साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिलिगुडीमा स्मृति ग्रन्थ लोकार्पण र स्रष्टा सम्मान

कार्यक्रममा ‘अक्षर अभिलेखभित्र मणि खवास’ नामक स्मृतिग्रन्थको लोकार्पण गरिएको थियो भने विभिन्न स्रष्टाहरूलाई प्रमाण-पत्रसहित सम्मान गरिएको थियो ।

Nepal Telecom ad

२०७९/०८/०४ (नोभेम्बर २०/२०२२) भारतीय भूगोलका नेपाली साहित्यस्रष्टाहरूको बाक्लो उपस्थिति र लगानी रहेको भारतको दार्जिलिङ जिल्लाअन्तर्गत पश्चिम बंगाल सिलिगुडीमा एक विशाल साहित्यिक कार्यक्रम यही नोभेम्बर २० तारिक २०२२ आइतबारको दिन सुसम्पन्न भएको छ ।

बहुआयामिक व्यक्तित्व मणि खवास स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा साहित्यिक कार्यक्रमको सेरोफेरोमा रहेर सिलिगुडीमा अवस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संघको भवनमा कार्यक्रम अवधि सभ्य र भव्य रूपमा समापन भएको हो ।

कार्यक्रममा ‘अक्षर अभिलेखभित्र मणि खवास’ नामक स्मृतिग्रन्थको लोकार्पण गरिएको थियो भने विभिन्न स्रष्टाहरूलाई प्रमाण-पत्रसहित सम्मान गरिएको थियो । साथमा पहिलो पटक ‘मणि खवास स्मृति साहित्यिक पुरस्कार’ नेपथ्यमा रहेर साहित्य, सञ्चार र सङ्गीतको क्षेत्रमा अनवरत सेवा गरेवापत स्रष्टा मैतराज राणालाई स्मृति चिह्न अङ्कित कदर-पत्र, दोसल्ला, प्रमाण-पत्र एवम् नगद राशीसमेतले पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

करिब भारतीय समयअनुसार दश बजे नै कार्यक्रम शुरु भएर करिब चारपाँच घण्टामा समापन भएको कार्यक्रममा मूलतः बहुआयामिक व्यक्तित्व (शैक्षिक, सामाजिक, राजनीतिक र साहित्यिक) मणि खवासको जीवनीवृत्त सो ‘अक्षर अभिलेखभित्र मणि खवास’ स्मृतिग्रन्थमा समावेस गरिएको पुस्तक र अन्य विभिन्न सिर्जनशील कर्महरू भएको पाइयो ।

मिरिक पुटुङ माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक, भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार, समाजसेवी एवम् राजनीतिक व्यक्तित्वका धनी मणि खवासको स्मृतिग्रन्थ ‘अक्षर अभिलेखभित्र मणि खवास’ कृतिको लोकार्पण समारोहका अध्यक्षता स्रष्टा मणि खवासकी धर्मपत्नी तथा प्रतिष्ठानकी नेतृत्वकर्ता एवम् प्रकाशिका/संरक्षिका देवीका सुब्बा खवासले गरेकी थिइन् भने बरिष्ठ साहित्यकार, एकाडेमीका जेनेरल काउन्सील मेम्बर, नेपाली भाषा परामर्श समितिका सदस्य एवम् सिक्किम नेपाली साहित्य परिषद्का उपाध्यक्ष टीबीचन्द्र सुब्बाको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसै गरी विशिष्ट अतिथिहरूमा- डा.कृष्णराज घतानी, डा.खेमराज शर्मा, डा.राजकुमारी दाहाल, स्रष्टाहरू मुक्ति उपाध्याय बराल, युवराज काफ्ले, महेन्द्र मोक्तान, लोकनाथ उपाध्याय चापागाईँ र देवकोटा संघका अध्यक्ष मिलन रुचाल रहेका थिए ।

अजित वियोगी र तुलसा दुतराजद्वारा सहजीकरण गरिएको कार्यक्रममा सो स्मृतिग्रन्थका प्रधान सम्पादक डा.सुकराज दियालीद्वारा स्वागत मन्तव्य राखेपश्चात माधवी क्षेत्रीले सुन्दर र कणर्प्रिय आवाजमा स्वागत गीत पनि प्रस्तुत गरेकी थिइन् । कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश पार्दै स्मृतिग्रन्थका सम्पादक मनोहर शर्मा ‘अविनाश’ प्रस्तुत भएका थिए भने प्रमुख अतिथिको केन्द्रीयतामा नयाँ तरिकाबाट उपस्थित खादा र मालासहितको स्रष्टाहरूको सहयोगद्वारा र बाहुलीबाट ‘अक्षर अभिलेखभित्र मणि खवास स्मृतिग्रन्थ’ नामक व्यानर पढेर कार्यक्रमको ढोका खोलिएको (उद्घाटन) थियो ।

विमोचित पुस्तक ‘अक्षर अभिलेखभित्र मणि खवास’ को कथ्य समीक्षार्थ वा चर्चाको सन्दर्भमा सहजकर्ताद्वयको भूमिकामा हिमालय दर्पणका प्रधान सम्पादक शिशु क्षेत्री र हिमाल वल्ड च्यानलका निर्देशक एवम् बरिष्ठ पत्रकार प्रमोद गिरी, स्रष्टा मणि खवासको कृतित्व र व्यक्तित्वको निम्ति डा.कृष्णराज घतानी र राजकुमारी दाहाल र सो पुस्तकको सम्पादनको पक्षमा मनोहर शर्मा ‘अविनाश’, सुमित्रा थामी ‘अविरल’ र कृष्ण पी ठटालले आफ्ना भनाइ प्रस्तुत गरेका थिए ।

स्रष्टा मणि खवास सम्बन्धी उनका अनेकन विषयवस्तु तथा कर्मशील आयामहरूको चर्चा सो समृतिग्रन्थमा अभिलेखीकरण गरिएको र कार्यक्रममा सोही अनुरूप चर्चा पनि गरिएको थियो । यस्तो अवसरमा सिक्किम, दार्जिलिङ, डुवर्स, सिलिगुडी, आसाम र दिल्लीका समेत साहित्यकारहरूको जमघट देखियो ।

कार्यक्रममा पहिलो पटक ‘मणि खवास स्मृति साहित्यिक पुरस्कार’ स्रष्टा मैतराज राणाले प्राप्त गरेपछि यो सम्मानलाई केवल सम्मानको रूपमा मात्र नलिई साहित्य र पत्रकारिता क्षेत्रमा आफ्नो जिम्मेवारी बढेको अनुभूति सुनाउदै प्रतिष्ठानले आफ्नो सही मूल्याङ्कन गरेकामा आभारसमेत व्यक्त गरे । उता स्मृतिग्रन्थकी प्रकाशिका / संरक्षिका एवम् स्रष्टा मणि खवासकी पत्नी देवीका सुब्बा खवासले सम्पूणर् रचनाकारहरूलाई उनीहरूको योगदानको कदर गर्दै ‘देवीका खवास’ स्मृति चिह्नद्वारा सम्मानित गरिएको थियो ।

त्यसैगरी स्मृतिग्रन्थले मूर्त रूप प्राप्त गर्नमा सहयोग गर्ने विभिन्न क्षेत्रका सिर्जनशील तथा गैरसिर्जनशील सूधीजनहरूप्रति पनि प्रकाशिका देवीका खवासद्वारा सद्भावका पुष्पगुच्छाहरू समर्पित गरिएको थियो ।

त्यसो त कार्यक्रम स्रष्टासम्मानले पनि घनीभूत भएको पाइयो । सम्मानित हुने स्रष्टाहरूमा- मनोहर शर्मा ‘अविनाश’ अतिथि सम्पादक मण्डलीका प्रतिनिधि गणेशकुमार प्रधान (कालेबुङ), रुबेन गुरुङ (दार्जिलिङ), शरदकुमार क्षेत्री (सिलिगुडी), सुमित्रा थामी ‘अविरल’ (दार्जिलिङ), कृष्ण पी ठटाल (राङभाङ भ्याली) र टीका ढुङ्गेल (सिक्किम) आदिलाई मणि खवास साहित्य सम्मानले सम्मानित गरिएको थियो । हार्दिक आभार व्यक्त गर्दछु मिरिक दार्जिलिङका स्रष्टा कथाकार दीप प्रधान सरलाई विशेष अक्षर अभिलेखभित्र मणि खवास स्मृतिग्रन्थ पुस्तकसमेत उपलब्ध गराउनुभएकोमा र यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुने अवसर पनि दिनुभएकोमा ।

०००
– फित्कौली डटकमका लागि नदी भट्टराई, मिरिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x