
पाँच ठोकान
अब मेरै पालो आ’छ, धन्दा नमान्नुस् । मेरो सालो मन्त्री भा’छ,धन्दा नमान्नुस् । दुई नम्बरी पैसा गन्न मलाई उतै बोलाइ रा’छ, दाहिने हात चिलाई रा’छ, धन्दा नमान्नुस् ।

१.
परजीवी जीव जस्तै, डस्छन् टोक्छन् चुस्छन् चिल्छन् ।
सलहका हूल जस्तै, कहिले फुट्छन् कहिले मिल्छन् ।
देशप्रेमी नेता हुन् कि अजिङ्गरका सन्तति हुन् ती ?
ढुक्कसँग खान पाए, एकदिन यिनले देशै निल्छन् ।।
२.
एउटा आउँछ यो दल भन्छ,अर्को आउँछ उ दल भन्छ,
उसको भलाईका लागि, हामीलाई नीति बदल भन्छ ।
यता जनता जनार्दन चैं समस्याको खातमा छन्,
उता नेता देश बनाउने, भैरहेछ छलफल भन्छ ।।
३.
कस्ले भन्छ सफल हुन, इमानदारी जानेपुग्छ ?
गुण कौशल, लगन निष्टा, बफादारी जानेपुग्छ ?
सबै सफल नेताहरूमा गुण कौशल कहाँ पाउनु ?
सफल हुने एउटै कला, चाटुकारी जानेपुग्छ ।
४.
एउटा हुन्छ त्रासदीमा, अर्कोतिर व्यापार हुन्छ,
बलियाको पेट भर्न, दुर्वलहरुको सिकार हुन्छ ।
तबसम्म यस्तै हुन्छ जबसम्म मान्छेहरूको,
दिमागको घ्याम्पोभित्र, सडेगलेको विचार हुन्छ ।।
५.
अब मेरै पालो आ’छ, धन्दा नमान्नुस् ।
मेरो सालो मन्त्री भा’छ,धन्दा नमान्नुस् ।
दुई नम्बरी पैसा गन्न मलाई उतै बोलाइ रा’छ,
दाहिने हात चिलाई रा’छ, धन्दा नमान्नुस् ।।
०००
चन्द्रनिगाहपुर ४, रौतहट