सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्यकार भीमप्रसाद लामिछाने हामीबिच रहेनन्

सङ्क्षिप्त श्रद्धाञ्जली सभामा स्थानीय साहित्यकार विजय पाण्डेले कीर्तिशेष लामिछानेका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो र उपस्थित जनसमुदायले एक मिनेट मौन धारण गरी लामिछानेप्रति भावपूर्ण  श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Nepal Telecom ad

रुपन्देही, भैरहवा ०८० असार १३ । २०२४ सालमै ‘घुएँत्रो’ जस्तो हास्यव्यङ्ग्य कृति प्रकाशित गरेर ख्याति प्राप्त गरेका स्रष्टा भीमप्रसाद लामिछानेको असार १२ गते देहान्त भएको छ ।

केही दिनअघि रुपन्देहीको कृम्सन अस्पतालमा मुटुको सफल अपरेसन गराएका लामिछानेमा पुनः स्वास्थ्य समस्या देखिएपछि अस्पताल लगिएको थियो । चिकित्सकहरूले उनको मृगौला फेल भएको जानकारी आफन्तलाई दिएका थिए । उपचारकै क्रममा कृम्सन अस्पतालमै असार १२ गते उनको देहान्त भएको हो ।

असार १३ गते बिहान ७ बजे सङ्क्षिप्त श्रद्धाञ्जली सभामा स्थानीय साहित्यकार विजय पाण्डेले कीर्तिशेष लामिछानेका बारेमा विस्तृत चर्चा गर्नुभएको थियो र उपस्थित जनसमुदायले एक मिनेट मौन धारण गरी लामिछानेप्रति भावपूर्ण  श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

त्यस लगत्तै शुरु भएको शवयात्रामा शिक्षक, विद्यार्थी, बुद्धिजीवी र आफन्तजन सहित ठुलो सङ्ख्यामा मानिसहरूको सहभागिता थियो । शवयात्रा भैरहवास्थित स्वर्गद्वारीघाटमा पुगेको र त्यहीँ उनको अन्त्येष्टि कार्य सम्पन्न गरिएको भैरहवाका स्रष्टा कमल पोखरेलले फित्कौली डटकमलाई जानकारी दिनु भयो । कीर्तिशेष लामिछानेका दुई पत्नी विष्णुमाया र सुमित्रा, तीन छाेरा ज्ञानेन्द्र , दिपेन्द्र,  शैलेन्द्र  र एक छोरी सङ्गीता लामिछाने भट्टराई हुनुहुन्छ ।

आज बिहानै साहित्यकार बनमाली निराकारले सामाजिक सञ्जालमा भीमप्रसाद लामिछानेको तस्वीर, आफ्नो पुस्तकालयमा रहेको लामिछानेको ‘घुएँत्रो’ कृतिको आवरण पृष्ठको तस्वीर समेत समावेश गरी उनीप्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । । निराकारले उल्लेख गर्नुभएको छ- “मेरो निजी पुस्तकालयमा २७७ नं.मा दर्ता भएको ‘घुएँत्रो’ नामक पुस्तक वि.सं. २०२४ सालमा खित्का प्रकाशन, हिमाली सङ्गम भैरहवाबाट प्रकाशन भएको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह हो ! यस कृतिका लेखक हुन्- भीमप्रसाद लामिछाने !!!”

“भैरहवाको हालको साहित्यिक वृत्तमा ओझेलमा परेका/पारिएका लामिछाने बीसको दशकदेखि नै यस क्षेत्रमा सक्रिय साहित्यकार हुन् तर पछिल्लो समय गुमनाम जस्तै थिए ! लामिछानेका अप्रकाशित पाण्डुलिपिहरू अवश्य होलान्, रुपन्देहीमा सक्रिय साहित्यिक संस्थाहरूले खोजबिन गरी साहित्यिक धरोहरको संरक्षण गर्ने साहस गर्लान् त !”

साहित्यकार निराकारले भन्नुभएको छ- “भीमप्रसाद लामिछाने साहित्यकारका अलावा आफ्नो जमानाको एक कुशल, इमान्दार र अनुशासनमा कठोर शिक्षक पनि हुनुहुन्थ्यो ! नेपालको साहित्य र शैक्षिक क्षेत्रमा वहाँको अतुलनीय योगदान रहेको छ ! वहाँको निधनको खबरले म स्तब्ध भएको छु ! आदरणीय साहित्यकार लामिछानेको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, र शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछु !”

यसै गरी भैरहवा क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. कपिल लामिछानेले आदरणीय भीमप्रसाद लामिछानेको निधनको खबरले दुखित तुल्याएको बताउँनु भयो- यस दुखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु भन्नु भयाे ।

विदेश यात्रामा रहनुभएका वरिष्ठ हास्यव्यङ्ग्यकार प्रा.रामकुमार पाण्डेले सञ्जालमार्फत फित्कौली डटकमलाई बताउनु भएको छ- “म अहिले उत्तरी धुर्वमा तपस्यारत छु । लामिछानेलाई यहिँबाट श्रद्धाञ्जली ! २०२३ सालमा मेरो ‘ख्याल ख्याल’ सङ्ग्रह निस्केपछि २०२४ सालमा उनको ‘घुएत्रो’ आयो । यो पुरै पढेँ । गज्जव ठटेउली लाग्यो । मन पर्‍यो । त्यो बेलादेखि उनको केही पढ्न पाइएन । उनलाई भेट्न पनि पाइएन । हास्यव्यङ्ग्यमा कुशल लेखक यसरी गुमनाम जस्तै रहे । हास्य क्षेत्रको अग्रणी व्यक्ति हिँडे । धेरै दुःख लाग्यो ।”

भीमप्रसाद लामिछानेका सहकर्मी सेवानिवृत शिक्षक दामोदर गौतम भन्नुहुन्छ- “वि.सं. २०२३/२०२४ सालमा तत्कालिन बृटिस कयाम्पको मातहतमा रहेको पक्लिहवा हाई स्कुलबाट शैक्षिक जगतमा पाइला टेकेर सैनिक अनुशासनलाई आत्मसात गर्दै वि.सं. २०२६ सालमा तत्कालिन श्री ५ ईन्द्रराज्य कन्या हाई स्कुलमा प्रधानाध्यापकको रुपमा नियुक्त भै श्री ५ ईन्द्रराज्य लक्ष्मी हाई स्कुलको अवधारणा अगाडि सारेर त्यस ताका लुम्बिनी अञ्चलकै ख्याती प्राप्त भैरहवा हाई स्कुल र पक्लिहवा हाई स्कुलको शैक्षिक प्रतिष्पर्धामा छोटो अवधिमै कडा अनुशासन सहित शैक्षिक स्तरमा विध्यालयलाई उत्कृष्ट विध्यालयमा परिणत गर्ने एक साहसी योद्धा जसलाई शिक्षा अधिकारी नियुक्त समेत गरेको तत्कालिन सरकारको निर्णयलाई लत्याउदै आफ्ना शिष्यहरूको भविष्यको रेखा कोर्न तल्लिन रहने पूर्व प्रधानाध्यापक भीमप्रसाद लामिछाने आज हामी बिच रहनु भएन ।”

बर्माबाट आसाम हुँदै बीसको दशकमा लामिछाने परिवार भैरहवा आएको र शुरुदेखिनै शैक्षिक गतिबिधिमा संलग्न भई भैरहवाको शैक्षिक उन्नतिमा भीमप्रसादको महत्वपूर्ण योगदान रहेको बताउनु हुन्छ डा.कपिल लामिछाने ।

शिक्षण सेवाबाट निवृत भएपछि लामिछाने ०५४ को स्थानीय चुनावमा वडाअध्यक्षको उमेद्वार बनेको र चुनावी प्रतिष्पर्धामा आफ्नै शिष्यसँग हार बेहोरेपछि सामाजिक जीवनबाट पनि निरपेक्ष रहँदै आएको प्रसङ्ग डा.कपिल लामिछानेले फित्कौली डटकमलाई बताउनु भयो ।

नेपाली हास्यव्यङ्ग्यकाे अभ्युत्थान अभियानमा जुटेकाे फित्काैली डटकम कीर्तिशेष हास्यव्यङ्ग्यकार भीमप्रसाद लामिछानेप्रति हार्दिक शब्दश्रद्धा व्यक्त गर्दछ ।

०००
– भैरहवाबाट डा.कपिल लामिछाने र कमल पोखरेलको सहयोगमा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad