रामकुमार पाँडेबुझेँ, बल्ल बुझेँ
बहुमत पाउनलाई सरकार दिए त प्रजातन्त्र आइहाल्छ झन्झटै हराउँछ । ठीक भन्यौ, डकैती गरिसकेकाले फेरि डकैती गर्दैन भन्ने प्रमाण के ? भावी चुनावमा जनताले हराएर सजाय गरिहाल्छन् ।

कुन दशा लागेर हो गुनासो ठम्याएर ठाउँमै सुनाउँला भन्दै दुकेको त करो उल्टो पर्याे ! रिस र सिफारिस अथवा कुन निधार र आधारमा कसलाई किन हटाइयो, किन अटाइयो अत्तोपत्तो भएन । कारिन्दाको करामत यही हो !
छुटाइएका, कुटाइएका, लुटाइएका सबैको कुरोकन्थो ध्यान दिएर सुन्नु भन्दै गाईजात्रामा खटाइएकामध्ये आफू पनि परियो बरु गुनासो हास्यव्यङ्ग्यकारलाई सुनाए लाग्ला दिमागी भूत भाग्ला भन्दै एक जमात हुर्दुरिँदै आए । परेन फसाद ! आफैँ त महादेव उत्तानो टाङ । सारा विद्या, बुद्धि, विवेक हराएर किंकर्तव्यविमूढ भएका बेला कहाँको भेडाको बगालझैं थुप्रिए । केही सीप नलागी आफू हुटिट्याउँ नै भए पनि आकाश थाम्न नसके पनि ट्याउँट्याउँ त गर्न सक्छु भन्दै लौ ठीक छ ‘भटयाऊ’ भन्दै दर्शनगेट खोलिदिएँ ।
अगाडि-अगाडि कौनै कुरा नहेरी पशुपतिको भित्री ढोकामा भ्याम् झुम्मिएझैँ मेरा अगाडि आए । तिनले बगलकै नवग्रह, हनुमान, बेइमान कुनै कुराको वास्ता गरेनन् । मेरीबाबै ! यो दुनियाँमा त खाली पोलापोल मात्रै गर्ने जमात पो रै’छ ।
कतिका गन्थन सुन्नु ?
एउटा लालबुझक्कड आएर भन्यो, शिक्षालाई बनाउनुपन्यो । शिक्षा, दीक्षा नै हाइचेट भो !
मैले भनें, अस्पताललाई नि त पर्यो नि । वृद्धाश्रमलाई चाहिन्न नभई देशमा कसले काम गर्छ ? उनलाई त झन् नभई भएन ! सबैलाई चाहियो शान्ति ! देशलाई नै शान्ति क्षेत्र पो बनाउनुपर्यो । कि भ्रान्ति ! शान्तिमा पनि भ्रान्ति । क्या गजब !
एउटा लठैतले भन्यो, म मन्त्री भए सबै मिलाउँथें ।
मैले भनें, आफ्नै स्वास्नीलाई ठाउँमा राखेर मिलाउन सकेनौ आफ्नो भ्रष्टाचार लुकाउन स्वास्नी, छोरा, साढुभाई सबलाई पोको पार्न लगाउन त खूब जानेका रहेछौ !
अर्को च्वाँके चुच्चे नाकेले भन्यो, मैले राम्रो योजना गर्दैछु गरिबी हटाउन ठाउँ ठाउँमा मान्छे पठाउन लागिरहेछु मैले भनेँ, तिमीले गरिबी हटाइसक्यौ हैन र ? तिम्रा परिवारमा श्री जेट लिने कोही बाँकी छ ?
एउटा गजबको रूप आयो । आँखामा पट्टी बाँधेर एक हातमा तराजु कोमा रोटी । उनी आउँदाआउँदै भन्न थाले, न्यायकर्मीलाई थप बल मिल्यो ।
आँखा छोपेर पनि न्याय हुन्छ ? तेस्रो नेत्र ज्ञान चक्षु खोल्नुपर्यो मुद्दामा दुई प्रकारको निणर्य गर्ने ! एउटाले जिताउने, अर्कोले गाउने । दायाँबायाँ कुन जुत्तामा के राखेको पत्तो नपाउने गोरु ! पहिला र गधा, गु र गोबर छुट्टयाउन सिक त्यसै बलियो हुने नै छौ नुन- उनको कुरा म जान्दिनँ । लुत्रे काने भू.पू. सचिव पनि देखा परे । बाफ रे । उबेलामा यिनको फूर्ति क्या थियो अहिले दूधमा परेको माखो एकै भएछ । लुगा पनि त्यही भिजेको झिँगो । आवाज पनि त्यस्तै नाउँदै भने, प्रभु ! अझै पाए तर मार्ने थिएँ । उनको मनमनै गाएको कुरो सुनेपछि मैले भने, के गर्दैछौ ?
के गर्नु ? मेरा पछि भिंगो-भुसुनो छैनन् । उबेलामा पाइला टेक्ने ठाउँ नहुने बगैंचामा घाँस उम्रेको छ । मुसो आउँदैन । पहिले खाएको उग्राएर बसेको छु ।
उनको गथासो लम्बिने छाँटले मैले भने, बुझें ।
उनीपछि लगत्तै कुखुराको भालेको सिउरजस्तै टोपी लगाएर राजनीतिक पत्रकार टाढैबाट गुनगुनाउँदै आयो, बहुमत पाउनलाई सरकार दिए त प्रजातन्त्र आइहाल्छ झन्झटै हराउँछ । ठीक भन्यौ, डकैती गरिसकेकाले फेरि डकैती गर्दैन भन्ने प्रमाण के ?
भावी चुनावमा जनताले हराएर सजाय गरिहाल्छन् ।
ठीक भन्यौ, आज मरी भोलि ओखती । खुस्केको खबरले भरेर पत्रिकालाई हिँजडा बनाउने काम जारी राख । स्वतन्त्रता तिम्रो मात्र सम्पत्ति हो । मनलागी गर । तर तिम्रो चार अङ्ग मात्र छ । त्यो पत्रु पत्रकार भुनभुनाउँदै भाग्यो ।
एउटी महिला कार्यकर्ता नकल-नखरा पार्दै आई र चम्किन थाली, प्रधानमन्त्री महिलाले पाउनुपर्छ !
प्रधानमन्त्री बनाएपछि दिउँला । नभए लिङ्गविभेद हटाउन नपुंसक, हिजडा चाहिने हो कि ?
दारी चुस्स, कपाल झुस्स, अनुहार ढुस्स जातिको नजाती नामधारी आएर खुस्स भन्यो, आरक्षण चाहियो । दलितले पछाडिबाट भन्यो, हामीलाई पनि संरक्षण चाहियो ।
आरक्षण त वन्यजन्तुलाई मात्र छ । दलित कति वर्ष हुने ? फुलित फलित हुन सबैले बाह्रखरी पढ । नपढ्ने जति सबै गलित । कतिन्जेल मलित ?
लिङ्गभेदी, जातिविभेदी, कर्मसंवेदी सबै फेदीकालाई उठाएर टाकुरीमा लान पढ्नै पर्छ जान !
छेउकै डेढअक्कली जस्तो अनुहारले भन्यो, गोरुसिङ्गे धेरै निस्के । विद्या विदेशी, सिकाउने स्वाँठ, सिक्ने ल्वाँठ ! त्यसैले विद्यार्थीलाई पढेपछि के हुने ? भन्दा प्रधानमन्त्री हुन्छु भन्ने चरो मुसो भएन । अर्थात् प्रधानमन्त्री, मन्त्री, नेता हुन पढ्नु पर्दैन त्यसैले भैसक्या पनि चौबाटोमा चर्कन्छन् ज्ञान भरिएका लागे राजनीतिक भरिया हुँदैनथ्यो कि ?
बुझें ‘बल्ल’ बुझें !
यति भन्दा पनि ती आ-आफ्नो काममा नगएर साँढेको पछि स्याल भुम्मिए झुम्मिरहे तिनलाई ‘बल्ल’ भनेको गोरु भन्ने पनि थाहा रहेनछ बुझें बल्ल बुझें भन्दै बल्लकै उपचार गरेर पठाउने सुर कसें । कुकुरको काम गर्ने गधालाई के गर्नु त ? त्यत्रो गथासो सुनाएर पनि नपुगी ती के पाउँला के खाउँला भनेर चोकभरि भन्केका होलान् ?
यो देखी मैले भनेँ, मैले बुझें । ‘बल्ल’ बुझें । सबै पशुपतिको ढोकामा पुगेर फर्कने बेलामा फर्केर हेर्नु जे देख्छौ त्यही मात्र पाउँछौ । ल जाऊ !
०००
‘फित्कौली’, २०६३
Subscribe
Login
0 Comments
Oldest









































