी पढ्ने, अर्को भुसुक्कै पारेर चोर्ने । पढ्ने बारेको कुरा र पाठशालाको व्यवहार माथि नै भनिसकेँ त्यस्तो परिवन्दले गाँजेको थियो । मैले हिसावको जाँचमा नढाँटीकन भन्ने हो भने ढुट्टो हुने गरि चोरेरै पास गरेको हुँ । तर आत्मसन्तुष्टी चाहिँ भएन । जे होस् पास हुनु थियो, भइयो टन्टैसाफ !
०००
सरस्वतीनगर, चावेल
Subscribe
Login
0 Comments
Oldest





































