साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाका मान्छे, दुर्व्यवहार र चुनाव !

चुनावको मुखमा र मतदान गर्दा पाका मान्छेले होस गरौँ, नत्र वयस्कका हप्कीदप्की खपेर पाका मान्छे अमैत्री मतदान केन्द्रको गजमाउरो पङ्क्तिमा उभिँदाको दुखमात्र पाइएला !

Nepal Telecom ad

संसारमा पाका मान्छे हुने र भन्ने उमेर करिब उस्तै भए पनि देशअनुसार अलिअलि फरक मापदण्ड पाइन्छ । पहिला एकसरो सामाजिक व्यवस्था गरेका देशमा नीतिनियम बसालेर बाँच्नसम्म पाउने अवस्था भए पनि आजकाल व्यक्तिवादको जालोले अल्झेर दुख पाउनेमा पाका मान्छे नै धेरै परेका छन् । पूर्वीय देशहरूमा आएको सांस्कृतिक विचलनले संयुक्त परिवार टुक्रिन थालेपछि पाका मान्छेप्रति दुर्व्यवहार बढ्दै गएका छन् । पाका मान्छेप्रति गरिने दुर्व्यवहार केटाकेटी र घरेलु हिंसासँगसँगै जेलिएका घरेलु र पारिवारिक शक्ति र स्रोतबाट हुने हिंसाका भाग हुन् ।

अस्ट्रेलियाको क्विन्सलैण्डमा रहेको पाका मान्छेलाई गरिने हिंसा र दुव्र्यवहार रोकथाम एकाइले एउटा सङ्क्षिप्त अध्ययन अघि सारेको छ । संयुक्त राष्ट्र संघको पाका मान्छेबारेको पारित प्रस्तावका चार मूल सिद्धान्त र अठार बुँदाहरूमा आधारित रही गरिएको त्यस अध्ययनले मानिसको जीवनमा विभिन्न उमेरसमुहमा दुर्व्यवहार वा हिंसा भोग्नसक्ने वातावरण उस्तै हुन सक्छन् भनेको छ । तर उमेर, क्षमता र अवस्थाअनुसार हरेक कालखण्डमा हुने त्यस्ता व्यवहारको बुझाई र समस्याको पहिचान फरक हुनुपर्छ । अझ पाका मान्छेलाई गरिने दुर्व्यवहार बारेका त गहिरो अध्ययन र समाधानका जुक्ति निकालिनु पर्छ । पाका मान्छेमा गरिने हिंसा बारेमा गरिएका अरु अनुसन्धानका श्रोतले देखाएको छ कि कहिले न कहिले पाका मान्छेले दुर्व्यवहार भोगेकै छन् र उनीहरू ठाउँअनुसार कममा २.६ देखि ८ प्रतिशतको हाराहारीमा जहाँकहिँका पाका मान्छेले हिँसा भोगेकै हुन्छन् भनिएको छ । अनुसन्धानको अवधि र क्षेत्रगत सिमितताले गर्दा त्यो आँकडा बृहत् फोहोरको रासमा आएको एकथरी गन्ध मात्र हो भन्ने निचोड पनि निकालेको छ । राम्ररी बृहत् अध्ययन गरेमा समस्या र हिंसाका प्रकारको खात लाग्ने छन् र उपरोक्तभन्दा बढी आँकडा पनि आउन सक्छ भनि अन्य ठाउँ र समुदायमा अध्ययन गर्ने बाटो पनि खोलिदिएको छ ।

दुर्व्यवहारका प्रकार र लक्षणः
१. मनोवैज्ञानिक दुर्व्यवहार (भावनात्मक, मानसिक, बोलीव्यवहार)— यो खालको हिंसा मानसिक चोट अनुभूत हुनेगरी, डरमर्दो र लाजमर्दो तथा शक्तिहीन छ भन्ने पार्ने व्यवहार गरी पीडा दिएर अनुभव हुन्छ ।

स्वभावमा देखापर्ने— त्यस्तो पीडा दिन खोज्नेको रुखो बचन, धम्कीपूर्ण भाषाका विभिन्न बोली, दुर्वाच्य, आत्मग्लानी गराउने, हतोत्साहित बनाउने, कराउने, झर्कने, माया नगर्ने र स्वनिर्णय गर्ने अधिकार खोस्ने, आदि पर्दछन् । नेपालको परिप्रेक्ष्यमा पाका मान्छेलाई आदरार्थी शब्द प्रयोग नगर्ने, सगोलमा अस्तित्व अस्विकार गर्ने, देखेको नदेखेझैँ गर्ने, पाको उमेरमा लाग्ने रोगबारेमा उड्केर होच्च्याउने, ‘बुढाखाडा र बूढाबूढी के जान्दछन्, म्याद खुस्केका, उहिलेका कुरा गर्ने, बूढाबूढी भएपछि निहुँ खोज्छन्’ भनि एक किसिमले हेप्ने प्रवृत्ति र व्यवहार गरेको सामान्य देखिन्छ ।

लक्षणहरूः यस्तो हिंसामा परेकाहरूले विभिन्न लक्षणहरू देखाउँछन् । उहाँहरू विस्तारै आफू र वरपरको वास्ता नगर्ने, अरु मान्छेप्रति अनाकर्षक र बेवास्ता गर्नथाल्ने, अति डराउने, आँखा जुधाएर अरुसँग कुरा नगर्ने, अरु मान्छेका अगाडि कुरा गर्न दोमन गर्ने वा टोलाएर बस्ने, प्रष्ट कुरा गर्न हिचकिचाउने, असहाय सम्झिने र जेकुरा पनि स्विकार्ने ।

२. आर्थिक दुर्व्यवहार— यस खालको हिंसामा पाका मान्छेका नगद र जिन्सी सम्पतिलाई उहाँहरूको सहमती बिना गैरकानुनी तबरले वा अनुचित किसिमले प्रयोग गर्नु पर्दछ ।
स्वभावमा देखापर्नेः चल—अचल वा मूल्यवान सम्पतिको दुरुपयोग गरिदिने, जबरजस्ती सम्पति लिखत परिवर्तन गर्ने, पीडितलाई उहाँहरूको व्यक्तिगत कोष वा खाता पनि चलाउन नदिने, किर्ते सहिछाप प्रयोग गरिदिने, अशक्त भई भनिएका बैँक वा अन्य ठाउँका गोप्य सूचनाङ्कको दुरुपयोग गर्ने, कानुनी प्रावधानका वारिसको गलत प्रयोग गर्ने, आदि पर्दछन् । नेपालमा पाका मान्छेलाई हेरबिचार पुर्‍याउनु पर्नेले उहाँहरूलाई आवश्यक पर्ने खर्च कटौती गर्ने, स्वइच्छाले सापटी वा दान गर्न रोक लगाउने, ‘अड्डा अदालत गर्ने उमेर छैन’ भनि श्रीसम्पति नामसारी गर्न बाध्य बनाउने आदि दुर्व्यवहार गरिएको देखिन्छ ।

लक्षणहरूः बहुमूल्य चिजबिज हराउन थाल्छन्, आश्चर्यजनक किसिमले रकम अपचलन हुन्छ, वारिसले अपत्यारिलो काम गर्दछ, बैँक सम्बन्धी कागजात हराउँछन्, अचानक पाका मान्छेले आफैँ आर्थिक कारोबार गर्न असमर्थ हुन्छन् ।

३. भौतिक दुर्व्यवहारः शारीरिक हिंसाले भौतिकरुपले नै पीडा खप्न बाध्य हुने स्थितिमा सामान्यदेखि गहिरो घाउचोट लाग्नु, पिटिनु र खुला हिँडडुल गर्न नसक्नु हुनसक्छ ।

स्वभावमा देखापर्नेः लम्कीझम्की गरेर घँच्याड्नु, ठेल्नु, लछार्नु, घिसार्नु, थप्पड लगाउनु, गोद्नु, धारिलो वा भूत्ते बस्तुले पिट्नु, भौतिक थुनछेक भइरहनु र औषधिमूलो गर्न बाध्य हुने पारिदिने हुन्छ । नेपालमा पारिवारिक लाजले र सामाजिकरुपले बाँच्ने, खाने र बस्ने प्रत्याभूति नभएकाले कतिपयले अति नभएसम्म समुदायमा जानकारी नदिने भौतिक घटना धेरै भोगेका हुन्छन् । समाजले सूचना पाउला भनि धेरै पाका मान्छेले देखिएका लक्षणबारेमा झुटोबोली ईज्जत ढाक्ने गरेको पनि सुनिन्छ, देखिन्छ ।
लक्षणहरूः प्रकाशमा आएको र देख्दा चोटपटक फरक हुनु, दरफराएको, सुन्निएको, पोलेको, काटेको, भाँच्चिएको घाउहरू विभिन्न खालको देखिनु र ओषधोपचार गरेको भए चिन्हहरू देखिने हुन्छन् ।

४. सामजिक दुर्व्यवहार– पाका मान्छेलाई सामाजिक सम्बन्ध कायम राख्न परिवारका सदस्य वा पुरै परिवार, साथीभाइ, तथा उहाँहरूलाई मनपर्ने सामाजिक क्रियाकलापबाट कुत्सित मनसायबाट बाधा बिरोध गर्ने कार्य यस अन्तरगत पर्दछ ।

स्वभावमा देखापर्नेः पाका मान्छेलाई विभिन्न बहानामा परिवार, परिवार सदस्य र साथीभाइबाट टाढा राख्ने, भेट्न आउन खोज्नेलाई प्रतिबन्ध लगाउने, फोन वा अरु माध्यमबाट सम्पर्क गर्न बन्देज गर्ने, कुनै उचित कारण र प्रष्टीकरण बिना सम्बन्धहरू घटाइदिने वा हटाइदिने गरिएको हुन्छ । नेपालमा पाका मान्छेलाई सामाजिक काममा, ‘लखरलखर गर्ने होइन खानलाउन दिएकै छ एकै ठाउँ थच्चिनु नि, बूढाखाडाको काम छैन, जमघट रमाइलोमा के काम ?’ भन्ने भनाई प्राय सुनिने दुव्र्यवहार हुन् । घरका ठिक हेरबिचार नभएका कुरा खुल्लान् भनि आफन्तलाई भेट्न नदिने सामान्य नै हुन्छ ।

लक्षणहरूः सेवा र सुबिधाहरूको अप्रत्यासित कटौती, सँधै हेरबिचार गर्ने सहायक वा परिवार सदस्यको उपस्थिति हराउने, क्रियाकलाप निगरानी गर्ने अनौठो मान्छे अघिपछि लागिरहनु, पाका मान्छे चलखेल गर्ने ठानिएका निकासमा पीडकले सुरक्षा बढाउने गरिएको पाइन्छ ।

५. यौन दुर्व्यवहारः यौन दुव्र्यवहार वा यौन शोषण अन्तरगत पाका मान्छेलाई जबरजस्ती यौन हिंसा गरेर उहाँहरूको शरीरका कुनै भाग वा यौनाङ्गमा अप्ठ्यारो लाग्ने कुनै पनि व्यवहार पर्दछ ।

स्वभावमा देखापर्नेः यौन बलात्कार, आक्रामक हातपात, यौन उत्पीडन, यौनजन्य फोहोरी दुर्बाच्य प्रयोग र यौन अपराध गर्ने उद्धेश्यले शरीरका विभिन्न भागमा छुनु वा छुनखोज्ने क्रियाकलाप गरिने हुन्छन् । यौनक्रियामा असक्त उमेर भनि नेपालमा पाका मान्छेलाई बारम्बार भनि लघुताभास गराइदिने हिंसा बढि सुनिन्छ । मुत्ररोग र संक्रमणबाट पाका महिला पुरुष दुबै ग्रसित हुन सक्छन्, त्यसैलाई आधार बनाई यौनजन्य दुर्बाच्य प्रयोग गरी हिंसा गरेको पनि पाइन्छ । पछिल्लो खेप नेपालमा पाका महिलामाथि गरिने यौन हिंसा र बलात्कारका घटना पनि सतहमा देखा परेका छन् ।

लक्षणहरूः यौनाङ्गको वरपर वा नजिक बारम्बार छोइरहने, कन्याउने, बिनाकारण यौनरोग देखा पर्ने, भित्री लुगा च्यातिएको, दाग लागेको वा रगत लागेको देखिने, तिघ्रा र जाङ्घमा दरफराएको हुने, हिँड्न वा बस्न असजिलो देखिने, शरीरमा छुँदा पीडित गुडुल्किने र डराउने, झस्किने हुन्छन् । बिपरित लिङ्गकासँग झस्कने, डराउने र परहुने पनि लक्षण देखापर्न सक्छ ।

६. धरालोले बेवास्ता र नकार्ने दुर्व्यवहारः पाका मान्छे आफैँ सक्षम नभई हेरबिचार गर्न खटाइएका मान्छेले अतिआवश्यक भनिएका काम गरिदिन वास्ता नगर्नु वा नकार्ने धरालोका व्यवहारलाई पनि दुव्र्यवहार भनिन्छ । बेवास्ता गर्ने काम दुबै कारणले बद्नियतपूणर् र अनजानमा हुनसक्छ । जानी नजानी गरिएका दुबै काम नकारात्मक असर पर्ने दुर्व्यवहार नै हुन र ‘एकचोटीलाई भैगो वा नजानेर’ भनी माफी दिन वा प्रतिरोध नगरी रहनुहुन्न । तर दुबै कारणबाट हुने दुर्व्यवहारको राम्रो नीतिखोजी गरेर भविष्यमा गरिने व्यवस्थाका लागि फरक र जरो उद्गम छुट्ट्याउनु पर्छ ।

स्वभावमा देखिनेः अनजानमा हुने बेवास्ता— पाका मान्छेलाई धरालो राखिएको मान्छेमा हेरबिचार गर्नुपर्नेका समस्या समाधान गर्ने सिप नहुनु, ज्ञान र शारीरिक क्षमता नहुनु र उपयोग गर्नुपर्ने सरसामानको जानकारी नहुनाले पनि नकारेको हुनसक्छ । बद्नियतपूर्ण बेवास्ता— पाका मान्छेलाई एक्लै छाडिदिनु, दिइनुपर्ने प्रयाप्त खाना खाना, पानी, लुगा नदिनु वा अरुले हरिबिजोक देखेर आवश्यक सहयोग गर्नखोज्दा ठाडै ईन्कार गर्नु जानीजानी गरिएका बेवास्ता र नकार हुन् । पुगीसरी आएका परिवारमा घरका पाका मान्छे अलि शारीरिक अशक्त भए हेरबिचार गर्ने मानिस धरालो राख्ने गर्दछन् । लामो समय राख्दा र घरको हालीमुली अर्कै हुँदा उसले अरुकै अरोटमा रहने भई पाका मान्छेलाई नटेर्ने र बेवास्ता गर्ने सम्भावना भएको हुन्छ । घरका बयस्कले ध्यान नदिए काम गर्नेबाट पनि पाका मान्छेले निकै सास्ती पाउन सक्छन् ।

लक्षणहरूः त्यस्तो व्यवहार भएको छ भने पीडित पाका मान्छेमा कुपोषण, सुखापन, सामाजिक सम्पर्क र गतिबिधिबिहिन, सफाईको कमीले ठसठसी गन्हाउने, झुत्राझाम्रा लुगाफाटो, चिसो लागेको वा कामिरहेको देखिन्छ । उहाँहरू बस्ने कोठामा निरिह अनुहार लगाएर एक्लै टोलाइरहेको, अति आवश्यक चस्मा, कानको श्रव्ययन्त्र, दाँत माझ्ने ब्रुसमञ्जन र कपालको तेल र कोर्ने काइँयो आदि चिजबिजको अभाव भएको हुन्छ । अशक्तनै भए गुहुमुतमा आला बसेको देखिनु, फाटेका वा फोहोरी सिरक डसना तथा बस्नेसुत्ने कोठा सफा नहुनु पनि पाका मान्छेलाई गरिएका दुर्व्यवहारका लक्षण हुन् ।

७. हेरालुका कुराः बिद्यमान समस्याहरू बिच पाका मान्छेको हेरबिचार गर्न हेरालु राख्दा र उहाँहरूलाई हुनसक्ने दुर्व्यवहार साथै हेरालुको उचित मूल्याङ्कनका लागि एकीकृत, सुमधुर, खपालु र सहिष्णु कार्यदिशा लागुगरी अघिबढ्नु श्रेयस्कर हुन्छ । धेरै क्रियाकलापमा मानिसहरू आफ्ना पहिलेदेखिका सम्बन्धमा रहेका खासखास मान्छेमा आश्रित हुन्छन् र भर गर्छन् । त्यसैले केहि समय अघिदेखि एकअर्काका जानकार पीडित र आइपरेको पीडक दुबैको हारजीतभन्दा पनि सम्झौताको निकास निकाल्न सके दुबै पक्ष लाभान्वित हुने स्थिति बिकसित हुनसक्छ । विभिन्न ठाउँमा चाहार्ने हेरालु राख्दा विविध अनुभवलाई उनीहरूले कुनै एक ठाउँका पाका मान्छेमा लागु गर्न खोज्दा आफैँ पीडित पनि हुन सक्छन्, भने पाका मान्छेमाथि अनावश्यक शारीरिक मानसिक थिचोमिचो गरी दुर्व्यवहार गर्न सक्छन् । त्यस्ता हेरालुको व्यवहार कामको बोझले शारीरिक थकान र मानसिक चिन्ताले पनि हुनसक्छ, काम लगाउनेले यस्ता समस्यालाई पनि ध्यानमा राखेर हेरालुसँग व्यवहार गरिनु पर्छ ।

पाका मान्छेमा हुनसक्ने उपरोक्त हिंसाहरू बिकसित देशहरूमा जटिल किसिमले नै बिकसित हुँदैछन् भने कम बिकसित देशका समुदायमा प्रत्यक्ष देखिएका छन् । नेपालमा संयुक्त परिवारबाट एकल हुने क्रममा र बजारबादको गन्धे हावा हुण्डरीमा आधुनिक हुने नाममा प्रति महिना पाका मान्छेका २०—३० बेवारिस लास फेलापर्नुले स्थिति नकारात्मक दिशातिर गएको अनुमान गर्न सकिन्छ । समयक्रममा राजनीति गर्नेले समाजका बिभिन्न समुदाय, क्षेत्र र उमेरसमुहलाई आकर्षक नारासहित आफूलाई मतदान गरी जिताए आकाशपाताल जोड्ने कुरा गरी फकाउँछन् । नेपालमा २०७९ सालमा स्थानिय र प्रतिनिधि सभाको चुनावमा अनेक कुरा सुनिए, तर के व्यवस्थित कार्यान्वयनका उपायसहित कोही दल आए त ? उमेरसमुह र तिनको नेपालमा मतदानको सम्भावना सहित सरसर्ती केही दलहरूका चुनावी घोषणा पत्र र प्रतिबद्धता पत्र रुपी ताबाँतुलसी भकाई हेरौन ।

चुनावका कुराः
नेपालको निर्वाचन आयोग र तथ्याङ्क विभागले २०७९ सालको प्रक्ष्येपण र अनुमानमा १८ वर्ष माथिका कुल नेपाली मतदाता १,७९,८८,,५७० छन् भन्ने प्रचारमा छ । यसमा हालै विदेशिएका पनि गणनामा छन् भने आवधिक वा केहि वर्षदेखि विदेश गएका पनि समावेश भएकै छन् । नेपालमा भएका मात्र भन्ने कुनै तथ्य आँकडा भेटिन्न भने विदेश गएका नेपालीहरूको अद्यावधिक आँकडा पनि छैन । यस परिस्थितिमा अनुमानित माथिकै आँकडामा भरपर्नु पर्ने हुन्छ ।

कुल मतदातामा अध्ययन र कामको खोजीमा विदेशिने धेरैजसो १६ वर्ष माथिका युवा र बयस्कहरूनै हुन्छन् । त्यसैले पहिलो समुह १८ देख २५ वर्षका पनि केही उच्च शिक्षा अध्ययन गर्न र मध्यम बर्गका धेरै कामको खोजीमा विदेश गएका वा जाने सुरसारमा छन् । चुनावप्रति उनीहरूको उत्साहजनक उत्सुकता नदेखिन सक्छ किनकी कामको खोजीमा वा अध्ययनको अवसर पाएर चाडपर्वका दिन समेत रुँदैरुँदै नेपालमा किन बस्न सकिएन ? भनि विदेशिएका सञ्चारमाध्यममा देखिन्छ । यो क्रमले २६ वर्ष माथिका तन्नेरीदेखि पाका मान्छे हुनु अघिका ६० वर्षसम्मका बयस्कको उमेरसमुहलाई घनिभूत ढङ्गले गाँजेको छ ।

सरकार र दलका औँलामा गन्न सकिने बाहेक नेता भनाउदा सबै ठालु व्यक्तिवादी बजारबादको घृणित जालमा प्रजातन्त्रको नाममा अल्झेका छन् भने आफ्नो रजाइँ कायम राख्न जनतालाई ‘पैसानै सबथोक हो’ भन्ने दर्शन भिराएका छन् । जनतालाई शिक्षा र रोजगारीको उचित अवसर बिहिन पारेर प्राकृतिक रमणीय नेपाललाई ‘देश सिंगापुर बनाउने’ ध्वाँस समेत दिन्छन् । आफ्नो पक्षमा स्वर्गीय सुख भोगिरहेका उनीहरू अझै उनीहरूलाईनै मुलुकको साँचो दिए ‘रैतीसरह बाँचेका’ जनतालाई पनि बिकासको फल चाख्न दिने भन्दै लोभ्याउँदै छन् । हुन त, उनीहरू कोको जित्ने भन्ने गर्नेगराउनेले निश्चय गरिसके होलान् तर पनि अलिअलि प्रजातान्त्रिक देखाउन केही नाटक त गर्नै पर्‍यो नि ! त्यसै अभिनयमा विश्वास गरेर र लाभका पदमा पौडीखेली तरमार्न पाइएला भनि अहिलेदेखि चाकडीको पौडीकट्टु लगाएर पछिलाग्ने केही वयस्क र कथित बुद्धिजीवी चुनावमा दौडधुप गरेका पनि होलान् । नेपालमा हरेक उमेरसमुहका मतदाताको अवस्था वास्तवमा देशभित्र स्थिति के छ भनी बुझ्नु पनि जरुरी छ । त्यसलाई तलको तालिकाले सङ्क्षेपमा केही इङ्गीत गर्न खोजेको छ र देशभित्र उपलब्ध बालिग मतदाताको अवस्था समेत देखाएको छ (तालिका १) ।

तालिका १ः नेपालमा विद्यमान बालिग मतदाताको अवस्था २०७९ ।

मतदाताको उमेर    मतदानको                 मतदाताको        कामअनुसार        सम्भावना

समुह वर्षका         सङ्ख्या           प्रतिशत           प्रतिशत                                          

१८ देखि २५        २२,९४,०१९           १२.७५           १२.७५    केही विदेशिइसके अध्ययन वा कामको खोजीमा

२६ देखि ४०         ६५,०६,४६५         ३६.१७              ५३.७३     अध्ययन र कामकोलागि विदेश जाने समुह

४१ देखि ५०         ३१,५८,,५२६         १७.५६

५१ देखि ६०       २६,८२,०६९           १४.९१              १४.९१     धेरै विदेशमानै अल्झेका छन्

६१ देखि ७०         १८,५१,२२३         १०.२९              १८.६०     प्राय नेपालमा

७१ देखि ८०         १०,६२,०७३          ५.९०                         नेपालमा

८१ देखि माथि       ,३४,१९५            .४१                         नेपालमा                                 

जम्मा            १,७९,८८,५७०           ९९.९९ %

उपरोक्त तालिका अनुसार १८ देखि २५ उमेरसमुहका विद्यालय क्याम्पसतिर धाउँदै विदेशिने तयारीमा लागेकाले धेरै नेपालमै होलान् । उमेरसमुह २६ देखि ५० वर्षका मतदाता नेपालमानै अल्झिएका जागिरे बाहेक बहुत कम सङ्ख्यामा मतदान गर्न नेपालमा छन । उमेरसमुह ५१ द्येखि ६० वर्षका पहिलेदेखि यतै भए ढल्कँदो उमेरमा धेरै बाहिर श्रम गर्न जाने कुरा भएन । नेपालबाट बाहिर गएका भनिएका ८० देखि ९० लाख आसपासका बयस्क मानिस यिनै चार समुह भित्रनै पर्छन् । पाको उमेरमा रमाइलो सजिलो आफ्नै ठाउँ भनि प्राय नेपालनै बस्ने र ६१ माथिका पाका मान्छेहरू छोराबुहारी र छोरीज्वाइँको दयामा तेलभिसाको आग्रह वा सामाजिक बडप्पन देखाउन बढीमा छ महिना अस्थाई विदेश बस्ने/घुम्ने र चुनाावताका आइपुग्लान् ।

स्थानिय चुनावमा ६० प्रतिशत मुनी मतदान भएको देख्दा १८ देखि २५ उमेरसमुहका १२.७५ प्रतिशत, ५१ द्येखि ६० वर्षका १४.९१ प्रतिशत र ६१ वर्ष देखि माथिका १८.६० प्रतिशत नै मतदाताको जब्बर मत देखिन आउँछ । यस तर्कलाई आधार मान्दा सरदर हिसावका लागि यदि २६ देखि ५० उमेरसमुहलाई कटाउने हो भने ५३.७३ प्रतिशत मतदाता घट्न सक्छन् । हो अरु उमेरसमुहको जस्तै नेपालमा पनि यो उमेरसमुहका केही छन् र अरु उमेरसमुहका पनि विदेशिएका छन् । मोटामोटी कुल मतदाताको आधामात्र चुनावमा सकृयता लिने सम्भावना बढि देखिन्छ । यस परिस्थितिमा नेपालमा धेरै सङ्ख्यामा भएका ६१ वर्ष उमेर माथिका पाका मान्छेको प्रतिशत कुल मतदाताको १८.६० प्रतिशत भए पनि मतदानमा सहभागी हुने हैसियत भने करिब ४०.२२ प्रतिशत हुन आउँछ । यसरीे अनुभव र ज्ञानका कारण भरपर्दो कार्यक्रम भए त्यसैलाई मतदान गर्ने हेक्का राख्ने नेपालमा पाका मान्छे मतदाताको निर्णायक मत भएका उमेरसमुहमा परेको देखिन्छ ।

चुनावमा केही दलका कुराः
पाका मान्छेहरू मतदानमा हैसियत चालिस प्रतिशत माथि हुँदा र उनिहरूप्रति सकारात्मक सोचराखेमा भोट पाउने सम्भावना अतिनै बढ्छ भन्ने कुरा बृद्धभत्ताको व्यवस्था गर्दा राजनीतिक अनास्था भए पनि त्यहि दललाई भोट दिएको घटना सबैलाई थाहा नै छ । अहिलेका चर्चामा रहेका केही दलका घोषणा र प्रतिबद्धता पत्र उदाहरणका लागि लिँदा के भेटिन्छन् त ?

नेपाली काँग्रेसको १२ पाने ‘सङ्क्षिप्त सङ्कल्प’ पत्रमा पाका मान्छेलाई ‘६५ वर्ष माथिका सवैको निशुल्क बीमा, ६५ वर्ष माथिका सवैलाइ ज्येष्ठ नागरिक भत्ता, ७३ वर्षमाथिका सवैलाइ निशुल्क उपचार गरिने व्यवस्था गरिने छ’ । त्यति मात्र हो र ! मृत्यु संस्कारका लागि मर्ने विपन्न भन्ने प्रमाणित भएमा ‘मृत्यु संस्कार गर्न खर्च रु. १०,००० स्थानीय तहको वडा मार्फत् घरमै पुर्‍याउने’ भनेको छ ।

नेकपा माओवादी केन्दको ८१ पानाको प्रतिबद्धता पत्रमा पाका मान्छेका लागि ‘जेष्ठ नागरिकहरूको उपचारका लागि विशिष्टीकृत अस्पताल निर्माण, १०० सैया माथिको अस्पतालमा ज्येष्ठ नागरिक युनिट स्थापना, जेष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि घुम्ती शिविर तथा स्वास्थ्यकर्मीहरूलाई घरघरमा परिचालन, प्रत्येक पालिकामा खाने बस्ने र उपचारको पूणर् सुविधायुक्त जेष्ठ नागरिक सेवा सदनको व्यवस्था, नियमित भत्तालाई आवश्यकता अनुसार वृद्धि गर्दै लगिने, समूहगत रूपमा जेष्ठ नागरिकले आयमूलक काम गर्न चाहेमा लागतको एक तिहाई राज्यबाट उपलब्ध गराइने, जेष्ठ नागरिकसँग रहेको ज्ञान, सिप, अनुभव र क्षमताको आधारमा कामको अवसर सृजना साथै त्यस्तो ज्ञान र सिपको पुस्तान्तरण गर्न विशेष कार्ययोजना कार्यान्वयन गरिने छ’ भनेको छ ।

नेकपा एमालेबाट धेरै अघि बृद्धभत्ता दिने सुरुवात गरेर पाका मान्छेको सहानुभूति बटुल्न सफल भए पनि अहिले ल्याएको ६९ पाने घोषणापत्रमा, ‘६० वर्ष माथिका नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निशुल्क परीक्षण तथा औषधि उपचार, आर्थिक बृद्धिका आधारमा ज्येष्ठ नागरिक भत्ता बढाइँदै लगिने, ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पोषणयुक्त आहारको लागि थप सहायता, न.पा.को वडा र गाउँपालिकामा राज्य प्रबद्र्धित सुविधा सम्पन्न केयर होम सञ्चालन’ भनेर आफ्नो समृद्ध नेपालः सुखी नेपालीको सपना पुरा गरेको छ ।

नेकपा मालेको ३६ पाने घोषणा पत्रमा पाका मान्छेबारेमा समाजसेवा सम्बन्धी नीति अन्तरगत, ‘ज्येष्ठ नागरिकहरूको अनुभवहरूलाई राष्ट्रहितमा लगाउने सम्बन्धमा विशेष नीति ल्याइने छ । बृद्धाश्रमको सुबिधा नलिने ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई आवश्यक मासिक भत्ताको प्रबन्ध गरिनुका साथै जीवनका सबै क्षेत्रमा ज्येष्ठ नागरिकहरूलाई आवश्यक सुबिधा उपलब्ध गराइने छ’ भनि पाका मान्छे प्रति आफ्नो भनाई ल्याएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले छिटोछरितो भनि सानो पाँच पाने प्रतिबध्दता पत्रमा पाका मान्छेका सन्दर्भमा चार बुँदामा आफ्ना सम्लग्नता देखाएको छः ‘एकल तथा बिदुर र असहाय ज्येष्ठ नागरिकलाई स्याहारसुसार, हेरचाह र औषधिउपचारको व्यवस्था, देस भित्रको धार्मिक यात्रा निसूल्क, सवै प्रकारको सेवा घरदैलोमा, महिनाको एक पटक घरदैलोमा आधारभूत स्वास्थ्य प्रशिक्षणको व्यवस्था गरिनेछ ।’

अन्त्यमा,
स्वतन्त्र भनिएकाको केही असल कुरा बाहेक माथि भनिएका केही दलका प्रतिबद्धताले पाका मान्छेमा गरिएका उत्पीडन र हिंसालाई मत्थर पार्न सक्ला त ? चुनावको मुखमा र मतदान गर्दा पाका मान्छेले होस गरौँ, नत्र वयस्कका हप्कीदप्की खपेर पाका मान्छे अमैत्री मतदान केन्द्रको गजमाउरो पङ्क्तिमा उभिँदाको दुखमात्र पाइएला !

०००
२०७९ कार्तिक २७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x