साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि मञ्जुलको ‘बाल्यकालसँग खेल्दै’ माथि भर्चूअल छलफल

उहाँले एक जना आत्महत्या गर्न भनेर हिँडेको मान्छे संयोगवश मकहाँ ठोकिन आइपुग्दा ऊ घर फर्केको एउटा रोचक प्रसङ्ग सुनाउनु भएको थियो ।

Nepal Telecom ad

अमेरिकाको नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा नोभेम्बर १२, २०२२ मा साहित्यकार कवि मञ्जुलको कवितासंग्रह ‘बाल्यकालसँग खेल्दै’ माथि भर्चूअल छलफल सम्पन्न भएको छ ।
“ड्राइभर दाइ खलाँसी भाइ,
हाम्रो धेरै मायाँ तिमीलाई, हाम्रो धेरै आदर तिमीलाई
कैले लान्छौ उकालीमा, कहिले ओरालीमा
कैले लान्छौ घुम्तीघुम्ती कहिले द्यौरालीमा …..”

शिशिर खनालले अध्यक्षता गर्नु भएको र डा. ऋषि बस्ताकोटीले सञ्चालन गर्नुभएको दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमाथि उल्लेखित गीतका लेखक, गायक तथा बहुमुखी प्रतिभाका धनी कवि मञ्जुलको साहित्यिक यात्राको बारेमा नम्रता गुरागाईंले छोटो परिचय दिनुको साथै उहाँको आफ्नै हस्तलिखित कविता सङ्ग्रह ‘बाल्यकालसँग खेल्दै’का केही प्रतिनिधिमूलक कविताहरू संस्थाका सदस्यहरू क्रमशः सुजाता ढुंगेल, प्रभा पोख्रेल र विक्रम गौतमले वाचन गर्नुभयो । उक्त चरणमा खाइराखेको जागिर छोडेर दुःखी गरिबको उत्थानका लागि आवाज उठाउँदै हिँड्ने कवि मञ्जुल राल्फा आन्दोलन, संकल्प परिवार तथा अरु जुनसुकै संघसंस्थामा जोडिए पनि तिनै भोकानाङ्गाहरूको दुःखका गीतहरू गाउँदै गाउँगाउँ हिंड्न नछोडेका कुरा उहाँका लेखहरूमा पाइएको कुरा उपस्थित श्रोताहरूका माझ प्रस्तुत गरियो ।

कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलको साहित्यिक यात्राको कुन साहित्यिक पाटोले आफुलाई धेरै छोयो भन्ने कुरामा विभिन्न साहित्यकारहरूले आ- आफनो मन्तव्य राख्नु भयो । मन्तव्य राख्नेहरूमा भारती गौतमले कसैसँग साहित्य सृजना गर्ने अलिकति बीउ छ भने त्यसलाई मलजल गरेर प्रोत्साहन गर्ने काम साहित्यकार मञ्जुलले गर्नुहुन्थ्यो, जुन प्रोत्साहनको मलजल मैले पनि पाएकी छु भन्नुभयो ।

संस्थाका सल्लाहकार ईश्वर देवकोटाले चिनाउनु भएको फोटो पत्रकार सुजन सिमोनले कवि मञ्जुल चित्रमा कविता लेख्न सक्ने मान्छे हो भन्दै उहाँले आहालमा बसेका भैंसीका चित्र र त्यो चित्रमाथि मञ्जुल दाइले लेख्नुभएको भैंसीको सिंग डुब्नु हुंदैन भन्ने कविताका नेपाली र अंग्रेजी दुबै कपि देखाउनु भयो । उक्त चित्र कविता सुजनले करिब करिब २० वर्ष अघि नर्थ क्यारोलाइना स्थित च्यापल हिलको सार्वजनिक पुस्तकालयमा प्रदर्शन गर्नुभएको थियो । वसन्त श्रेष्ठले मेरो गुरु उहाँ हिमालको सुन्दरताको मात्र कविता गाउनुहुन्न, उहाँ हिलोमा फुल्ने कमलको सुन्दरताको पनि गीत गाउनुहुन्छ । उहाँको चोकटी भन्ने कवितासङ्ग्रहले मलाई धेरै कविता लेख्न प्रेरित गरेको हो भन्नु भयो । निलम कार्की निहारिकाले नयाँ कविहरूका लागि मञ्जुलदाइ अभिभावक नै हुनुहुन्थ्यो, दाइबाट कविता कसरी लेख्ने र वाचन कसरी गर्ने मैले पनि सिकेकी हुँ भन्नुभयो ।

गोबर्धन पुजाले कवि मञ्जुलले साहित्यबाट अरुलाई सम्मान गर्ने संस्कार सिकाउनु भयो । मलाई कविता लेख्न र वाचन गर्न सिकाउनु भयो र मेरा कतिपय पुस्तकको नाम राखिदिने कामपनि मञ्जुलदाइले गर्नुभएको छ भन्नुभयो ।
अन्त्यमा, कवि मञ्जुललाई धेरै नजिकबाट चिन्नुभएको साहित्यकार सुस्मिता नेपालले आफू कसरी लेखनतिर आकर्षित भएँ र अप्ठ्यारो अवस्थाबाट कवि मञ्जुललाई बाहिर ल्याउन के के गरेँ भन्ने कुरा यसरी व्यक्त गर्नु भयो— “मैले कवि मञ्जुलको कविता बुझ्नकै लागि पद्मकन्या क्याम्पसमा साहित्य लिएर पढ्न थालें । उहाँलाई घरमा भेट्न आउने कविहरूले घन्टौं उहाँसँग बसेर कविता सुन्ने सुनाउने गर्थे । पछिपछि उनीहरूका कविता सुन्दा सुन्दा मलाई पनि लेख्न आउँछ होला, म चाहिँ किन नलेख्ने जस्तो लाग्यो र लेख्न शुरु गरेकी हुँ । उहाँको जीवन छङ्छङ् बगिरहने नदीजस्तै थियो तर उहाँ बिरामी पर्नुभयो र त्यो बगिरहने नदी एकाएक पोखरीमा पुगेर रोकियो । बोलिरहने, हाँसिरहने मान्छेको एकाएक बोली बन्द भएपछि म केही विचलित भएको त थिएँ नै तर म उहाँको बोली फर्कन्छ भन्ने विश्वासमा थिएँ । उहाँलाई पहिलाको अबस्थामा ल्याउनकालागि रातदिन प्रयासरत भएँ । त्यो बोली फर्काउन मैले गरेका धेरै प्रयासहरू मध्ये यो बाल्यकालसंग खेल्दै उहांको हस्तलिखित कवितासङ्ग्रह एक हो । कवि मञ्जुल बिरामी हुँदा मैले उहांका धेरै रचनाहरू पढें । उहाँले लेखेका सबै रचनाहरू अध्ययन गर्दा मेरो मुल्याङकनमा उहां एक जन्मजात कवि हो ।”

कार्यक्रमको अन्त्यमा आफनो मन्तव्य राख्ने क्रममा स्रष्टा मञ्जुललाई तपाईको कुनै कविताले कसैलाई एकदमै राम्रो भएको केही प्रसङ्ग छन् कि भनेर श्रोताहरूले सोधेको प्रश्नको उत्तरमा उहाँले एक जना आत्महत्या गर्न भनेर हिँडेको मान्छे संयोगवश मकहाँ ठोकिन आइपुग्दा ऊ घर फर्केको एउटा रोचक प्रसङ्ग सुनाउनु भएको थियो । मन्तव्यकै क्रममा उहाँले अहिले परिवर्तन त आयो तर सोचेकोजस्तो परिवर्तन आएन, केही सङ्गतिसँगै विसङ्गति पनि आयो भन्नुभयो । एउटा लेखकलाई उसकै अगाडि उसका विगतका पत्रपत्र देखाइदिने कार्यक्रम मलाई जस्तै अरुलाई पनि गर्नुहोला भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x