सुलसुलेरोल्पा सिर्जना महोत्सवमा सुरज पराजुली प्रथम
स्याङ्जाकी कल्पना परियारको ‘बा !’ ले द्वितीय र धादिङकी सिर्जना अर्यालको ‘अनुत्तरित प्रश्न’ले तृतीय पुरस्कार प्राप्त गरेका छन् । धादिङकै रोशन रिजालको ‘हार’ र नवलपरासीका अञ्जन प्रदीपको ‘एक कविको सुसाइड नोट’ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

रोल्पा, ०८० जेठ ६ । रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा सुरज पराजुलीको ‘अभिनय’ शीर्षकको कविताले प्रथम पुरस्कार प्राप्त गरेको छ । लामो समययता कविता कर्ममा सक्रिय सुनसरीका पराजुली महोत्सवको तेस्रो शृङ्खलामा तृतीय हुनुभएको थियो ।
यसैगरी स्याङ्जाकी कल्पना परियारको ‘बा !’ ले द्वितीय र धादिङकी सिर्जना अर्यालको ‘अनुत्तरित प्रश्न’ले तृतीय पुरस्कार प्राप्त गरेका छन् । धादिङकै रोशन रिजालको ‘हार’ र नवलपरासीका अञ्जन प्रदीपको ‘एक कविको सुसाइड नोट’ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रथम रु. ३५ हजार, द्वितीय २५ हजार, तृतीय २० हजार, सान्त्वना २ जनालाई १०, १० हजार सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको छ ।
नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान, रोल्पा नगरपालिकाद्वारा सिर्जना महोत्सवको यो चौथो पटकको राष्ट्रिय कविता प्रतियोगिता रोल्पा जिल्लाको लिबाङमा सम्पन्न गरेको हो ।
महोत्सवका लागि कविता पठाउन गत वैशाख १० देखि ३० गतेसम्मको समयसीमा तोकिएको थियो । यस अवधिमा प्राप्त १ सय ६५ कविता मध्येबाट उत्कृष्ट १० कविता चयन गरिएको थियो ।
चयन गरिएका उत्कृष्ट १० मध्येमा गैँडाकोट ९, नवलपरासीका अञ्जान प्रदीपको ‘एक कविको सुसाइड नोट’, इनरूवा, सुनसरीका सुरज पराजुलीको ‘अभिनय’, पोखराका सजिना पौडेलको ‘घेरा मिचिदिनू’, सल्यान, काभ्रा, त्रिवेणी- १ का कल्पना परियारको ‘बा’, काठमाडौँका एलिसा एकलासको ‘पुतलीको हत्या’, धादिङ, नीलकण्ठ ३ का सिर्जना अर्यालको ‘अनुत्तरित प्रश्न’, काठमाडौँ, वनस्थलीका राधिका कल्पितको ‘हो, म नास्तिक हुँ’, धादिङ, नीलकण्ठ ३ का रोशन रिजालको ‘हार’, धनकुटाका अनिल अदृश्यको ‘रूमालको विज्ञापन’ र रून्टीगढी १, रोल्पाका जित आजितको ‘एक वकपत्र’ कविताहरू अन्तिम प्रतिस्पर्धामा सामेल थिए ।
प्रतियोगिताका लागि १६५ वटा कविता प्राप्त भएपछि पहिलो चरणको मूल्याङ्कनबाट उत्कृष्ट १० मा पर्न सफल भएका कविहरूलाई महोत्सवमा वाचनका लागि आमन्त्रण गरिएको संयोजक तथा रोल्पा नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष नवीन लोचनमगरले बताउनुभएको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































