सुलसुले२०९ औँ भानु जयन्ती विशेष समारोह सम्पन्न
कार्यक्रमका सभापति देवकान्त पन्त र प्रमुख अतिथि साहित्यकार नरनाथ लुइँटेलले भानुभक्तको योगदान तथा साहित्यको सन्दर्भमा प्रकाश पार्नुभयो ।

काठमाडौं, असार २९, २०७९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा एल.आर.आई. विद्यालयले आयोजना गरेको साताव्यापी कार्यक्रम आज विशेष समारोहका बीच सम्पन्न भएको छ ।
वादविवाद प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता, सामूहिक रामायण वाचन प्रतियोगिता, अन्य कविका रचना वाचन प्रतियोगिता तथा अन्तरविद्यालयीय कविता प्रतियोगिता आदि कार्यक्रम सञ्चालन गरी सभ्य तथा भव्य रुपमा सम्पन्न उक्त कार्यक्रममा सयौँ विद्यार्थी पुरस्कृत भएका छन् ।
कार्यक्रमका सभापति देवकान्त पन्त र प्रमुख अतिथि साहित्यकार नरनाथ लुइँटेलले भानुभक्तको योगदान तथा साहित्यको सन्दर्भमा प्रकाश पार्नुभयो । लुइँटेलले भानुभक्त आचार्य नेपाली कविताका आदि हास्यव्यङ्ग्यकार भएकाे बताउँदै उहाँलाई सम्झनु नेपालीपनलाई सम्झनु हाे भन्नु भयाे । समय समयमा यस्ता कार्यक्रम गरी विद्यार्थीहरुलाई पुरस्कृत गर्दै गएमा प्रतिभाहरू अझ जागृत हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै जाने कुरा विद्यालयका संस्थापक शिवराज पन्तले जानकारी दिनुभयो ।
छन्दमा वाचन गरिएका मनमोहक कविता तथा विद्यार्थीहरुको उत्कृष्ट प्रस्तुतिले गुन्जिएको सभा हलमा हजारौँ दर्शकको उपस्थिति रहेको थियो । अन्तरविद्यालयीय कविता प्रतियोगितामा वाचन गरिएका कविताहरूमा तरुण मा.वि बालाजुका विजय लामिछाने प्रथम, सिद्धार्थ वनस्थली स्कुलकी छात्रा सुरिश्मा अधिकारी दोस्रो, गंगा सेकेण्डरी स्कुलकी छात्रा संगीता मालाकार तृतीय, विश्वनिकेतन मा.वि.का रुविज मल्ल र ज्ञानोदय मा.वि.की छात्रा विज्ञता गोतामेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विद्यालयको आन्तरिक प्रतिस्पर्धामा विभिन्न विधाका सहभागीहरूमध्ये वक्तृत्व कलामा प्रसिद्ध महत, आरुषि चौधरी, तेजस्वी गौडेल, दुना आचार्य, वादविवादमा कृषभ पन्त, प्रसून पाण्डे, एकल कविता वाचनमा लेनिशा भट्ट, सानिध्यराज ढुंगेल, कुश कर्ण अन्य कविका रचना वाचनमा तन्वी फुलारा, मृत्युञ्जया लामिछाने अनि समूहवाचन रामायणमा सगरमाथा सदनले प्रथम स्थान हासिल गरेका छन् । अन्य विद्यार्थीहरू दोस्रो, तेस्रो तथा सान्त्वना स्थानमा रहेका छन् । सहभागी सबैलाई नगद पुरस्कार तथा प्रमाण पत्र पनि प्रदान गरिएको छ ।
निर्णायकको भूमिकामा साहित्यकारद्वय गिरिराज जोशी र पूर्णानन्द ओझा रहनुभएको थियो । एल.आर.आई. विद्यालयले पटक पटक यस प्रकारका कार्यक्रम आयोजना तथा सञ्चालन गर्दै आएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































